घरघरमा गुञ्जिँदै छ समाचकेवाको गीत
महोत्तरी : मधेसमा अहिले समाचकेवाको चर्चा छाएको छ । छठ पर्वको खरनाका दिनदेखि यस भेगमा महिलाहरू सामूहिक रूपमा समाचकेवाको लोकगीतमा झुमेको पाइएको छ । अहिले घरघरमा दिदीबहिनी तथा दाजुभाइबीचको अमर प्रेमको प्रतीक रहेको समाचकेवाको गीत घरघरमा गुञ्जिँदै छ ।
माटोले कलात्मक एवं आकर्षक रूपमा निर्माण गरिएको समा चकेवालगायत पात्रहरूको मूर्तिलाई हरेक राति डालीमा राख्दै गाउँको चौबटियामा खेल्ने खेल हो समाचकेवा । यो हरेक वर्ष कातिक शुक्ल पञ्चमी तिथि अर्थात् छठ पर्वको खरनाको दिनदेखि सुरु भई कात्तिक पूर्णिमासम्म मनाउने एउटा सांगीतिक पर्व हो ।
सहरिया भेगमा यस्ता गीत
हुन त मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरू गीतसंगीतमा आधारित रहे तापनि खास गरी छठ पर्व र समाचकेवा पर्वमा आधारित लोक गीतसंगीतहरू घरघरमा गुञ्जिदै आएको गौशाला–१२ का युवा नेता दिपलाल महतोले बताए । अहिले मैथिली, भोजपुरी, हिन्दी र नेपालीलगायत भाषामा तयार पारिएका यस्ता गीतसंगीतले मिथिला क्षेत्रलाई नै संगीतमय महोल बनाएको महतोको भनाइ छ ।
विश्व २१ औं शताब्दीतर्फ लम्किरहेको समयमा हामीले आधुनीकरणको नाममा संस्कृतिलाई बिर्सन नहुने गौशालाका सञ्चारकर्मी दिनेश महतोको भनाइ छ । अहिले गाउँघरमा डिजेको बिगबिगी बढिरहेको समयमा पनि यहाँका घरघरमा यस्ता गीतहरू गुञ्जिनु आफैंमा सुखद पक्ष रहेको महतोले बताए ।
कलाको विकासतर्फ हरेकको भूमिका समान रूपमा हुनुपर्ने गौशाला बहुमुखी क्याम्पसका प्रमुख दुर्गाप्रसाद सिंहको भनाइ छ । यस्ता अभियानलाई जनजनमा पु¥याए मात्र मैथिली साहित्य र कलाको अभियान सफल हुने पूर्वप्राध्यापक सिंहले तर्क राखेका छन् । गीतसंगीत निर्माणको क्रममा स्थानीय कलाकारहरू होडबाजी गर्दा कतै न कतै भाषाको शब्द छनोटमा ध्यान नदिएको मगही भाषाका अभियानी एवं कलाकार फूलगेन महतोले औंल्याएका छन् ।
अहिले निर्माण हुने गीतसंगीतहरू सेन्सरबिना नै सामाजिक सञ्जालमा भाइरल भएपछि कतै न कतै भाषा र कलालाई समेत दूषित गर्दै आएकाले सम्बन्धित पक्षले यसतर्फ ध्यान दिनु अति आवश्यक रहेको कलाकार महतोले बताए ।
अहिले हरेक घरघर, टोल, गाउँघर, चोक चौराहा, हाटबजार, सहरको गल्ली गल्लीमा यस्ता गीतसंगीत गुञ्जिदा माहोल नै संगीतमय बन्न पुगेको हो । यस्ता गीतसंगीतहरू अहिले युट्युबमा सजिलै उपलब्ध छन् ।
मनाइयो खरना
छठ पर्वअन्तर्गत खरना विधि आइतबार साँझ घरघरमा मनाइएको छ । व्रतालुले आफ्ना कुल देवतालाई घरमै पकाएको सख्खर र चामलको खीर, नैवैद्यलगायत फूल, प्रसाद अर्पण गरेर खरना मनाएका हुन् । यसरी निष्ठापूर्वक पूजा सम्पन्न भएपछि दिनभरि नै निराहर उपवास बसेका व्रतालुले प्रसाद सपरिवार खाएका छन् ।
प्रसाद ग्रहण गरेका व्रतालुले अबको ३६ घण्टे छठ पर्वको मूल पूजाका लागि उपवास बसेका हुन् । उनीहरूले मंगलबार उदाउँसो सूर्यलाई अघ्र्य दिएपछि मात्र पारण गरिनेछ । अर्थात्ध अबको ३६ घण्टासम्म व्रतालु कठोर रूपमा छठीमैयाको उपवास बसेका हुन् ।
पूजाअन्तर्गत सोमबार साँझ जलाशयमा गई घरघरमा पकाएको ठेकुवा, भुसवा, खाजालगायत प्रसाद, फलफूल, पूजा सामग्रीसहित अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि मुख्य पूजा सम्पन्न गरिने भएको छ । त्यसैगरी, पुनः मंगलबार एका बिहानै उदाउँदो सूर्यलाई बिहानीपखको अघ्र्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस !