सद्‍भावको पर्व छठ, सजिए घाट

सद्‍भावको पर्व छठ, सजिए घाट

जनकपुरधाम : दुखबा मेटाई छठी मैया 
रौए असरा हमार 
सबके पुराबेलु मनता 

हमरो सुनिन पुकार 

छठ व्रतको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यका अगाडि व्रतालु र श्रद्धालुहरू नतमस्तक हुँदैछन् । एउटा उखान छ, ‘यो दुनियाँले उदाउँदो सूर्यलाई सलाम गर्छ ।’ यो उखानले यस्तो प्रतीत गराउँछ कि सूर्य अस्ताउनु कुनै कमजोरीको प्रतीक हो । तर, हिन्दु धर्ममा उदाउँदो सूर्यजत्तिकै महत्त्व अस्ताउँदो सूर्यको पनि छ भन्ने सन्देश छठ पर्वले दिन्छ । यसको मान्यता के हो भने सूर्य देवता हुन् र दिशा परिवर्तन हुँदैमा भगवान्प्रतिको भाव परिवर्तन हुँदैन । सूर्य सृष्टि र जीवनको प्रतीक भएकै कारण उनको पूजा गरिन्छ ।

घरपरिवारमा शान्ति, समृद्धि र प्रगतिको कामनासहित मनाइने यो पर्वमा आमाहरूले मात्रै छोराछोरीको नभई आफ्नो कुल, परिवार, इष्टमित्र सबैको भलोको कामना गर्छन् र सोही भावलाई समेटेर छठका गीतहरू गाइन्छ । 
काँचही बाँसके बहगिया
बहगी लचकैत जाय ।
होइन बलमजी कहरिया 
बहगी घाँटे पहुचाय 

छठ व्रतको मूल धारणा
छठ माता को हुन् भन्ने विषयमा थुप्रै अवधारणाहरू छन् । पुराणहरूमा दसैंका बेला पूजा हुने माता कात्यायनीलाई नै छठी माता भनिएको छ । सनातन धर्ममा उनलाई बह्माको मानस पुत्री मानिएको छ । 

यो पूजा कहिलेबाट सुरु भयो भन्नेबारे एकिन अभिलेख पाउन गाहे छ । तर, यस्तो मान्यता छ कि महाभारतकालमा द्रौपदीले यो व्रत गर्ने गरेकी थिइन् । सूर्यका छोरा अंगराज कर्णले पनि यो व्रत गर्दै आएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । लंका विजयपछि राम राज्यको स्थापनाका दिन कात्तिक शुक्ल षष्ठी तिथिमा भगवान् राम र माता सीताले सूर्यदेवको आराधना गरेका थिए । सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशीर्वाद प्राप्त गरे । सो बेलादेखि नै छठ पर्वको आरम्भ भएको धार्मिक मान्यता छ । तर, छठ व्रतको ऐतिहासिकताभन्दा पनि यसको वैदिकता बढी देखिन्छ । ‘जीवले प्रकृतिसँग सम्बन्ध बनाएर राख्ने एक महत्त्वपूर्ण विज्ञानको रूपमा छठ पर्वलाई लिन सकिन्छ,’ साहित्यकार प्रा.डा. राजेन्द्र विमलले भने, ‘यो व्रतले प्रकृतिलाई भोग्न नभएर नमनयोग्य बनाउन अभिप्रेरित गर्छ । यस व्रतमा प्रकृतिसँग मानिसले गर्नुपर्ने व्यवहारलाई चरितार्थ गरिन्छ र जीवनको महत्त्वलाई उजागर गर्ने प्रयास गरिन्छ । त्यसैले गर्दा मात्रै उदाउँदो सूर्य अर्थात् जीवनलाई मात्रै पूजा नगरी अस्ताउँदो सूर्य अर्थात् जीवनको समाप्तिलाई समेत सम्मानका साथ नमन गर्ने परम्परा छ ।’ 

सूर्यलाई प्रत्यक्ष देव पनि भनिन्छ । समस्त प्राणीहरूको जीवनको आधार सूर्य देवतालाई मानिन्छ । त्यसैले उनको पूजा आराधना गरिन्छ । 
छठमा सूर्य देवतासँगै षष्ठी देवीको पनि आराधना गरिन्छ । हिन्दुधर्म ग्रन्थका अनुसार सृष्टिका रचयिता भगवान् ब्रह्माको मानसपुत्री हुन षष्ठी देवी । प्रकृतिको छैटौं अंश भएका कारण यी देवीको नाम षष्ठी रहन गयो । ‘षष्ठी देवीलाई नै स्थानीय बोलीमा छठी माता भनिएको हो । मिथिलाञ्चलमा सन्तान जन्मिएको छैटौं दिनमा ‘छठीहार’ मनाइन्छ जसमा षष्ठी देवीको पूजा हुन्छ जसले निःसन्तानहरूलाई सन्तान दिने र सबै बालबालिकाको रक्षा गर्ने हुनाले छठ व्रत गर्दा सन्तानको मनोकामना र सन्तानको दीर्घायु हुने कामना गरिन्छ’, पण्डित बच्चा झा भन्छन्, ‘यो व्रतमा सूर्यको उपासना गर्दा शारीरिक रोग, बाधा र कष्टबाट मुक्ति पाइने मान्यता छ ।’

ब्रहवैवर्त पुराणका अनुसार राजा प्रियव्रतका कालदेखि षष्ठी देवीको पूजा प्रारम्भ भएको हो । छठ व्रतको कथामा राजा प्रियवदका विषयमा वर्णन गरिएको छ । राजा प्रियवद निःसन्तान थिए । उनले पुत्र प्राप्तिका लागि महर्षि कश्यपबाट पुत्रेष्टी यज्ञ गराएका थिए । यज्ञपछि पत्नी मालिनीलाई यज्ञाहुतिका लागि बनाइएको खीर खानका लागि दिए र सो प्रसादको प्रभावले रानी गर्भवती भइन् । उनले छोरा पाइन् तर, छोरा मृत थियो । 
प्रियवद पुत्रलाई शमशान लिएर गए तर, पुत्र वियोगमा उनी प्राण त्याग्न लागे । सोही बेला मान कन्या देवसेना प्रकट भइन् र उनले भनिन्, ‘सृष्टिको मूल प्रकृत्तिको छैटौं अंशबाट उत्पन्न भएका कारण मेरो नाम षष्टी परेको छ । हे राजन तपाई मेरो पूजा गर्नुस् र सबैलाई यो पूजा गर्न प्रेरित गर्नुस् । मनोकामना पूर्ति हुनेछ ।’ राजाले षष्ठी देवीको विधिवत् पूजा उपासना गरे र उनलाई पुनः पुत्र प्राप्ति भयो । यसरी कात्तिक शुक्ल षष्ठी तिथिका दिन छठी मैयाँको पूजा गर्ने परम्परा सुरु भएको हो । 
जानिन छठीके बरतिया 
जानिले महिमा तोहार 
प्रकृतिप्रतिको सम्मान छठ

छठ पर्व मूलतया प्रकृतिप्रतिको सम्मान हो । यस पर्वमा जलका स्रोतहरू नदी, पोखरी, तलाउ, कुण्ड र इनारहरूको सरसफाइ गरिन्छ । एक महिनापूर्व नै समुदायका सबै जम्मा भई नजिकको जलाशय सफा गर्छन् । घाट सफा गर्छन् र पानीका मुहानहरूलाई सुचारु गर्छन् । जसले प्रकृत्तिसँग मानवको सम्बन्धलाई अझ बढी बलियो र जागृत बनाउने गर्छ । ‘माटो, जल र जीवनसँग जोडिएको यो पर्वले हामीलाई प्रकृतिप्रति सम्मानको पाठ सिकाउँछ,’ वरिष्ठ पत्रकार श्यामसुन्दर शशि भन्छन्, ‘यस पर्वमा पूर्ण सात्विकता अपनाइन्छ । तडकभडक वा कृत्रिम वस्तुहरूको प्रयोग निषेध गरिन्छ र पूर्ण रूपमा प्रकृतिमाथिको निर्भरतालाई स्वीकार गर्ने गरिन्छ ।’

बाहिरी प्रकृत्ति मात्रै नभई मानवको शरीर, मन, भावना र कामनाहरूलाईसमेत सम्बोधन गर्ने यो पर्वले जीवनलाई सही तरिकाले बाँच्ने कलासमेत सिकाउने गर्छ । 

पारिवारिक विरासतको पर्व
परिवारमा अंशबन्डा हुँदा घरको सम्पत्ति र बहुमूल्य सरसामग्री बाँडिएजस्तै मिथिलाञ्चलमा व्रत र पर्वहरू पनि बाँड्ने चलन छ । घरका ज्येष्ठ सदस्य विशेषगरी सासूआमाहरूले जेठी बुहारीलाई छठ व्रत विरासतमा दिने परम्परा रहिआएको छ । सामान्यतया जो बुहारी सबैभन्दा बढी सहनशील, कर्मठ र योग्य हुन्छन् तिनलाई नै सासूआमाले छठ पर्वको जिम्मेवारी सुम्पिने परम्परा रहिआएको छ । 

६५ वर्षीया सुमित्रादेवी पछिल्लो ३० वर्षदेखि छठ व्रत गर्दै आएकी छिन् । उनी जेठी बुहारी हुन् । उनकी सासू पार्वतीदेवी बढ्दो उमेरका कारण शारीरिक रूपमा असक्षम भएपछि छठको जिम्मेवारी सुमित्रालाई सुम्पेकी थिइन् ।

‘मैले यो पर्व विरासतमा पाएकी छु । पहिला आमाले गर्नुहुन्थ्यो र अहिले सबै परिवारको भलो र मंगलकामनासहित म गर्छु । म पनि जेठी बुहारीलाई केही वर्षपछि ब्रतको जिम्मा लगाउने सोचमा छु’, सुमित्राले भनिन् । यो पर्वको बेला अर्घ दिन तयार गरिने भोग र परिकारहरू बनाउन मिथिलाञ्चलमा छोरीहरूलाई सानैदेखि हजुरआमा, आमा वा अन्य ज्येष्ठ सदस्यहरूले सिकाउने गर्छन् । यस पर्वको लागि बनाइने ठेकुवा र पिरिकिया बनाउन घरमा छोरीहरूले वर्षौंदेखि तालिम लिएका हुन्छन् । केसार, खजुरिया, लड्डुसहितका भोग सामग्रीहरू घरमै बनाइन्छन । 

सामाजिक मेलमिलापको उदाहरण छठ
छठ पर्व सामाजिक मेलमिलापको अनुपम उदाहरण पनि हो । छठ व्रत नबस्ने वा अर्घ नदिने परिवारका व्यक्तिहरू पनि यो पर्व मनाउन भोग तयार गर्ने गर्छन् र छरछिमेकी वा नातेदारहरू जो व्रत बस्छन् तिनबाट अर्घ दिन लगाएर पर्वमा सहभागिता जनाउँछन् । 

जुन घरमा पर्व मनाइन्छ, त्यहाँ कात्तिक महिना सुरु भएसँगै माछामासु पकाउन र बनाउन वर्जित गरिन्छ । व्रतालुले छठ सुरु हुनु कम्तीमा १५ दिन अघिदेखि माछामासु खान नहुने नियम छ । छठमा भोग लाग्ने विशेष परिकारहरू व्रतभन्दा पहिला घरमा बनाउन वा खान वर्जित गरिएको हुन्छ । 

‘यस पर्वमा समाजका हरेक जातिको समान सहभागिता हुने गर्दछ । सामाजिक रूपमा अछूत वा पानी नचल्ने जातको उपमा पाएका डोम समुदायले बनाएको बाँसको छिट्टी, चगेरा डालाबिना यस पर्वको तयारी नै सुरु हुँदैन । त्यसैले डोम समुदायको पनि यसमा विशेष योगदान हुन्छ । कुमाल जातिले बनाएको माटोको कन्तरी, दियो, हात्ती, सरवा, कुरवार यस पर्वका विशेष वस्तुहरू हुन्,’ शिक्षक नागेन्द्र साह भन्छन्, ‘समानताको सन्देश यस पर्वले दिन्छ । यसमा जहाँ महिलाले घरमा पकवान र भोग तयार गर्छन् भने त्यहिँ पुरुषहरूले पोखरी, नदी, तलाउको सरसफाइ गरेर ती भोगका सामग्रीहरूलाई घाटसम्म पु¥याउने काम गर्छन् ।’ प्रकृति संरक्षणको सन्देश दिने छठ पर्व आडम्बररहित छ । घरकै अन्न र घरेलु उत्पादनले नै यस पर्वमा प्राथमिकता पाउँछन् । चौथी तिथिको दिन नुहाएर खाएपछि (नहायखाय) विधि सम्पन्न हुन्छ र त्यसपछि व्रत प्रारम्भ हुन्छ । nullतस्बिर : क्रान्ति शाह

पहिलो दिन व्रतालुले नुहाइधुवाइ गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन गरेर मन शुद्ध पार्छन् । शारीरिक र मानसिक रूपमा चोखो भई सम्पूर्ण रूपमा यो व्रत गर्न संकल्पित हुन्छन् । त्यसको भोलिपल्ट खर्ना हुन्छ । यस दिन दिनभरि व्रतालुले उपवास बसेर साँझको बेला सक्खरमा बनेको खीर र पुरी घरको कुलदेवतालाई भोग लगाएपछि सो प्रसाद ग्रहण गर्छन् । व्रतालुले खर्नाको प्रसाद खाएपछि अर्को ३६ घण्टा निराहार बस्छन् । सप्तमीयुक्त षष्ठी तिथि छठको मुख्य दिन हो । साँझमा अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि राति भजनकीर्तन गर्दै छठको घाटमै जाग्राम बस्ने गरिन्छ । अर्को दिन बिहानै सूर्यको पहिलो उदयसँगै भोरका अर्घ दिने गरिन्छ । अर्घ दिएपछि व्रतालु घर फर्केर व्रत तोड्ने गर्छन्, जसलाई पारण भनिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.