सद्भावको पर्व छठ, सजिए घाट
जनकपुरधाम : दुखबा मेटाई छठी मैया
रौए असरा हमार
सबके पुराबेलु मनता
हमरो सुनिन पुकार
छठ व्रतको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यका अगाडि व्रतालु र श्रद्धालुहरू नतमस्तक हुँदैछन् । एउटा उखान छ, ‘यो दुनियाँले उदाउँदो सूर्यलाई सलाम गर्छ ।’ यो उखानले यस्तो प्रतीत गराउँछ कि सूर्य अस्ताउनु कुनै कमजोरीको प्रतीक हो । तर, हिन्दु धर्ममा उदाउँदो सूर्यजत्तिकै महत्त्व अस्ताउँदो सूर्यको पनि छ भन्ने सन्देश छठ पर्वले दिन्छ । यसको मान्यता के हो भने सूर्य देवता हुन् र दिशा परिवर्तन हुँदैमा भगवान्प्रतिको भाव परिवर्तन हुँदैन । सूर्य सृष्टि र जीवनको प्रतीक भएकै कारण उनको पूजा गरिन्छ ।
घरपरिवारमा शान्ति, समृद्धि र प्रगतिको कामनासहित मनाइने यो पर्वमा आमाहरूले मात्रै छोराछोरीको नभई आफ्नो कुल, परिवार, इष्टमित्र सबैको भलोको कामना गर्छन् र सोही भावलाई समेटेर छठका गीतहरू गाइन्छ ।
काँचही बाँसके बहगिया
बहगी लचकैत जाय ।
होइन बलमजी कहरिया
बहगी घाँटे पहुचाय
छठ व्रतको मूल धारणा
छठ माता को हुन् भन्ने विषयमा थुप्रै अवधारणाहरू छन् । पुराणहरूमा दसैंका बेला पूजा हुने माता कात्यायनीलाई नै छठी माता भनिएको छ । सनातन धर्ममा उनलाई बह्माको मानस पुत्री मानिएको छ ।
यो पूजा कहिलेबाट सुरु भयो भन्नेबारे एकिन अभिलेख पाउन गाहे छ । तर, यस्तो मान्यता छ कि महाभारतकालमा द्रौपदीले यो व्रत गर्ने गरेकी थिइन् । सूर्यका छोरा अंगराज कर्णले पनि यो व्रत गर्दै आएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । लंका विजयपछि राम राज्यको स्थापनाका दिन कात्तिक शुक्ल षष्ठी तिथिमा भगवान् राम र माता सीताले सूर्यदेवको आराधना गरेका थिए । सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशीर्वाद प्राप्त गरे । सो बेलादेखि नै छठ पर्वको आरम्भ भएको धार्मिक मान्यता छ । तर, छठ व्रतको ऐतिहासिकताभन्दा पनि यसको वैदिकता बढी देखिन्छ । ‘जीवले प्रकृतिसँग सम्बन्ध बनाएर राख्ने एक महत्त्वपूर्ण विज्ञानको रूपमा छठ पर्वलाई लिन सकिन्छ,’ साहित्यकार प्रा.डा. राजेन्द्र विमलले भने, ‘यो व्रतले प्रकृतिलाई भोग्न नभएर नमनयोग्य बनाउन अभिप्रेरित गर्छ । यस व्रतमा प्रकृतिसँग मानिसले गर्नुपर्ने व्यवहारलाई चरितार्थ गरिन्छ र जीवनको महत्त्वलाई उजागर गर्ने प्रयास गरिन्छ । त्यसैले गर्दा मात्रै उदाउँदो सूर्य अर्थात् जीवनलाई मात्रै पूजा नगरी अस्ताउँदो सूर्य अर्थात् जीवनको समाप्तिलाई समेत सम्मानका साथ नमन गर्ने परम्परा छ ।’
सूर्यलाई प्रत्यक्ष देव पनि भनिन्छ । समस्त प्राणीहरूको जीवनको आधार सूर्य देवतालाई मानिन्छ । त्यसैले उनको पूजा आराधना गरिन्छ ।
छठमा सूर्य देवतासँगै षष्ठी देवीको पनि आराधना गरिन्छ । हिन्दुधर्म ग्रन्थका अनुसार सृष्टिका रचयिता भगवान् ब्रह्माको मानसपुत्री हुन षष्ठी देवी । प्रकृतिको छैटौं अंश भएका कारण यी देवीको नाम षष्ठी रहन गयो । ‘षष्ठी देवीलाई नै स्थानीय बोलीमा छठी माता भनिएको हो । मिथिलाञ्चलमा सन्तान जन्मिएको छैटौं दिनमा ‘छठीहार’ मनाइन्छ जसमा षष्ठी देवीको पूजा हुन्छ जसले निःसन्तानहरूलाई सन्तान दिने र सबै बालबालिकाको रक्षा गर्ने हुनाले छठ व्रत गर्दा सन्तानको मनोकामना र सन्तानको दीर्घायु हुने कामना गरिन्छ’, पण्डित बच्चा झा भन्छन्, ‘यो व्रतमा सूर्यको उपासना गर्दा शारीरिक रोग, बाधा र कष्टबाट मुक्ति पाइने मान्यता छ ।’
ब्रहवैवर्त पुराणका अनुसार राजा प्रियव्रतका कालदेखि षष्ठी देवीको पूजा प्रारम्भ भएको हो । छठ व्रतको कथामा राजा प्रियवदका विषयमा वर्णन गरिएको छ । राजा प्रियवद निःसन्तान थिए । उनले पुत्र प्राप्तिका लागि महर्षि कश्यपबाट पुत्रेष्टी यज्ञ गराएका थिए । यज्ञपछि पत्नी मालिनीलाई यज्ञाहुतिका लागि बनाइएको खीर खानका लागि दिए र सो प्रसादको प्रभावले रानी गर्भवती भइन् । उनले छोरा पाइन् तर, छोरा मृत थियो ।
प्रियवद पुत्रलाई शमशान लिएर गए तर, पुत्र वियोगमा उनी प्राण त्याग्न लागे । सोही बेला मान कन्या देवसेना प्रकट भइन् र उनले भनिन्, ‘सृष्टिको मूल प्रकृत्तिको छैटौं अंशबाट उत्पन्न भएका कारण मेरो नाम षष्टी परेको छ । हे राजन तपाई मेरो पूजा गर्नुस् र सबैलाई यो पूजा गर्न प्रेरित गर्नुस् । मनोकामना पूर्ति हुनेछ ।’ राजाले षष्ठी देवीको विधिवत् पूजा उपासना गरे र उनलाई पुनः पुत्र प्राप्ति भयो । यसरी कात्तिक शुक्ल षष्ठी तिथिका दिन छठी मैयाँको पूजा गर्ने परम्परा सुरु भएको हो ।
जानिन छठीके बरतिया
जानिले महिमा तोहार
प्रकृतिप्रतिको सम्मान छठ
छठ पर्व मूलतया प्रकृतिप्रतिको सम्मान हो । यस पर्वमा जलका स्रोतहरू नदी, पोखरी, तलाउ, कुण्ड र इनारहरूको सरसफाइ गरिन्छ । एक महिनापूर्व नै समुदायका सबै जम्मा भई नजिकको जलाशय सफा गर्छन् । घाट सफा गर्छन् र पानीका मुहानहरूलाई सुचारु गर्छन् । जसले प्रकृत्तिसँग मानवको सम्बन्धलाई अझ बढी बलियो र जागृत बनाउने गर्छ । ‘माटो, जल र जीवनसँग जोडिएको यो पर्वले हामीलाई प्रकृतिप्रति सम्मानको पाठ सिकाउँछ,’ वरिष्ठ पत्रकार श्यामसुन्दर शशि भन्छन्, ‘यस पर्वमा पूर्ण सात्विकता अपनाइन्छ । तडकभडक वा कृत्रिम वस्तुहरूको प्रयोग निषेध गरिन्छ र पूर्ण रूपमा प्रकृतिमाथिको निर्भरतालाई स्वीकार गर्ने गरिन्छ ।’
बाहिरी प्रकृत्ति मात्रै नभई मानवको शरीर, मन, भावना र कामनाहरूलाईसमेत सम्बोधन गर्ने यो पर्वले जीवनलाई सही तरिकाले बाँच्ने कलासमेत सिकाउने गर्छ ।
पारिवारिक विरासतको पर्व
परिवारमा अंशबन्डा हुँदा घरको सम्पत्ति र बहुमूल्य सरसामग्री बाँडिएजस्तै मिथिलाञ्चलमा व्रत र पर्वहरू पनि बाँड्ने चलन छ । घरका ज्येष्ठ सदस्य विशेषगरी सासूआमाहरूले जेठी बुहारीलाई छठ व्रत विरासतमा दिने परम्परा रहिआएको छ । सामान्यतया जो बुहारी सबैभन्दा बढी सहनशील, कर्मठ र योग्य हुन्छन् तिनलाई नै सासूआमाले छठ पर्वको जिम्मेवारी सुम्पिने परम्परा रहिआएको छ ।
६५ वर्षीया सुमित्रादेवी पछिल्लो ३० वर्षदेखि छठ व्रत गर्दै आएकी छिन् । उनी जेठी बुहारी हुन् । उनकी सासू पार्वतीदेवी बढ्दो उमेरका कारण शारीरिक रूपमा असक्षम भएपछि छठको जिम्मेवारी सुमित्रालाई सुम्पेकी थिइन् ।
‘मैले यो पर्व विरासतमा पाएकी छु । पहिला आमाले गर्नुहुन्थ्यो र अहिले सबै परिवारको भलो र मंगलकामनासहित म गर्छु । म पनि जेठी बुहारीलाई केही वर्षपछि ब्रतको जिम्मा लगाउने सोचमा छु’, सुमित्राले भनिन् । यो पर्वको बेला अर्घ दिन तयार गरिने भोग र परिकारहरू बनाउन मिथिलाञ्चलमा छोरीहरूलाई सानैदेखि हजुरआमा, आमा वा अन्य ज्येष्ठ सदस्यहरूले सिकाउने गर्छन् । यस पर्वको लागि बनाइने ठेकुवा र पिरिकिया बनाउन घरमा छोरीहरूले वर्षौंदेखि तालिम लिएका हुन्छन् । केसार, खजुरिया, लड्डुसहितका भोग सामग्रीहरू घरमै बनाइन्छन ।
सामाजिक मेलमिलापको उदाहरण छठ
छठ पर्व सामाजिक मेलमिलापको अनुपम उदाहरण पनि हो । छठ व्रत नबस्ने वा अर्घ नदिने परिवारका व्यक्तिहरू पनि यो पर्व मनाउन भोग तयार गर्ने गर्छन् र छरछिमेकी वा नातेदारहरू जो व्रत बस्छन् तिनबाट अर्घ दिन लगाएर पर्वमा सहभागिता जनाउँछन् ।
जुन घरमा पर्व मनाइन्छ, त्यहाँ कात्तिक महिना सुरु भएसँगै माछामासु पकाउन र बनाउन वर्जित गरिन्छ । व्रतालुले छठ सुरु हुनु कम्तीमा १५ दिन अघिदेखि माछामासु खान नहुने नियम छ । छठमा भोग लाग्ने विशेष परिकारहरू व्रतभन्दा पहिला घरमा बनाउन वा खान वर्जित गरिएको हुन्छ ।
‘यस पर्वमा समाजका हरेक जातिको समान सहभागिता हुने गर्दछ । सामाजिक रूपमा अछूत वा पानी नचल्ने जातको उपमा पाएका डोम समुदायले बनाएको बाँसको छिट्टी, चगेरा डालाबिना यस पर्वको तयारी नै सुरु हुँदैन । त्यसैले डोम समुदायको पनि यसमा विशेष योगदान हुन्छ । कुमाल जातिले बनाएको माटोको कन्तरी, दियो, हात्ती, सरवा, कुरवार यस पर्वका विशेष वस्तुहरू हुन्,’ शिक्षक नागेन्द्र साह भन्छन्, ‘समानताको सन्देश यस पर्वले दिन्छ । यसमा जहाँ महिलाले घरमा पकवान र भोग तयार गर्छन् भने त्यहिँ पुरुषहरूले पोखरी, नदी, तलाउको सरसफाइ गरेर ती भोगका सामग्रीहरूलाई घाटसम्म पु¥याउने काम गर्छन् ।’ प्रकृति संरक्षणको सन्देश दिने छठ पर्व आडम्बररहित छ । घरकै अन्न र घरेलु उत्पादनले नै यस पर्वमा प्राथमिकता पाउँछन् । चौथी तिथिको दिन नुहाएर खाएपछि (नहायखाय) विधि सम्पन्न हुन्छ र त्यसपछि व्रत प्रारम्भ हुन्छ ।
तस्बिर : क्रान्ति शाह
पहिलो दिन व्रतालुले नुहाइधुवाइ गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन गरेर मन शुद्ध पार्छन् । शारीरिक र मानसिक रूपमा चोखो भई सम्पूर्ण रूपमा यो व्रत गर्न संकल्पित हुन्छन् । त्यसको भोलिपल्ट खर्ना हुन्छ । यस दिन दिनभरि व्रतालुले उपवास बसेर साँझको बेला सक्खरमा बनेको खीर र पुरी घरको कुलदेवतालाई भोग लगाएपछि सो प्रसाद ग्रहण गर्छन् । व्रतालुले खर्नाको प्रसाद खाएपछि अर्को ३६ घण्टा निराहार बस्छन् । सप्तमीयुक्त षष्ठी तिथि छठको मुख्य दिन हो । साँझमा अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि राति भजनकीर्तन गर्दै छठको घाटमै जाग्राम बस्ने गरिन्छ । अर्को दिन बिहानै सूर्यको पहिलो उदयसँगै भोरका अर्घ दिने गरिन्छ । अर्घ दिएपछि व्रतालु घर फर्केर व्रत तोड्ने गर्छन्, जसलाई पारण भनिन्छ ।
प्रतिक्रिया दिनुहोस !