मेचीसहित झापाका नदी किनार सिँगारिए

मेचीसहित झापाका नदी किनार सिँगारिए
छठका लागि सजिसजाउ वीरगन्जको घडिअर्वा पोखरी । तस्बिर : क्रान्ति साह

झापा : छठ पर्वका लागि नेपाल–भारत सीमावर्ती मेची नदीसहित झापा जिल्लाका विभिन्न नदी तथा खोला किनारहरू सिँगारिएका छन्। जिल्लाका मेचीसहित बिरिङ, मावा, कमल, कनकाई, माई, निन्दा, हडिया, अदुवा, देउनियाँ लगायतका नदी तथा खोला किनारहरू नयाँ बेहुलीझैँ सिँगारिएका छन्।

झापा जिल्लाकै सबैभन्दा फराकिलो र लामबद्ध छठ पर्व मनाइने मेची नदी किनारमा नेपाल र भारत दुवै देशका व्रतालु परिवार एउटै संगम स्थल बनाएर छठ मनाउँदै आइरहेको मैथिल समाज भद्रपुरका सचिव सुशील कर्णले बताए। पूजास्थलमा पण्डाल, केराको बोट, विभिन्न प्रकारका रंगीचंगी फूलसहित झिलिमिली बत्ती लगाएर सजावट गरिने काम आज दिउँसोसम्म सकिने उनको भनाइ छ। 

भद्रपुर—५ स्थित मेची नदी किनारको मसानघाटदेखि मेची पुलको मुख्य प्रवेशद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटरसम्म अन्दाजी पाँच हजार घाट निर्माण गरिएको छ। मसानघाट पूर्व नदी किनारमा भारतीय नागरिकले पूजास्थल बनाएका छन्। 

उता देवीबस्ती क्षेत्रमा घाट व्यवस्थापन कार्यलाई तिहार अघिदेखि नै तीव्रता दिइएको युनिक समूहका अध्यक्ष प्रकाश राजवंशीले बताए। समूहले दुई हजार फुटभन्दा बढी घाट निर्माण गरेको छ। समूहले सो बापत व्रतालु परिवारसँग पाँच फुट घाटको ५ सयदेखि ८ सय रुपैयाँसम्म लिने र गरिब तथा विपन्न परिवारका लागि आवश्यकताअनुसार निःशुल्क घाट उपलब्ध गराइने अध्यक्ष राजवंशीले बताए। 

बिजुली बत्तीका लागि १० वटा टावर, पण्डाल, प्रहरी बिट, चिया स्टल, सूर्य नारायण मन्दिर रंगरोगन, भजन सन्ध्याको आयोजना गरिएको उनको भनाइ छ। उता बिरिङ खोलामा छठ पूजाको भव्य तयारी गरिएको छ। श्री छठ समाज सेवा समिति बिर्तामोडले बिरिङ खोलामा छठ पूजाको तयारी पूरा भइसकेको बताउँदै यस वर्ष १ सय ७५ वटा घाट रहने जनाएको छ। गत वर्ष १ सय ५४ वटा घाट रहेका थिए। व्रतालुहरूको संख्या थपिएपछि यस वर्ष २१ वटा घाट थप्नु परेको श्री छठ समाज सेवा समितिकी अध्यक्ष संगीता रौनियारले जानकारी दिइन्। 

मेची नदीमा गंगा आरती हुने 
छठ पर्वलाई मध्यनजर गरी भद्रपुर–५ देवीवस्तीस्थित मेची नदी किनारमा यस पटक पनि गंगा आरती गर्न लागेको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले जानकारी दिए। भद्रपुर नगरपालिका–५ नम्बर वडा कार्यालय, युनिक समूह र मैथिल समाजको संयुक्त आयोजनामा बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिएपश्चात् भजन सन्ध्यासहित आरती गर्न लागेको वडाध्यक्ष बन्धु कार्कीले जानकारी दिए। अघिल्लो वर्षदेखि छठ पूजामा गंगा आरतीको सुरुवात गरिएको उनले बताए। 

सेनासहितको सुरक्षा फौज तैनाथ 
विगत एक सातादेखि जिल्लाका मुख्य बजारहरूमा परिचालित संयुक्त सुरक्षा गस्तीलाई छठ पूजास्थलहरूमा केन्द्रीकृत गरिने भएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा गस्ती गर्ने जनाइएको छ। छठ पूजामा मानिसको अत्यधिक भीडभाड हुँदा विभिन्न आपराधिक क्रियाकलाप हुन सक्ने भएकाले सेनाको गस्ती टोलीलाई त्यसतर्फ परिचालन गरिने श्री अरिदमन गण चारआलीले जनाएको छ।

गस्तीमा खटिएका सेनाका फौजले जुवातास खेल्ने, पटाका पड्काउने जस्ता गतिविधि नियन्त्रणमा सहयोग गर्दै आएका छन्। त्यस्तै छठ पूजाको दिन जिल्लाभरि ६ सयभन्दा बढी नेपाल प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.