साझा र समानताको पर्व छठ
जनकपुरधाम : अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरूप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने सामाजिक आस्थाको महापर्व छठको उल्लास छाएको छ। आस्था र सहअस्तित्वको पर्व छठको तेस्रो दिनलाई लोकबोलीमा ‘सझियाँ घाट’ भन्ने गरिन्छ। मानव र प्रकृतिबीचको सम्बन्धलाई प्रत्येक वर्ष प्रगाढ बनाउने महापर्व हो छठ।
छठ पर्वले हरेक वर्ष मानव र प्रकृतिबीच सम्बन्ध मेटाउँदै–हराउँदै–बिलाउँदै र लोप हुँदै गएको प्राकृतिक वस्तुहरूलाई संरक्षण गर्नु नै यसको मूल महत्त्व हो। भनिन्छ, ‘भक्त र भगवानबीच सीधा वार्तालाप हुने पर्व छठ हो।’ यो एउटा यस्तो पर्व हो, जसमा पुजारी र पुरोहित आवश्यक पर्दैनन्।
छठमा अर्घ दिइने सूर्य भगवान् प्रत्यक्ष देखिन्छन्। त्यसैले पुजारी चाहिँदैनन्। छठ उत्सव मनाउँदा परिवारका युवा सदस्यले धार्मिक विधि अवलोकन गरेर सिधै सिक्ने हुनाले नयाँ पुस्तामा हस्तान्तरण हुने गर्छ। केहीले छठ घाटमा सूर्य भगवान्को मूर्ति निर्माण गरी सूर्यलाई नमस्कार गर्छन्। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिँदा पनि पुजारी आवश्यक पर्दैनन्। व्रतालुहरूले सूर्य मन्त्र उच्चारण गर्दै अर्घ दिने गर्छन्।
चार दिनको छठमा सबैभन्दा दौडधुप, श्रम–शक्ति र महत्त्वको हिसाबले कात्तिक शुक्ल षष्ठीको दिन नै हुन्छ। कात्तिक शुक्ल षष्ठी तिथिका दिन जनकपुरधाम, काठमाडौंलगायत देशका विभिन्न भाग र भारतमा यो पर्व धूमधामका साथ मनाइन्छ। सूर्य उपासनाको पर्वमा छठी माताको पूजा गरिन्छ। साँझ अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेर विसर्जन गर्ने गरिन्छ। निकै पवित्र, सफा सुग्घर र निष्ठापूर्वक मनाइने यो पर्व धेरै दृष्टिकोणबाट मननयोग्य छ।
समाजमा रहेका छुवाछूत कुसंस्कार, कुरीति र विकृति हटाउन छठ सहायक सिद्ध भइरहेको सांस्कृतिविद् डा. रेवतीरमण लाल बताउँछन्। छठको सबैभन्दा महत्त्वपूर्ण पक्ष पवित्रता र लोकपक्षसँग जोडिएको छ। लाल भन्छन्, ‘भक्ति र अध्यात्मिकताले भरिपूर्ण छठमा मन्दिर वा आडम्बरको आवश्यकता हुँदैन। यो पर्वले समाजमा सबैको आआफ्नो महत्त्व उत्तिकै हुन्छ भन्ने आभाष गराउँछ ।’
संस्कृतिविद् डा. रामभरोष कापडीका अनुसार छठको मुख्य उद्देश्य नै सबैप्रति सहानुभूति र समान व्यवहार गर्नु हो। ‘जसरी माटोको सामग्री कुम्हाल, बाँसको सामग्री डोम, नङ काट्न लोहार, सख्खर–चामलका लागि किसान, पूजा प्रसाद बनाउन महिला, घाटमा लैजान पुरुष आवश्यक हुन्छन, सोही अनुरूप दिनदुःखी बिना जुत्ता–चप्पल कसरी हिँड्छन्, बिना साधन कसरी काम गर्छन्, त्यसको आभाष दिलाउन घाटमा प्रसाद लैजानेहरू धनी होस् या गरिब जुत्ता, चप्पलबिना हिँडेर लैजानुले समान व्यवहार भएको दर्शाउँछ।’ छठका लोक गीत–संगीतले जीवनको सार्थकताको उद्देश्यलाई पवित्रताका लागि अझ बढी निष्ठावान् बनाउन सहयोग गर्ने उनि बताउँछन् ।
समाजमा उदाउँदो वा प्रतिष्ठित व्यक्तिलाई सबैले ढोग्छन्, सम्मान गर्छन् तर डुब्न लागेको घाम गरीब तथा बेसहारालाई कसैले हेर्दैनन् तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिने गरेको समाजशास्त्री शोभा महतो बताउँछिन्। ‘सूर्यले सबै प्राणीहरूलाई समान रूपमा प्रकाश दिन्छ, त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्न सूर्यको पूजा गर्ने परम्परा छ’, उनले भनिन्।
छठको सन्देश
छठ पर्वमा स्थानीय उत्पादन, स्थानीय सीप र स्थानीय संस्कारको समिश्रण पाइन्छ। प्राध्यापक डा. श्याम महतो प्राकृतिक र वातावरणीय हिसाबमा समेत छठ पर्वको ज्यादै महत्त्व भएको बताउँछन्। ‘वर्षमा एक पटक भए पनि आफ्नो जीवन र प्रकृतिसँग जोडिएको पोखरी, तालतलैया, नदीनालालगायत पानीको मुहान कम्तिमा छठको बेला सरसफाइ गर्नुपर्छ भन्ने सन्देश दिन्छ। जसले हामीलाई प्रकृतिको अमूल्य जीव, वनस्पति, जलचर, थलचरसहितलाई संरक्षण गर्नुपर्छ भन्ने हुन्छ’, उनले भने।
प्रतिक्रिया दिनुहोस !