त्रिपक्षीय वार्तामा जेनजीहरूले भने- चुनावसँगै भ्रष्टाचार पनि अन्त्य हुनुपर्छ
काठमाडौं : जेनजीका प्रतिनिधिहरूले चुनावसँगै भ्रष्टाचार पनि अन्त्य हुनुपर्ने माग गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीहरूबीच भएको त्रिपक्षीय वार्तामा उनीहरूले उक्त माग गरेका हुन्।
गत भदौ २३ गतेको आन्दोलनको म्यान्डेट पनि देशमा भ्रष्टाचारको अन्त्य हुनुपर्ने रहेकाले उक्त प्रक्रिया पनि अगाडि बढाउन उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका थिए।
'जेनजी आन्दोलनमा उठेका मागहरूको सुनुवाइ हुनुपर्छ। हामीले मुलुकमा सुशासन हुनुपर्छ भनिरहेका छौं। भ्रष्टाचारको अन्त्य हुनुपर्छ भनिरहेका छन्। चुनावको तयारीसँगै यी प्रक्रियाहरूलाई पनि अगाडि बढाउनुपर्छ,' बैठकमा जेनजी प्रतिनिधिहरूले जोड गरे।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी प्रतिनिधिहरूले चुनावलाई समर्थन गरेको बताए। 'उहाँहरूले चुनावालई समर्थन गर्नुभएको छ। तर, त्यससँगै सुशासन र भ्रष्टाचारको अन्त्य सँगसँगै गर्नुपर्छ। जेनजीको मुख्य माग पनि यही भएको बताउनुभएको छ,' मन्त्री खरेलले जेनजीको भनाइ उद्धृत गर्दै भने। जेनजीहरूले राजनीतिक दललाई थप जिम्मेवार बनाउनुपर्ने बताएका थिए।
त्यस्तै बैठकमा निर्वाचनलाई कसरी सफल बनाउने विषयमा छलफल भएको मन्त्री खरेलको भनाइ छ। 'चुनाव र राजनीतिलाई बढी लक्षित गरेर छलफल भयो। अबको बाटो कसरी अगाडि बढ्न सकिन्छ। कसरी समझदारी हुन सक्छ। कसरी मिलाप गर्न सकिन्छ भन्ने विषयमा सबै पक्ष गम्भीर देखिनुभयो,' उनले भने।
प्रतिक्रिया दिनुहोस !