ट्रम्प-सी वार्तामा के के भयो सहमति?
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले दुबै देशबीच जारी व्यापार युद्धको तनावलाई रोक्ने सहमति गरेका छन्। यस सम्झौताले विश्व अर्थतन्त्रमा नकारात्मक असर पार्ने खतरा कम भएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।
दुबै नेताबीचको भेट दक्षिण कोरियामा सम्पन्न एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसरमा बिहीबार भएको हो। सन् २०१९ पछि पहिलो पटक ट्रम्प र सीबीच प्रत्यक्ष भेटवार्ता भएको हो।
सम्झौताअनुसार चीनले दुर्लभ खनिज निर्यात नियन्त्रणको योजना एक वर्षका लागि स्थगित गर्नेछ भने अमेरिका चीनका सामानहरूमा लगाउन लागेको १०० प्रतिशत भन्सार (टारिफ) हटाउनेछ।
यसबाहेक, ट्रम्पले फेन्टानिल सम्बन्धी भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा ल्याउने घोषणा गरेका छन्। राष्ट्रपति सीले चीनबाट अमेरिका हुँदै प्रवेश गर्ने कृत्रिम नशालु पदार्थ फेन्टानिलको प्रवाह रोक्न 'गम्भीर प्रयास गर्ने' वाचा गरेका छन्। एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, 'म विश्वास गर्छु, उनी (सी जिनपिङ) यस विषयमा कडा परिश्रम गर्नेछन् र यसले धेरै जनाको मृत्यु रोक्नेछ।'
ट्रम्पले करिब दुई घण्टासम्म चलेको भेटलाई 'अद्भुत' भन्दै, दुर्लभ खनिजसम्बन्धी विषय 'पूर्ण रूपमा समाधान भएको' बताए। उनका अनुसार यो सम्झौता हरेक वर्ष पुनः वार्तामार्फत नवीकरण गरिनेछ।
चीनका राष्ट्रपति सी जिनपिङले पनि दुबै पक्षबीचका वार्ताले समस्या समाधान गर्ने सहमति दिएको बताए। 'हामीले छलफलका परिणामहरूलाई कार्यान्वयन गर्न छिटो कदम चाल्नेछौं र दुवै देश र विश्व अर्थतन्त्रमा सकारात्मक सन्देश दिनेछौं,' उनले भने।
प्रतिक्रिया दिनुहोस !