बीपी राजमार्गको मर्मतमा जापानको साढे २ अर्ब अनुदान
काठमाडौं : राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने बीपी राजमार्गको क्षतिग्रस्त खण्डको पुनर्निर्माण र मर्मतसम्भारका लागि स्रोत जुटेको छ। गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण उक्त राजमार्गका विभिन्न खण्डहरूमा ठूलो क्षति भएको थियो। यसमा विशेषगरी रोशी नदी आसपासका केही भागहरू पूर्ण रूपमा नष्ट भएका थिए। जसका कारण गत असोज १८ गते आसपास आएको वर्षा तथा बाढीले गर्दा झन् उक्त खण्ड अवरुद्ध भएकाले आवागमन ठप्प भएको थियो।
लामो समयदेखि क्षतिग्रस्त खण्डको पुनर्निर्माण र मर्मतसम्भारका लागि जापान सरकारले नेपाल सरकारलाई २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबरको अनुदान सहायता प्रदान गर्ने भएको छ। उक्त राजमार्गको निर्माण जापान सरकारको अनुदान सहयोगमा गरिएको थियो। यसअघि २०७२ वैशाख १२ गतेको भूकम्पमा उक्त राजमार्गको दुई स्थानमा सडक भासिँदा पनि जापान सरकारले पुनर्निर्माण गरिदिएको थियो। भूकम्पपछिको पुनर्निर्माण सकेर माघ १५, २०७७ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। त्यतिबेला पुनर्निर्माणमा गिट्टी, बालुवाबाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो।
यस पटक पनि बीपी राजमार्गको बाढी प्रभावित भागको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच बिहीबार अनुदान सम्झौतामा हस्ताक्षर भएको हो। नेपाल सरकार र जापान सरकारबीच बीपी राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौतामा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको समुपस्थतिमा अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको हो। अनुदान सहायतासम्बन्धी एक्सचेन्ज अफ नोट्समा नेपाल सरकारको तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र जापानको तर्फबाट नेपालका लागि राजदूत महामहिम तोरु माएदाले हस्ताक्षर गरे। त्यसैगरी, अनुदान सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जापानको तर्फबाट जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरे।
हस्ताक्षर समारोहपछि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनाल र जापान सरकारको तर्फबाट महामहिम जापानी राजदूत तोरु माएदा र जाइका नेपालको तर्फबाट प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले भनाइ राखे। यसैक्रममा अर्थ मन्त्री खनालले आफ्नो सम्बोधनमा जापान नेपालका लागि एक विश्वसनीय र भरोसायोग्य विकास साझेदार रहेको उल्लेख गर्दै जापानले नेपालको आर्थिक–सामाजिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा निरन्तर पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे। साथै, उनले हाल प्रदान गरिएको अनुदान सहायता नेपाल र जापानबीचको मित्रता र सहकार्यको अर्को महत्त्वपूर्ण प्रतीक भएको सुनाए।
यसैक्रममा महामहिम जापानी राजदूतले जापानले प्रदान गरेको यो अनुदान सहयोगले बीपी राजमार्गका क्षतिग्रस्त भागहरू पुनस्र्थापना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले नेपाल र जापानबीचको दशकौं पुरानो मित्रतापूर्ण सम्बन्धको स्मरणसमेत गरे। हस्ताक्षर समारोहमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौंस्थित जापान दूतावास र जाइकाका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।
बीपी राजमार्गलाई बनेपा–सिन्धुली–बर्दिवास वा मध्यपहाडी राजमार्ग सडक भनेर पनि चिनिन्छ। जापानको सहयोगमा निर्मित यो राजमार्गलाई देशको एक उत्कृष्ट राजमार्गको रूपमा पनि परिचित छ। महोत्तरी जिल्लाको बर्दिबासदेखि काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलसम्म १ सय ५९ किलोमिटर लम्बाइ भएको यो राजमार्ग नेपालको एक महत्त्वपूर्ण राष्ट्रिय राजमार्ग हो। यो राजमार्गको निर्माण जापान सरकारको अनुदान सहयोगमा गरिएको थियो। तत्कालीन समयमा यसको लागत २६ अर्ब येन बराबर रहेको बताइएको थियो।
जापानले बीपी राजमार्ग सन् १९९६ मा निर्माण सुरु गरेर सन् २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो। बीपी राजमार्ग राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने राजमार्ग हो। जापानको सहयोगमा निर्मित यो राजमार्गलाई देशको एक उत्कृष्ट राजमार्गको रूपमा चिनिन्छ।
प्रतिक्रिया दिनुहोस !