प्युठानका अलपत्र ५ योजनाको ठेक्का सम्झौता तोड्न प्रक्रिया सुरु
प्युठान : सडक डिभिजन प्युठानले अलपत्र अवस्थामा रहेका ५ योजनाको ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरेको छ। कार्य तालिका अनुसार कामको प्रगति नगरेको र सम्झौता बमोजिमको समयावधिमा कार्य सम्पादन नगरेको भन्दै ठेक्का सम्झौता तोड्न कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ।
जलुके–नल्सी, झिवाङ–घुइवाङ, पुरन्ठाँटी–मलावाङ, सारी–खुग्रीं जोड्ने मोटरेवल पक्की पुल र होलेरी–स्वर्गद्धारी–भिंग्री सडकको कार्य प्रगति सन्तोषजनक नभएकाले प्रचलित कानुन बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्न लागिएको हो। जलुके–नल्सी पुल मृत संजिविनी/लोहनी जेभि, झिवाङ–घुइवाङ पुल सपना/जय बागेश्वरी माता जेभि, पुरन्ठाँटी–मलावाङ पुल सपना/जय बागेश्वरी माता जेभि, सारी–खुग्रीं पुल नागार्जुन कन्ष्ट्रक्सन कम्पनी र होलेरी–स्वर्गद्धारी–भिंग्री सडक लोहोनी/बरदेवी/रानीवन जेभिले निर्माण सम्झौता गरेका हुन्।
पटकपटक लिखित तथा मौखिक ताकेता गर्दा समेत बेवास्ता गरी हालसम्म निर्माण कार्य सम्पन्न गर्न कुनै तदारुकता नदेखाएको, निर्माण कार्य सुरु गरी विना जानकारी कार्य स्थगित गरी बीचमै अलपत्र छाडेकाले निर्माण सम्झौता अन्त्य गरी कालोसूचीमा राख्न सूचना जारी गरिएको सडक डिभिजन प्युठानले जनाएको छ।
सडक डिभिजन प्युठानले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ को उपनियम (२)को खण्ड (घ) बमोजिम खरिद सम्झौता अन्त्य गरी खरिद ऐनको दफा ६३ बमोजिम कालोसूचीमा राख्ने उल्लेख गरेको छ। कानुन बमोजिम निर्माण व्यवसायीले १५ दिनभित्र स्पष्टीकरण पेस गर्न मौका पाउने छन्।
प्रतिक्रिया दिनुहोस !