महाधिवेशन कार्यतालिका विवादले कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं : पार्टीको महाधिवेशनको कार्यतालिका विवादले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो। बैठक आइतबार दिउँसो १ बजे बस्नेछ।
पार्टीको महाधिवेशनका विषयमा संस्थापन पक्षधर र इतर पक्षबीच कुरो नमिल्दा कांग्रेसमा किचलो बढ्दै गएको छ। संस्थापन पक्ष फागु २१ को चुनावपछि पार्टी महाधिवेशन गर्ने पक्षमा छ भने इतर पक्षले मंसिरमा नियमित नभए चुनाव अघि विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएको छ।
नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा आज बिहान कांग्रेस नेता डा. शेखर कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका पदाधिकारीहरूसँग छलफल गरेका थिए।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ को चुनावअघि महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउन नखोजेको भन्दै डा. शेखर कोइरालाले शुक्रबार बिहान महामन्त्री थापा, शर्मा र सहमहामन्त्रीहरूसँग छलफल गरेका थिए।
नेता कोइरालासँगको छलफलपछि महामन्त्री थापा र शर्माले कार्यवहाक सभापति खड्कालाई भेटेर कार्यतालिका पेश गर्नुपर्ने अडान राखेका थिए। कार्यतालिका नआउने भए आफू केन्द्रीय कमिटी बैठकमा उपस्थित नहुने महामन्त्री थापाले जानकारी गराएका थिए।
बिहीबारदेखि सुरू भएको केन्द्री समिति बैठकमा पनि महाधिवेशनबारे संस्थापन र इतर पक्षका नेताहरूले फरक फरक मत राखेका थिए। महाधिवेशनको विषयमा समान धारणा र सहमति बन्न नसक्दा कार्यवाहक सभापति खड्कालाई महाधिवेशनको तालिका पेस गर्न सकस भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !