कांग्रेस बैठकमा महाधिवेशनको दुई थरी कार्यतालिका प्रस्ताव
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशन सम्बन्धी छुट्टाछुट्टै दुई वटा कार्यतालिका प्रस्तुत भएको छ।
पार्टी कार्यालय सानेपामा मंगलबार बसेको बैठकमा महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशन सम्बन्धी छुट्टाछुट्टै दुई वटा व्यक्तिगत प्रस्ताव प्रस्तुत भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
महामन्त्री थापाले आगामी पुस १६ गतेदेखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म १५औं महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्। दुई प्रस्तावबाहेक अन्य विषयमा पनि केन्द्रीय सदस्यहरूले धारणा आएको उनले बताए। उनले महाधिवेशनका सन्दर्भमा साझा कार्यतालिका प्रस्तुत गर्ने गरी छलफल भइरहेको उल्लेख गरे। प्रवक्ता महतले महाधिवेशनकै विषयलाई लिएर पार्टी विभाजित हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे।
उनले पार्टीलाई एकताबद्ध राख्न संयमित हुनुपर्नेमा जोड दिए। मंगलबारको बैठकमा महामन्त्री गगन थापा, महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले धारणा राखेका थिए। बैठक बुधबार बिहान ११ बजे पुन बस्ने प्रवक्ता महतले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !