कमला नदीमा ‘कूल देवता मेला’

कमला नदीमा ‘कूल देवता मेला’

जनकपुरधाम : ‘निचा पंथ उपर परमेश्वर,  गुरु दिनकर दिनानाथ साक्षी, दिनकर दिनानाथ कि जय !’ भन्दै कमला नदीमा डुबुल्की लगाउँदै थिए। आफ्नो कूल देवता अर्थात् देवी देउताको नाम पुकार्दै भक्तजनहरूले नदीमा डुबुल्की लगाएका हुन्।  

बुधबार सिरहा–धनुषाको साँधमा पर्ने कमला नदीमा बिहानैदेखि हजारौँको भीड थियो। हातमा बेत ‘लठी’ बोकेका व्यक्ति ‘धामी’ इसारा देखाउँदै थिए। गेरुवा वस्त्रमा सजिएका महिला र पुरुषहरू हा ... हु .... गर्दै थरथरर्र काँप्दै थिए। उनीहरूको जीउमा देवीदेवता चढेर हाक दिइरहेका थिए।

यो दृश्य हेर्न नदी कनारामा मानिसको घुइँचो लागेको थियो। प्रत्येक वर्ष नदी किनारमा लाग्ने यस्तो भीडलाई जनबोलीमा ‘भूत मेला’ भनिए पनि यो कूल देउता मेला हो। नदीमा स्नान गर्नुअघि उनीहरूले हात–हातमा माटोको ढकन र बेत लिएका थिए। गुरु (धामी) इसारामा उनीहरू ‘कूल देवता’ अर्थात् इष्टदेव खेलिरहेका थिए। यसलाई स्थानीय भाषामा ‘गोसाईं’ भनिन्छ। ढकनामा आगो राखेर धूप बालिएको थियो। दनदनी बलिरहेको त्यो ढकनाको आगो र उदाउँदो पूर्णिमाको दिनमा चन्द्रमा र सूर्यलाई साक्षी राखी भक्तजन स्नान गर्न नदीमा पसेका थिए। यसरी नुहाएर तान्त्रिक विद्या सिद्ध हुने जनविश्वास छ। यसरी कूल देवताले आफ्नो ‘छडीदार’लाई पाको गर्छन्।

एक बिहानैको पहरमा पूर्णिमाको चन्द्रमा प्रकाश नदीको पानीमा परिसकेको थियो। एक–एक गरी भक्त गुरुको इसारामा नदीमा ‘भक्ता’ डुबुल्की लगाइरहेका थिए। आ–आफ्ना देवीदेउतासँग वचनबद्धता धामी मार्फत गरे। यस्ता थुप्रै दृश्य सोमबार बिहानैदेखि कमला नदीमा देखिन्थे। आ–आफ्नो घरको कुल देवी देउता रिझाउन स्नान गर्न आएको उनीहरूले सुनाए। मंगलबार रातिदेखि नै बस, ट्रयाक्टर, कार, जिप चढेर गाउँ–गाउँबाट नदी किनार पुग्नेको लर्को देखिन्थे। कात्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा स्नान गरे धामीझाँक्री मार्फत कुल देउताबाट तान्त्रिक विद्या सिद्ध हुने मान्यता छ। वर्षभरिमा जानअञ्जानमा भएको पापबाट नदीमा स्नान गरे पखालिने जनविश्वास समेत छ।

यहाँका गाउँ–गाउँमा महिनौँदेखि मानिसहरू आफूलाई देवीदेउता चढेको बताउँछन्। उनलाई सिद्ध गर्न धामी बोलाइन्छ। हरेक वर्ष यहाँ कात्तिक शुक्ल पूर्णिमाका दिन स्नान गरी देउता रिझाउन पूर्ण हुने गरेको जनविश्वास छ। स्नान गरेसँगै उदाउँदो सूर्यलाई साक्षी राखेर धामी र झाँक्री मार्फत कुल देउताबाट सिद्धि प्राप्त गर्ने गरेको जानकार बताउँछन्।

‘समयसमयमा देउताले सवारी ‘पुजारी’ फेर्ने गर्छन्। नयाँ मान्छेको शरीरमा देउता आउँदा कमला नदीमा स्नान गराउन ल्याउनुपर्छ,’ धनुषा शहिदनगरका मौजे रायले भने,‘६ महिनादेखि देवीदेउता चढेको व्यक्तिलाई लिएर कमला नदीमा यस वर्ष आएका छौँ। यहाँबाट गएपछि कहिल्यै हैरान नपार्ने विश्वास छ।’

कैयौं पटकको बैठकीपछि कूल देवता सही भए–नभएको सही ठम्याएर मात्र कमला स्नान गर्न आउने गरिएको रायले बताए। तान्त्रिक विधिअनुसार कुल देउताबाट सिद्धि प्राप्त गर्दै कमला स्नान गरेपछि सोही व्यक्तिको जिउमा देउता आउने गरेको उनको दाबी छ। स्नान गरेका नयाँ भक्तले कमलाको जलले देउताको ‘गहवर स्थान’ लिप्ने प्रचलन रहेको धामी बताउँछन्।

घर परिवारका कुनै सदस्यलाई हानी–नोक्सानी र भूतप्रेतले छोयो भन्ने जानकारी कमला स्नान गरेकै व्यक्तिमार्फत देउताले दिने तथा रक्षा समेत गर्ने गरेको जनविश्वास छ। सिद्धि प्राप्त गर्न सिरहाको माडरस्थित इनर्वाघाट, बसपिट्टा, सारश्वर, चतरी, कल्याणपुर, भेडिया, बन्दीपुरसँगै छिमेकी जिल्ला धनुषाको सघारा, टरिया लकड लगायत कमला नदी छेउमा विभिन्न स्थानमा स्नान गर्ने लाखौंं श्रद्धालुहरूको घुइँचो लागेको थियो। प्रत्येक वर्ष कात्तिक पूर्णिमामा सर्लाही, धनुषा, महोत्तरी, सप्तरी लगायत जिल्लाबाट हजारौं हजार मानिस आउँछन्।

कमला मेलालाई मध्यनजर गर्दै सिरहाको कल्याणपुर नगरपालिका, सिरहा नगरपालिका, विष्णुपुर गाउँपालिका, कर्जन्हा नगरपालिका बिदा दिएको छ। यसैगरी धनुषाको कमला नगरपालिकाले समेत अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द रहने गरी बिदा दिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.