क्यान्सर जितेकी कमलाको छोरी पाउने सपना अधुरै

क्यान्सर जितेकी कमलाको छोरी पाउने सपना अधुरै

सुनसरी : जीवन जिउने क्रममा मान्छेका हरेक इच्छा, आकांक्षा र सपना हुन्छन्। तीमध्ये कतिपय पूरा हुन्छन्, कतिपय अधुरै रहन्छन्। ‘मेरा लागि छोरी पाउने ठूलो सपना अधुरो रह्यो, तर भगवान्को कृपा र डाक्टरहरूको प्रयासले म बाँच्न सफल भएकी छु’, मुम्बईको टाटा क्यान्सर अस्पतालबाट क्यान्सर जितेर फर्किएकी धरान–१५ की ४१ वर्षीया कमला कुँवर (बानियाँ)ले आफ्नो कहालिलाग्दो कथा यसरी सुनाइन् :

कमलाले झन्डै १४ वर्ष इजरायलमा घरेलु श्रमिकका रूपमा काम गरिन्। त्यहाँको कठोर परि श्रम, जिम्मेवारी र एक्लोपनबीच पनि उनले आफ्नो जीवनको संघर्षलाई निरन्तरता दिइरहिन्। परिवारका लागि धेरै दुःख, कष्ट र मेहेनत गरेकी छन्। नेपालमा अनमीसम्म अध्ययन गरेर इजरायल गएकी उनी उहीँ काम गर्थिन्, पैसा कमाउँथिन् र परिवारलाई पठाउँथिन्। शरीरमा कहिलेकाहीँ समस्या हुन्थ्यो तर खासै ध्यान दिएकी थिइनँ’, उनी सम्झिन्छिन्। इजरायलमै रहँदा उनलाई महिनावारीमा असामान्य समस्या देखिन थाल्यो, पेटमा सुन्निने, दुख्ने र रक्त श्राव हुने गथ्र्यो। त्यहाँका डाक्टरहरूले हर्मोनल समस्या भएको र सावधानी अपनाउन सुझाव दिएका थिए। ‘डाक्टरले भनेका थिए— समस्या बढ्यो भने पाठेघर निकाल्नुपर्ने हुन्छ। तर, मैले त्यतिबेला त्यस्तो डर मानिनँ, काममै व्यस्त रहेँ,’ उनले भन्छिन्।

नेपालमा श्रीमान् र छोरा थिए। छोरा ठूलो हुँदै जाँदा, श्रीमान् र उनीबीच ‘छोरी पनि भएको भए राम्रो हुन्थ्यो’ भन्ने कुरा बारम्बार उठ्थ्यो। ‘मैले नेपाल फर्किएर छोरी पाउने योजना बनाएँ’, उनी भन्छिन्, ‘जीवनमा त्यो एउटा सपना थियो — छोरीसँग खेल्ने, पढाउने र सिँगार्ने।’ नेपाल फर्किएपछि उनी र श्रीमान् काठमाडौंको मेडिसिटी अस्पताल पुगे। त्यहाँ उनले शरीरको सबै स्वास्थ्य परीक्षण गरिन्। रिपोर्ट हेरेपछि चिकित्सकले गम्भीर स्वरमा भने, ‘तपाईंलाई क्यान्सर भएको छ, त्यो पनि फैलिएको अवस्थामा। भोलि नै अप्रेसनको तयारी गर्नुहोस्।’ 

यस्तो खबर सुन्दा कमला र उनका श्रीमान् स्तब्ध भए। ‘मैले विश्वासै गर्न सकिनँ। म त केही हप्ताअघि मात्रै इजरायलमा काम गरेर फर्किएकी थिएँ। शरीरमा सामान्य थकानबाहेक केही थिएन’, उनी सम्झिन्छिन्। त्यो बेला कमलाका श्रीमान् लक्ष्मी बानियाँसँगै आएका साथीहरू भीम ज्वाला राई र उनकी श्रीमती चन्दा पनि थिए। सबैजना अलमलमा परे— के गर्ने, कहाँ जाने, कसरी उपचार गर्ने ?

आफ्ना दिदीभिनाजु भारतमै रहेकाले उहाँहरूकै सल्लाहमा भारतको मुम्बई स्थित टाटा क्यान्सर अस्पताल जाने निर्णय गरे। ‘हामी वागडुग्रा हुँदै भारततिर लाग्यौं— म, श्रीमान् र भान्जा जर्मन क्षेत्री,’ उनले भनिन्, ‘मनमा डर थियो, तर आशा पनि थियो— सायद भगवान्ले बचाउनेछन्।’ मुम्बई पुगेपछि अस्पतालमा भर्ना भएपछि सबै रिपोर्ट आए। चिकित्सकहरूले बताए कि क्यान्सर चौथो स्टेजमा पुगेको छ। तर त्यतिबेला उनीहरूको शब्दमा आशाको किरणबाहेक अरू केही थिएन। ‘तीनवटा किमोपछि अप्रेसन, अनि फेरि तीनवटा किमो, त्यसपछि निको हुन्छ,’ डाक्टरले भनेको कमला सम्झिन्छिन्।

पहिलो किमो लगाउँदाको अनुभव सम्झँदै कमलाको आँखा रसायो। पहिलो किमोले त मलाई बाँच्नै गाह्रो बनायो। शरीरले सहन सकेन। ६ महिनापछि डाक्टरलाई सोधेँ— म बाँच्छु कि मर्छु होला ? डाक्टरले भने, ‘यो उपचारको समय हो। उपचार रोकियो भने झन् समस्या हुन्छ तपार्इं धैर्य गर्नुहोस्।’ किमोको असरले उनको शरीरमा रगत घट्यो। दिनहुँ सुई, औषधि, रक्त सञ्चारको ट्युबमा बाँधिएकी उनी हरेक पल बाँच्ने संघर्षमा थिइन्। ‘सिरिन्जबाट रगत चढाइन्थ्यो। कहिले आँखा सुन्निन्थ्यो, कहिले टाउको दुख्थ्यो, कपाल झरेर मुडुलै भयो तर म रोइनँ— किनकि मलाई बाँच्न धेरै रहर थियो,’ उनी भन्छिन्। तीन किमोपछि डाक्टरले अप्रेसन गरे। अप्रेसन राम्रो भयो। तर, उपचार त्यत्तिमै रोकिएन। २१ दिनपछि फेरि किमो सुरु भयो।

‘अप्रेसनपछि थकित शरीरमा फेरि किमो चढाइयो। त्यो मेरो जीवनकै सबैभन्दा कठिन समय थियो’, उनी भन्छिन्। डाक्टरले ६ वटा किमो लगाउने भनेका थिए, तर अन्ततः ८ वटा लगाउनुप¥यो। रगत घट्थ्यो, शरीर हल्लिन्थ्यो, तर मनभित्र एउटा आवाज आउँथ्यो— ‘म हार्दिनँ। शरीरमा ८ वटा किमो चढाएपछि जब सबै रिपोर्ट आए, परिणाम चामत्कारिक थियो— सबै रिपोर्ट नर्मल आयो। डाक्टरहरूले भने— अब तपाईं ठीक हुनुहुन्छ, हरेक तीन महिनामा फलोअपमा आउनुहोस्। त्यो क्षण कमलाका लागि पुनर्जन्मजस्तै भयो। ‘म रोएँ, श्रीमान् रुनुभयो, भान्जा रोए। हामी सबैले भगवान् र डाक्टरहरूलाई धन्यवाद दियौं,’ उनी भन्छिन्। क्यान्सर जितेर कमला अहिले घर फर्किएकी छिन् । उनले क्यान्सर जितेको सात महिना भइसकेको छ। फलोअपका लागि कहिलेकाहीँ मुम्बई जान्छु। अहिले म ठिक छु। शरीर अलि कमजोर छ, तर मन बलियो छ। जीवनको मूल्य बुझें। उनी भन्छिन्, ‘ठूलो संघर्षले क्यान्सर जिते, तर छोरी पाउने सपना भने अधुरै रह्यो। उनको त्यो सपना अब सपनामै सिमित रह्यो। पाठेघर निकालिएको छ। तर अब मलाई त्यो भन्दा ठूलो खुशी छाएको छ। म बाँचें,’ उनी मुस्कुराउँदै भन्छीन्।

कमलाको जिवन संघर्षले धेरै महिलाहरूलाई सचेत गराएको छ, ‘महिनावारीमा असामान्य समस्या भयो भने ढिला नगर्नुहोस्। सुरुमा उपचार गरे क्यान्सर रोग सजिलै निको हुन्छ। मैले बेवास्ता गरेँ, त्यसैले चौथो स्टेजसम्म पुगेँ।’ उनी भन्छिन्, ‘क्यान्सर शब्द सुन्दा धेरै डर लाग्छ। तर, डरले होइन, हिम्मतले जितिन्छ। म बाँचें, उपचार बेलैमा गरे तपाईंहरू पनि बच्न सक्नुहुन्छ। अहिले म बाँच्न सफल भएकी छु। डाक्टरले पनि क्यान्सर 
निको भयो भनेका छन्।’

उनको संघर्षले देखाउँछ कि क्यान्सरले शरीर कमजोर पार्न सक्छ, तर आत्मबललाई कहिल्यै हराउन सक्दैन। कमला अहिले पनि आफ्नो जीवनलाई नयाँ अध्याय दिन खोज्दैछिन्। उनले क्यान्सरलाई जितेकी छिन्, तर एक सपना — छोरी पाउने, सधैंका लागि अधुरै रह्यो। तर, उनको मुस्कानले भन्छ— जीवन त अधुरा सपना पूरा गर्न होइन, बाँकी रहँदा पनि सन्तोष पाउन हो। यो कथा क्यान्सरसँग लडिरहेका सबैलाई सन्देश हो— हिम्मत नहारौं, विश्वास नटुटाओस्। ‘आशा बाँकी रहँदैछ भने जीवन बाँकी नै रहन्छ’, कमला भन्छिन्। कमलाका श्रीमान् लक्ष्मी बानियाँ भन्छन्, ‘जब डाक्टरले चौथो स्टेजको क्यान्सर भने, म संसारै भत्किए झैं भएँ। तर, मनभित्र एउटा आवाज थियो— म श्रीमतीलाई बचाउँछु। मैले हिम्मत हारेको भए कमला आज हाम्रो साथमा हुन्न थिइन्। उनको साहसले मात्र होइन, विश्वासले पनि उनको जीवन जित्यो।’

लक्ष्मी र कमलाको प्रेम विवाह थियो। घरपरिवारको विरोध र समाजका थुप्रै कुरा छिचोलेर उनीहरूले प्रेमलाई मान्यता दिएका थिए। जीवनको हरेक उतारचढावमा सँगसँगै हिँडेका उनीहरूका लागि यो क्यान्सरको युद्ध पनि प्रेमकै अर्को परीक्षा बन्यो। लक्ष्मी भन्छन्, ‘प्रेम भनेको सजिलो समयमा सँगै बस्नु होइन, कठिन क्षणमा पनि हात नछोड्नु हो। कमलाको हिम्मत र हाम्रो विश्वासले उनको जीवन मात्र होइन, हाम्रो प्रेम पनि अझ गहिरो बनायो।’ कमलाको कथा आज हजारौं मानिसका लागि प्रेरणाको स्रोत बनेको छ। रोगले शरीर हराउन सक्छ, तर प्रेम र आत्मबलले जीवन पुनः फुलाउन सक्छ। कमलाको पीडा केवल क्यान्सरको कथा होइन, यो आशा, साहस र आत्मबलको कथा हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.