‘जेन–जी आन्दोलन’को प्रभाव बैंकमा, नाफा वृद्धिदर साढे १८ प्रतिशतले कमी
काठमाडौं : नेपालको बैंकिङ उद्योगमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा जेन–जी आन्दोलनले ल्याएको उपलपुथलले गम्भीर असर देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरूको नाफा १८.४७ प्रतिशतले घटेको छ।
यस अवधिमा राजनीतिक तथा सामाजिक अस्थिरताका कारण लगानीकर्ताको मनोबल अत्यधिक घट्दा ऋणको माग लगभग शून्यमा झरेको बैंकरहरूको गुनासो छ। अझ यसैबीच बाढीपहिरो र डुबानजस्ता प्राकृतिक प्रकोपले समेत धेरै प्रभावित भए। यी सबै कारणले चालु आर्थिक वर्ष २०८२/८३ को भदौ र असोजमा बैंक तथा वित्तीय संस्थामा ब्याज तथा साँवा असुली नभएपछि ठूलो मात्रामा प्रोभिजन छुट्याउनुपर्ने स्थिति आएको छ। जसको परिणाम वाणिज्य बैंकहरूको पहिलो त्रैमासको वित्तीय प्रतिवेदनमा देखिएको छ। फलस्वरूप सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय प्रतिवेदनअनुसार गत आवको तुलनामा समग्रमा नाफा वृद्धिदरमा संकुचन आएको हो।
गत आर्थिक वर्षको असोज मसान्तमा कुल नाफा १६ खर्ब १२ अर्ब ९४ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिसम्म नाफा १८.४७ प्रतिशतले घट्दा १३ खर्ब १४ अर्ब ९८ लाख रुपैयाँमा सीमित भएको छ। गत आवको पहिलो त्रेमासको तुलनामा वाणिज्य बैंकहरूले २ अर्ब ९७ करोड ९६ लाख ३५ हजार रुपैयाँ घाटा बेहोर्नु परेको देखिन्छ। सार्वजनिक प्रतिवेदनअनुसार ४ बैंकले मात्रै गत आवको तुलनामा नाफा वृद्धि गर्न सफल भएका छन्। यसबाहेक बाँकी १६ बैंकको वृद्धिदर घटेको छ। कुल नाफा बढी गर्ने बैंकमा ग्लोबल आईएमई बैंक अग्रस्थानमा देखिन्छ। उक्त बैंकको कमाइ १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ शीर्ष स्थानमा देखिएको हो। गत आवको सोही अवधिमा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ हाराहारीमा नाफा गरेको थियो। यसअनुरूप ग्लोबलको नाफा गत आर्थिक वर्षको तुलनामा २२.९२ प्रतिशतले बढेको छ। बढी नाफा गर्ने दोस्रो स्थानमा नबिल बैंक छ।
नबिलले पहिलो त्रैमासमा १ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ नाफा गरेको छ। तर, नबिलको यो नाफा गत आवको तुलनामा १४.५७ प्रतिशतले घटेको छ। गत आव २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँले नाफा गरेर नबिल बैंक अग्र स्थानमा थियो। तथापि चालु आवको पहिलो त्रैमासमा नाफा वृद्धि गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक अगाडि छ। नाफा बढाउनेमा उल्लेखनीय वृद्धि भए पनि कुल कमाइ भने ५ करोड ९८ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा २९५.७२ प्रतिशतले वृद्धि हो। गत आवको सोही अवधिमा १५ करोड १३ लाख रुपैयाँ हाराहारीमा मात्रै नाफा गरेको थियो।
यसैगरी, कम नाफा घटाउनेमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक, नेपाल बैंक, हिमालयन बैंक देखिन्छ। अर्कोतर्फ, प्रभु बैंक र नेपाल एसबीआई बैंकको नाफा क्रमशः ४६.३३ र ३८.४३ प्रतिशतले घटेको छ। सबैभन्दा धेरै नाफा संकुचन हुनेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र कृषि विकास बैंक रहेको छ। दुवैको नाफा ९६ प्रतिशतभन्दा बढीले घटेको छ। त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलले २२ करोड ४१ लाख घाटा खेपेको छ। गत वर्ष उक्त बैंकले १९ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो।
‘साँवा/ ब्याज नउठ्दा निष्क्रिय कर्जाको आकार बढ्यो, प्रोभिजनमा पैसा थुप्रिँदा नाफा घट्यो’ नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुछ«े बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला विगतका आर्थिक वर्षहरूको पहिलो त्रैमासिक रिपोर्टको तुलनामा यसपटक सबभन्दा कम वृद्धि भएको बताउँछन्। यद्यपि केही बैंकहरूमा सामान्य वृद्धि देखिए पनि, सम्पूर्ण उद्योगको होलिस्टिक अवस्था हेर्दा परिणाम नकारात्मक रहेको उनले प्रस्ट्याए।
उनका अनुसार विशेष गरेर जेन–जी आन्दोलनको प्रभावका कारण यसले सबै क्षेत्रलाई असर गरेको र धेरैको कन्फिडेन्स एकदमै घटेको छ। ‘एकातर्फ जेन–जी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको थियो। यसलगत्तै बाढीपहिरोजस्ता प्रकोपहरूले पनि असर पारे। यसबीच दसैं, तिहारजस्ता फेस्टिभ सिजनका कारण छुट्टी भएको र ऋण तिर्ने टाइम पनि नभएको अवस्था रह्यो। यसले गर्दा ब्याज खासै उड्न सकेन।
ठूलो मात्रामा ब्याज तथा साँवा असुली नहुँदा बैंकहरूले अत्यधिक प्रोभिजन थप्नुपर्ने बाध्यता आयो। सस्पेन्स ऋण बढ्दा कर्जा नोक्सानी (प्रोभिजन) व्यवस्थामा करिब १५ अर्ब रुपैयाँ हाराहारीमा रकम राख्नुपर्दा समग्रमा नाफा घटेको हो,’ अध्यक्ष कोइरालाले अन्नपूर्णसँग भने, ‘यसबीच जब ग्राहकबाट ब्याज उठेन, त्यसले गर्दा सस्पेन्स बढ्यो र प्रोभिजनलाई हिर्कायो। यसरी प्रोभिजन ट्रिगर भएको हो।’
यता बैंकहरूको नाफा तथा नोक्सानीमा सेयर लगानीकर्ताहरको बढी चासो हुने गर्छ। यसै क्रममा सेयर जानकार देव गुरागाईं समग्रमा हेर्दा अधिकांश बैंकहरूको नाफा घट्नुको कारण न्यून ब्याजदर, ऋण लगानीमा मन्दी, कर्जा असुलीमा सुस्तता र सञ्चालन खर्च बढेको बताउँछन्।
कर्जाको ब्याज असुलीमा समस्या
पहिलो त्रैमासमा बैंकिङ प्रणालीमा ब्याज असुली नहुने अवस्था विशेष गरेर व्यक्तिगत कर्जाहरू, मध्यम र साना तथा मझौला आकारका कर्जाहरूमा भएको सीईओ कोइरालाले जानकारी दिए। यसैले अब बैंकिङ क्षेत्रको यो स्थिति अब दोस्रो र तेस्रो त्रैमासिकमा देशको समग्र अस्थिरता र स्थिरता कस्तो रहन्छ त्यसैमा भर पर्ने उनको भनाइ छ। लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति छ। तर, कर्जाको माग छैन। लामो समयदेखि बैंकरहरूले ग्राहकबाट ऋणको माग खासै नभएको गुनासो गर्दै आएका छन्। बैंकर संघका अध्यक्ष कोइराला यतिबेला लगानीमा अन्योलता भएको बताउँछन्।
उनी भन्छन्, ‘जेन–जी आन्दोलनमा ठूलो लगानीमा भएको व्यवसाय, उद्योगहरूमा तोडफोड, आगलागीजस्ता घटनाहरूले लगानीकर्ता त्रसित छन्। यसले नयाँ लगानी गर्ने वा नगर्ने भन्ने कुरामा धेरै दोधार बनाएको छ।’ अझै आन्दोलन हुने भन्ने कुराहरू आउन थालेकाले यसले समग्र क्षेत्रमा अनिश्चितता ल्याउनेमा उनले चिन्ता व्यक्त गरे। अब राजनीतिक स्थिरता भए फेरि व्यवसायीमा मनोबल बढ्ने र बैंकिङ क्षेत्रमा कर्जाको माग बढ्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !