१५ घण्टापछि बल्ल बन्यो धावनमार्गको बत्ती

१५ घण्टापछि बल्ल बन्यो धावनमार्गको बत्ती

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको बत्ती (एयरफिल्ड लाइटनिङ सिस्टम) बिग्रिएको करिब १५ घण्टापछि सञ्चालनमा आएको छ। उक्त बत्तीमा विद्युत् अवरुद्ध (सर्ट सर्किट) हुँदा विमानस्थलको रनवेमा १५ घन्टा विद्युत् आपूर्ति थिएन भने विमानस्थल करिब साढे ४ घण्टा बन्द गरिएको थियो। रनवेमा के कारणले सर्ट सर्किट भएको थियो भन्ने बताइएको छैन। 

प्राविधिक टोलिको मर्मतपछि विमानस्थलको रनवे (धावनधमार्गमा) विद्युत् आपूर्ति पुनः सुचारु भएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले अन्नपूर्णलाई जानकारी दिए। 

रनवेमा विद्युत् आपूर्ति टुटेपछि विमानस्थल साँझ सवा ५ बजेबाट राति ९ बजेर ४० मिनेटसम्म बन्द भएको थियो। रनवेमा देखिएको समस्या समाधानपछि विमानस्थलमा उडान तथा अवतरण सुचारु भएको छ। ‘प्राविधिक टोलीले करिब साढे ४ घण्टा लगाएर एयरफिल्ड लाइटनिङ सिस्टम आएको खराबीलाई बनाएका छन्। सबै अन्तर्राष्ट्रिय उडान तथा अवतरण सुचारु भएको छ,’ प्रवक्ता शेर्पाले जानकारी दिए।

त्रिभुवन विमानस्थलमा रनवेको बत्तीमा देखिएको समस्याका कारण इतिहासमा नै पहिलोपल्ट उडान अवरुद्ध भएको विमानस्थल स्रोत बताउँछ। पूर्णरूपमा सञ्चालनमा रहेको मुलुकको पहिलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा आन्तरिक तथा बाह्य उडानसँगै हजारौं यात्रुहरू अलपत्र परेका थिए। विमानस्थल बन्द हुँदा भारत, बंगलादेशलगायत देशहरूमा डाइभर्ट भएका अन्तर्राष्ट्रिय उडान पुनः काठमाडौं विमानस्थल फर्किएका छन्। 

शनिबार बिहानै देखिएको थियो रनवेको बत्तीमा समस्या 
विमानस्थलमा सधैंजस्तो शनिबार पनि रनवेको नियमित चेकजाँचपछि उडान÷अवतरण सुचारु गराउने प्रकियामा थियो विमानस्थ। तर, विमानस्थल प्राविधिक टोलिले शनिबार बिहान ६ बजे रनवेको चेकजाँच गर्दा विद्युत आपूर्ति बन्द भएको देखियो। रनवेको बत्तीमा विद्युत् आपूर्ति बन्द भएको शनिबार बिहानै जानकारी भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन्। सूर्योदय भइसकेकोले भीएफआर(भिजुअल फ्लाइट रुल्स) बाट आन्तरित तथा बाह्य उडान गराइयो। 

दिउँसो २ देखि ३ बजे रनवे बन्द गरी समस्याको पहिचान र समाधानको प्रयास भए पनि सम्भव भएन। ‘रनवेमा नै गएर विद्युत् आपूर्ति किन अवरुद्ध भयो भनेर जाँच गर्नुपर्ने भएकोले दिनभरि विमानस्थल सुचारु राखियो। सूर्यास्त भएपछि आईएफआर (इन्स्टु«मेन्ट फ्लाइट रुल्स) उडान भर्नका लागि रनवेमा बत्ती चाहिन्छ। यसका लागि विमानस्थल साँझ सवा ५ बजेबाट बन्द गरिएको थियो,’ भुलले अन्नपूर्णसँग भने।

एनका अनुसार रनवेको एप्रोच लाइटिङ, एयर लाइटिङ, सेन्टरलाइन लाइटिङ, थ्रेसहोल्ड लाइटिङलगायत धेरै प्रणाली हुन्छन्। त्यो प्रणाली बिहानबाट नै बिग्रिएको हो। दिनभरि भीएफआर फ्लाइट भयो। दिउँसोलाई समस्या भएन। सवा ५ बजे सूर्यास्त भइसकेपछि आईएफआर फ्लाइट सुरु हुन्छ। त्यसका लागि रनवेमा लाइट चाहिन्छ। पहिला साढे ७ बजेसम्मका लागि बन्द गरिएको थियो। प्राविधिक टोलीले विद्युत् आपूर्ति सुचारु गर्न नसकेपछि साढे ९ बजेसम्मका लागि विमानस्थल बन्द गरिएको थियो। समस्याको पहिचान भइ मर्मतपछि राति ९बजेर ४० मिनेटबाट विमानस्थल पुनः सुचारु गरिएको उनी बताउँछन्। दिउँसो आन्तरिक उडान पनि प्रभावित हुने भएकोले साँझको समयबाट मात्रै समस्या समाधानको पहल सुरु गरिएको प्राधिकरणले जनाएको छ। 

के कारणले रनवेमा विद्युत् आपूर्ति बन्द भयो भन्ने एकिन नभए पनि यहाँ भइरहेको निर्माणको कामले असर गरेको हुन सक्ने भुलको बुझाइ छ। शनिबार बिहान साढे ४ बजेसम्म रनवेनजिक निर्माणको काम भइरहेको थियो। ‘विमानस्थलको सुधार आयोजनअन्तर्गत रनवेको ट्याक्सी वे, पार्किङको विस्तारको काम भइरहेको छ। ५०–६० वर्षको पुरानो प्रणाली छ। अहिले नयाँ निर्माण गर्दा समन्वयको अभावले पनि समस्या भएको हुन सक्छ,’ भुल बताउँछन्। पहिला पनि रनवेमा समस्या आउने गरेको तर केहि मिनेटमा नै समस्या सुल्झाउने गरेकोमा इतिहासमा पहिलोपटक रनवेमा विद्युत् आपूर्ति बन्द भएर त्रिुभुवन विमानस्थल नै बन्द गर्नु परेको उनले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.