चतुर्मासमा चार नारायण
कात्तिक महिना चतुर्मासको समापन र चार नारायणको विशेष साधना गर्ने समय हो। हरिबोधिनी एकादशी, भनौं हरि ब्युँझने दिन। बोधिनीको अर्थ जागा, जगाउने सबैलाई भन्ने हुन्छ। आषाढ शुक्ल हरिशयनी एकादशीदेखि श्रीहरि सुतलमा सुतेको, राजा बलि निग्रह गर्दै, उठेर वैकुण्ठ जाने, पुग्ने वैकुण्ठ चतुर्दशी। चार महिनासम्म घर आँँगनीमा पूजा गरी सजाइएको तुलसीको बिहे स्वयं श्रीविष्णुसँग गराइने हाम्रो धार्मिक मान्यता छ।
राजधानी उपत्यकामा रहेका भक्तपुरको चाँगुनारायण, ललितपुरको विशंखुनारायण, काठमाडौंको फर्पिङस्थित शेषनारायण अनि स्वयम्भू पछाडिका इचंगु नारायणको दर्शन गर्न जाने भक्तहरूको भीड नै देखिन्छ। त्यस्तै शिर भाग भनिएको शिवपुरीको काखैमा रहेको बूढानीलकण्ठमा भक्तहरूको भीड हुन्छ। पूर्वीय धर्मदर्शनप्रति हुरुक्क हुने नेपालीहरूका लागि यस्ता विभिन्न पवित्र क्षेत्र छन्। अत्यन्तै ठूलोे पुण्य प्राप्त भई मानव मात्रले मानवीय सेवामा समर्पित हुन सिकाउने समय हो यो। यहाँ केही स्थानको विशेष चर्चा गर्ने जमर्को गरिएको छ।
उद्दालकेश्वरबाट केही उत्तरतिर मर्कटाचल पर्वतमा गोपालेश्वर शिवलिंग रहेको छ। प्रसिद्ध दक्षिणकाली र शेषनारायण क्षेत्र पनि यहाँको मूल विशेषता हो। नेमुनि भन्नुहुन्छः भगवान् विष्णुले अघि युद्धमा नआएका दैत्यहरूलाई पनि मार्नु भएको थियो। आफूले गरेका पापको प्रायश्चित्त गर्न बागमती नदी र शिखरिणीको संगममा रहेको व्याघ्रतीर्थमा स्नान गरेर मर्कटाचल पर्वतमा बसी यज्ञकुण्डमा विशेष हवन गर्दै शिव प्रार्थना गर्दै हुनुहुन्थ्यो। त्यहाँ विष्णुले एक दृश्य देख्नुभयो। कामधेनु गाईले दूधको धारा बगाउँदै रहिछन्। विष्णुले कामधेनुलाई ‘यहाँ किन दूधको धारा लगाएको’ भनी सोद्धा कामधेनुले ‘यहाँको माटो पन्छाएर हेर्नुहोस्, शिवजीको दर्शन मिल्नेछ’ भनेका थिए।
कामधेनु गाईले दूध बगाएकाले यहाँ शिखरिणी नदी उत्पन्न भएकी रहिछन्। यहाँ ब्रह्माजी आएर शिखर नारायणको पूजा र अर्घदान गर्दा पाउले थिचिएर गंगा उत्पन्न भएकी रहिछन् र श्रीविष्णुले त्यहीँ स्नान गरेकाले गंगाको नाम विष्णु तीर्थ रह्यो। कामधेनुको वचनअनुसार माटो पन्छाएर हेर्दा विष्णुले विशाल गाईको रूपमा शिवलिंग देखेर शिवजीले स्तुति गर्दै भन्नुभयो, ‘हे शशिशेखर कालरूपधारी, कालीका शक्ति भएका तपाईंलाई बारम्बार नमन गर्छु।’ विष्णुले शिवको विशेष आराधना गर्दै त्यहाँ यज्ञकुण्ड बनाउनुभयो र शिवपञ्चाक्षरी मन्त्र जप्दै यज्ञ गर्दा नजिकै गंगा बहन थालिन्। श्रीवष्णुले कठिन व्रत गरेको देखेर शिवजीले ज्योतिस्वरूप दर्शन दिएर भन्नुभयो।
तुष्टोऽहं ते हरे भक्त्या एतज्जैर्विशेषतः।
अपीयमावयोमूर्तिस्तवनाम्ना भविष्यति।।
‘हे नारायण ! यो लिंगमा म र तपाईं अब संयुक्त रूपमा बस्नुपर्छ। संयुक्त नाम यहाँको गोपालेश्वर रहनेछ।’ यसपछि विष्णुले शिवगण र देवीको समेत आराधना गरी आफू शिवमा ध्यानस्थ हुनुभयो। जसले गोपालेश्वरको पूजा आराधना गर्छ, उसलाई धनधान्यले भरिपूर्ण हुन्छ, त्रिकालदर्शी पनि हुन्छ भन्ने आशीर्वाद दिएर शिव त्यहीँ अन्तरध्यान हुनुभयो। नेमुनि विरूपाक्षलाई भन्नुहुन्छः अघि एक अधम नामको ब्राह्मण थियो। उसले भक्षाभक्ष्य, गम्यागम्य केही विचार गरेन। समाजबाटै बहिष्कृत भएको अधम एक दिन जंगलै जंगल यज्ञ गंगामा पुगेर पानी पियो। उसलाई एक सिंहले आक्रमण
गरी मार्यो, रगत पियो र शवलाई उचालेर फाल्यो।
सिंह ठोक्किएर गोपालेश्वर शिवलिंगमा पर्यो, सिंह पनि मर्यो। शिवलिंग नजिकै मरेको कारण अधम ब्राह्मण ब्रह्मपुर भन्ने स्थानमा ब्रह्म शर्मा भएर पुनर्जन्म भई त्रिकालदर्शी र अति ज्ञानी भएर निस्क्यो। सिंह पनि आफ्नो पशुत्वबाट छुटी एक प्रसिद्ध धार्मिक राजा भयो। संयोग, एकदिन त्यो त्रिकालदर्शी ब्राह्मण र उही राजाको भेट भएछ। ब्राह्मणले पूर्वजन्मको सबै वृत्तान्त बताइदिएछन् राजालाई। उनको भविष्य पनि बताएपछि दुवैले माघकृष्ण अष्टमीमा यहीँ विष्णु तीर्थमा स्नान गरेर विशेष व्रत बसी गोपालेश्वरको पूजा आराधना गरेछन्। दुवैले मोक्ष प्राप्त गरेछन्।
विरूपाक्षलाई माघ शुक्ल पञ्चमीमा यहाँको दर्शन, पूजा व्रत, रात्रिमा जाग्राम र व्रत प्रतिष्ठा गराइएको थियो। गोपालेश्वर शिवलिंग हालको काठमाडौं जिल्ला फर्पिङ शेषनारायण मन्दिर नजिकै पर्छ। फर्पिङ बजारबाट पूर्वतिर एक तले, झिँगटीको पक्की छानो, ढलौटको गजुर पश्चिम ढोका भएको सो मन्दिरमा शिवलिंग रहेको र ब्राह्मण पुजारीबाट वैदिक विधिले पूजाआजा गर्ने गरिएको छ। पूर्वतिर कालभैरव, गणेशलगायत सप्तर्षि शिला, आग्नेयमा शीतला, दक्षिणमा नन्दी, जलकुण्ड, पश्चिममा लक्ष्मीनारायण र हवनकुण्ड, उत्तरमा गुह्येकालीदेवी तथा धर्मशाला रहेको छ, दशहरामा विशेष मेला लाग्छ।
चार नारायणमा इचंगु नारायणसँगै रहेका यक्षेश्वर (आदेश्वर) सिद्धलिंगको पनि चर्चा गरौं–
नन्दिन्यां च सुखं स्नात्वा तीर्थेषु क्रमशो मुने।
यक्षतीर्थे पुनः स्नात्वा यक्षेश्वरमपूजयेत्।।
स्कन्दकुमार भन्नुहुन्छः चन्दन भराटेश्वरदेखि २ कोस जति पूर्वतिर उशिरवीज पर्वतमा यक्षेश्वर शिवलिंग रहेको छ, यसलाई आदेश्वर पनि भनिन्छ। प्राचीन समयमा श्रीविष्णुले नन्दी तीर्थमा स्नान गरी यक्षेश्वरको वरदान पाई यक्षेश्वर शिवलिंग स्थापना गर्नु भएको हो। यो नन्दिनी र विष्णुपदी गंगाको संगम समीपमा छ, वृक्ष लताहरू, मयुर, कोकिलहरूले सुसज्जित त्यसक्षेत्रमा देवस्वरूप शिलाहरूले भरिपूर्ण यक्षेश्वर शिवलिंग छ। अघि हिरण्यकशिपु दैत्यले हिमालमा बसी ब्रह्माको उग्र तप गर्दा ब्रह्माजीबाट ३ लोककै विजय पाउने वरदान पाएर चौधै भुवनको राजा भयो।
देवताहरू दैत्यबाट भयभीत भई छरिए। श्रीविष्णु यहाँ आई विष्णुमती र नन्दिनी गंगा संगममा स्नान गरी उशिरवीज पर्वतमा बसी शिवजीको तप गर्न लाग्नुभयो। शिलाको शिवलिंग आकार दिँदा आदेश्वरको नाम रह्यो। त्यहाँ श्रीविष्णुले शिवपञ्चाक्षरी मन्त्र जप्दै ध्यान गर्दा श्रीशिव खुसी भई आशीर्वाद दिँदै भन्नुभयो, ‘हे विष्णु ! हिरण्यकशिपु आदि दैत्यमाथि तपाईंले अब विजय गर्न सक्नुहुनेछ।’ शिवजी त्यहीँ ज्योतिस्वरूप दर्शन दिई वरदान दिएर अन्तरध्यान हुनुभयो। श्रीविष्णुले तुरुन्तैै नृसिंह अवतार लिनुभयो। हिरण्यकशिपु आदि दैत्यहरूमाथि विजय पाई इन्द्रादि देवताहरूलाई स्वर्गलोक दिएर दस दिक्पाललाई आआफ्ना लोक प्रदान गर्नुभयो।
प्राचीन समयमा उत्तरापन्थका राजा थिए कुवेर। उनको ढोके थियो हयग्रीव। हयग्रीव कठोर स्वभावको कसैलाई नगन्ने थियो। उसले राजदरबारमा कसैलाई छिर्न दिएन। एक दिन त कुवेरका अनुचरहरूलाई पनि रोक्यो। कुवेरले रिसाउँदै उसलाई राज्यबाटै निकालिदिए। हयग्रीव राज्यच्यूत भई रुँदै यस क्षेत्रमा आई आदेश्वर शिव अगाडि बसेर माघ शुक्ल प्रतिपदाका दिन तातोपानीले शिवलिंगको स्नान गराई शिव मन्त्र जप्दै विविध उपचारले पूजा उपासना गरिरह्यो। नैवेद्य चढाई त्यो मात्र आहार गर्यो उसले। १२ वर्ष व्यतीत भएपछि माघकृष्ण चतुर्दशी मध्यरात्रिमा शिवजीले दर्शन दिनुभयो। केही पछि उसको कालगतिले मृत्यु भयो। शिवगण आई हयग्रीवलाई पुष्प वृष्टि गर्दै कैलाश लगेर शिवगणका मालिक बनाए।
पहिले यहाँ कामधेनु गाईकी पुत्री नन्दिनीले शिव वाहन नन्दीको स्मरण गर्दै स्नान गरेकी थिइन्। जुन नन्दिनी तीर्थको नामले प्रख्यात भयो। त्यसै तीर्थको तीरमा बसी उनले पितृहरूका लागि हवनादि कर्म गरिन् र यो तीर्थमा स्नान, दान, पुण्य हवनादि कर्म गर्नेले अक्षय फल पाउने भए। यक्षेश्वर शिवलिंग हालको काठमाडौं जिल्ला विष्णुमती नदी र स्वयम्भूनाथदेखि पश्चिम, इचंगु नारायणस्थान जाने बाटैको सीतापाइलामा पर्छ।
प्रतिक्रिया दिनुहोस !