हराए ढिकी जाँतो
भोजपुर : कुनैबेला बिहानसाँझै ‘घ्वाँईं–घ्वाँईं’ र ‘ढुक–ढुक’ आवाजले गाउँहरू गुन्जिन्थे। घरैपिच्छे ढिकीजाँतो हुन्थ्यो। ढिकीजाँतो अन्न पिस्ने साधनमात्रै थिएनन्। गाउँको जीवनशैली र संस्कार पनि थियो। गाउँले श्रम थियो। गाउँघरमा गुञ्जिने तीनै ढिकीजाँतो हिजोआज हराएका छन्। आधुनिक प्रविधिको बढ्दो प्रयोगले यी परम्परागत संस्कृति लोप हुँदै गएका छन्।
पहिलेपहिले गाउँघरमा अन्नबिना ढिकीजाँतो पिसिँदैन्थ्यो। धान, मकै, कोदो, गहुँदेखि दालसम्म सबै यसमै कुटिन्थ्यो वा पिसिन्थ्यो। गाउँको अग्र्यानिक स्वाद आउँथ्यो। एक किसिमले गाउँको शोभा बनेको ढिकीजाँतो नयाँ प्रविधिको बहुउपयोगितासँगै मासिएको भोजपुर नगरपालिका— ११, आम्तेकका मोहनसेन राई सुनाउँछन्।
‘कुनै बेला जाँतो नभएको घर प्रायः विरलै हुन्थ्यो। ढिकी त अझै घरको अन्नको सुरक्षाको प्रतीक थियो। हिजोआज यो बिलाएर गएको छ’, उनले भने, ‘नयाँ प्रविधिका सामानको बहुउपयोगिताले हाम्रो गाउँघरका ढिकीजाँतो लोपोन्मुख बनेको हो। अहिले तयारी सामानहरू बढी आयात गरिने हुँदा पनि यो संस्कृति संकटमा परेको छ।’
तर जमाना फेरिएसँगै प्रविधिप्रतिको लोकप्रियताले ढिकीजाँतोहरूमा यी चलनहरू पनि हराएको आम्तेक बाँसबोटका युवा अग्रज पर्शुराम ओझाको बुझाइ छ। भन्छन्, ‘बिहे, भोजभतेर, कार्जो टार्ने मीठो गाउँले भाकामा गुञ्जिएका यी ढिकीजाँतोहरू अहिलेका पुस्ताले बिर्सिए, नयाँ प्रविधिका कुराहरूमा बढी चासो देखाएपछि गाउँका यस्ता संस्कृतिमा कसरी ध्यान जाओस् त।’
अहिले गाउँगाउँमा बिजुली, डिजेल वा पेट्रोलबाट चल्ने मिल भित्रिएको छ। जसले पूर्णतया ढिकी र जाँतोको उपयोग घट्दै गयो। सजिलै, छिटो र सस्तोमा अन्न पिस्ने विकल्प आएपछि मानिसहरूले पुराना साधन छोड्न थालेकाले संस्कृति लोप बनेको हो। जसकारण ढुंगाको जाँतो बनाउने, ढिकी बनाउने मानिसहरूको पेसा पनि संकटमा परेको पौवादुङमा गाउँपालिका च्याङ्ग्रेका मोहन दुरालले बताए। ‘हिजोआज ढुंगा खोपेर बनाइने जाँतो र साल, सिसौंका काठबाट बन्ने ढिकी बनाउने पेसा पनि गुमेको छ। सबैजनाको नयाँ प्रविधिका बिजुली, पेट्रोल, डिजेलबाट चल्ने मिलमा कुटानपिसानी हुने भएपनि ढिकीजाँतोको विकल्प पूर्ण रूपले हराएको छ’, उनले भने।
प्रविधिको विकासले दैनिकी फेरिएसँगै चक्की, मिल र डिजिटल उपकरणहरूले काम छिटो बनाएकाले पनि यो संस्कृति ओझेलिएको जानकारहरूको बुझाइ छ। जसकारण ढिकीजाँतोजस्ता मौलिक उपकरणहरू एकपछि अर्को गर्दै विस्थापित हुन थालेको हो।
‘अहिले कसैसँग समय छैन, मेसिनले सबै काम गरिदिन्छ, अनि किन चाहियो त ढिकीजाँतो तर ती मेसिनसँग ढिकीजाँतोको मौलिकपन र भावना जोडिँदैन, स्मृति हुँदैन’ बोखिमका ७१ वर्षीय झपटबहादुर राई भन्छन्, ‘हामी ढिकीजाँतो चलाउँदा गीत गाउँथ्यौं, छिमेकीसँग भेट हुन्थ्यो, अहिले सबै एक्लाएक्लै बसेका छन्, त्यो जमाना अब सम्झनामा मात्रै रहने भयो।’
कुनैबेला भोजपुरको पूर्वी चौकीबारी गाउँलाई जाँतो बनाउने मुख्य केन्द्रका रूपमा चिनिन्थ्यो। २५ घरपरिवारले व्यावसायिक रूपमा जाँतो बनाउँथे। आज त्यहाँ मुस्किलले एक–दुई घरले मात्र पेसा जोगाइरहेका छन्। ढुंगा अभाव, बजारको कमी र युवाहरूको वैदेशिक रोजगारीतर्फको आकर्षणले पेसा गुम्दै गएको छ। स्थानीय ५६ वर्षीय रहरमान राई अझै पनि छिनो–हथौडाले ढुंगा खोप्छन्। तर उनको गुनासो यो छ कि ‘जाँतो बनाए पनि किन्न कोही आउँदैनन्। मेहनतअनुसारको मूल्य पाइँदैन। यसरी पेट पाल्नै मुस्किल छ’ जाँतो बनाउने पेसा धराशायी बनेपछि जाँतो बनाउने यो ठाउँका अधिकांश मानिसहरू रोजगारीको सिलसिलामा अन्यत्र गइसकेका छन्।
ढिकी र जाँतो हराउँदै गएसँगै गाउँको श्रम संस्कृति पनि मेटिँदै गएको छ। पुराना पुस्ताहरूमा त्यही स्मरण भए पनि पछिल्लो पुस्ताले बिर्सिंदै गएका छन्। ढिकीमा कुटेको धानको भात, जाँतोमा पिसेको मकै, कोदो, गहुँको पीठो, पीठोबाट बन्ने ढिँडो, रोटी र त्यो मेहनतको स्वाद नयाँ पुस्ताले अनुभव गर्न नपाउने अवस्था छ। यसरी ढिकीजाँतो संस्कृति संरक्षण, प्रचार र प्रयोगलाई प्रोत्साहन नगरिए केवल स्मृतिमा रहने सरोकारवालाहरूको ठम्याइँ छ।
प्रतिक्रिया दिनुहोस !