भित्र मुख्यमन्त्रीको पदभार, बाहिर सांसदकै रमिता
जनकपुरधाम : कांग्रेसलगायत ७ दलका सांसद÷कार्यकर्ताको विरोधबीच मधेसका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले मंगलबार पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री यादवको नियुक्ति ‘असंवैधानिक’ भन्दै कांग्रेस, लोसपा, जनमतलगायतका दलले मुख्यमन्त्री यादवको शपथ ग्रहण रोक्न प्रदर्शन गरेका थिए । तर, ७ दलको विरोधबीच मुख्यमन्त्री यादवले मंगलबार ५ बजे मधेस भवन अर्थात् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरे ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार नियुक्त लोसपाका जितेन्द्र सोनलले शनिबार पदबाट राजीनामा दिएपछि मधेसमा मुख्यमन्त्री रिक्त भएको थियो । सोमबार बिहान उपचार गर्न काठमाडौं हिँडेकी निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिवासस्थित एउटा होटलमा एमालेका यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरी शपथ गराएपछि सरकार विवादमा परेको थियो ।
भण्डारीले प्रदेशसभाको ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को (३) अनुसार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । तर, यादवको नियुक्ति र होटलमा गराइएको सपथ ‘असंवैधानिक’ भन्दै कांग्रेसलगायत ७ दल विरोधमा छन् । उनीहरूको प्रदर्शनका कारण मंगलबार दिनभर जनकपुरधामको मधेस भवन वरपरको क्षेत्र अस्तव्यस्त बनेको थियो । पार्टीका सांसददेखि कार्यकर्ताहरू सडक जाम गरेर बाटो अवरुद्ध गरेका थिए । प्रदेशसभा सदस्यहरूको अगुवाईमा भएको प्रदर्शनले मधेस भवनको सडक दिनभर आमनागरिकको रमिताको केन्द्र बनिरह्यो । सांसदहरूले पिडारी चोकदेखि मिल्स एरिया रोडको मधेस भवन अगाडिको मुख्य सडकमा कुर्सी राखेर सडक जाम गरिरहे ।
आम नागरिकको आवत–जावतमा रोक लगाइरहे । यसका बाबजुद मुख्यमन्त्री यादव एकाबिहानै मधेस भवन पुगेका थिए । उनले तोडफोड भएको क्षेत्रदेखि लिएर कुटिएका कर्मचारी र कुटपिटको विषयमा जानकारी लिएका थिए । साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको तोडफोडको घटनामा संलग्न र राष्ट्रिय झन्डा तथा देशको अपमान गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिए ।
मुख्यमन्त्री यादव मधेस भवन तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निस्किएपछि पुनः ७ दलका प्रदेशसभा सदस्य र उनीहरूका समर्थकले मधेस भवनको गेटअघि सडक जाम गर्दै विरोध प्रदर्शन गरे । यतिमा मात्रै उनीहरू रोकिएनन् । प्रदेश सभामुख रामचन्द्र मण्डलविरुद्ध पनि नारावाजी गरे ।
राष्ट्रिय सम्पत्तिको क्षति, झन्डाको अपमान
नवनियुक्त मुख्यमन्त्री यादवले आफ्नो नियुक्ति र शपथ संवैधानिक रहेको दाबी गरेका छन् । प्रदेशसभाबाट विश्वासको मत मागिसकेका मुख्यमन्त्रीले प्रदेशसभामा मत विभाजनको जनाउ घन्टी बजिसकेको बेलामा राजीनामा घोषणा गर्नु र विश्वासको मत पाउन नसक्दा नयाँ सरकार गठनका बाटो खुलेको बताए । त्यसैकारण प्रदेशसभामा ठूलो दलको हैसियतमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नु तथा सपथ गराउनु संवैधानिक भएको यादवले दाबी गरे ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले सर्वोच्च अदालतबाट अप्रत्यासित आदेश आएको खण्डमा कांग्रेसको नेतृत्व स्वीकार गर्न तयार रहेको बताए । अरू दलको नेतृत्व भने अब स्वीकार गर्न नसकिने बताए । पत्रकार सम्मलेनमा बोल्दै उनले आफ्नो नियुक्ति संविधानअनुसार नै भएकाले शपथ ग्रहण नगरेसम्म आफ्नो पद एक्टिभ नहुने भएकाले शपथका लागि दबाब दिएको स्विकारे ।
मुख्यमन्त्री यादवले मुुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेका कारण त्यहाँ बस्न सक्ने अवस्था नभएकाले कार्यभार नसम्हालेको बताए । उनले भने, ‘निवर्तमान मुख्यमन्त्री भएकै बेलामा तोडफोड हुनु लज्जास्पद विषय हो । उनले भने,‘राष्ट्रिय सम्पतिमाथि क्षति पु¥याउनु, झन्डाको अपमान गर्नु, कर्मचारी कुट्नु लज्जाको विषय हो ।’
मुख्यमन्त्रीद्वारा सहिदलाई मधेस रत्न सम्मान
मुख्यमन्त्री यादवले मधेस आन्दोलनमा सहिद भएका सम्पूर्ण वीर सहिदहरूलाई मधेस प्रदेश सरकारद्वारा मधेस रत्न घोषणा गरी सम्मान गरिने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !