संविधानमा समानता, व्यवहारमा विभेद
संविधानले दलित अधिकारको सुनिश्चितता गरेको छ। तर व्यवहारमा अनुभूति छैन।
आजको नयाँ पुस्तालाई हामी जेन–जी भन्छौं। यो पुस्ता असमानता, अत्याचार र अन्यायका विरुद्ध खुला बोल्न सक्छ। यो पुस्ता ट्रेन्ड, टिकटक र टिटरमा राजनीतिक असहमति जनाउन डराउँदैन। प्रश्न गर्ने ल्याकत बोकेर जन्मिएको पुस्ता हो जेन–जी। तर, यो जेन–जी पुस्ताको प्रश्न सामाजिक तहमा वा राजनीतिक वृत्तमा मात्र देखा पर्छ ? जेन–जी विद्रोह दलित उत्पीडनको विरुद्ध पनि उस्तै तिखो हुन्छ ?
यो जिज्ञासा स्वाभाविक छ।
नेपालले गणतन्त्र पाएको झन्डै दुई दशक हुन लाग्यो। संविधानले दलित अधिकार सुनिश्चित गरेको पनि वर्षौं भइसक्यो। तर दलितको जीवन अझै अपमान र विभेदको जाल र जेलमा छ। ‘छोइछिटो’, ‘जातीय विभेद’ र ‘अपमान’ कानुनी रूपमा अपराध भए पनि व्यावहारिक रूपमा अझै संस्कृतिको रूपमा जिउँदो छ। यो संस्कृतिको नशा त्यस्तो विष हो, जसले समाजको मानवता मारेको मारेकै छ। समाजको मानवतालाई उपहास गरेको गरेकै छ। जातीय श्रेष्ठतालाई बोकेको बोकेकै गर्छ । तथापि जेन–जी आन्दोलनले कुम्भकर्ण भएर सुतेको रूढ र हठलाई बेस्सरी झस्कायो। यसैगरी दलितको विषयमा पनि नबोल्ने नब्युँझिने निद्रा बिथोल्नु अत्यावश्यक छ ।
दलितको कथा अझै पनि गैरदलितको दृष्टिकोणबाट लेखिन्छ, सहानुभूतिको आवरणमा। अब दलितले आफ्नै कथा आफ्नै आवाजमा लेख्ने बेला आएको छ।
नेपालको समाज अहिले एउटा द्वन्द्वमा छ। एकातिर कानुनी समानता छ अर्काेतिर दलित समुदायमाथि हजारौं वर्षदेखिको उत्पीडन, व्यावहारिक विभेद कायमै छ। यही द्वन्द्व तोड्न अब चाहिएको छ, दलित विद्रोह, जेन—जी शैलीको विप्लव र जोश। नेपालले गणतन्त्र पाएको झन्डै दुई दशक र संविधानसभामार्फत बनेको नयाँ गणतान्त्रिक संविधान अभ्यास गरेको एक दशक पूरा भइसक्यो। संविधानले दलित अधिकार सुनिश्चित गरेको छ। आरक्षणको व्यवस्था पनि छ। तर व्यवहारमा दलित अझै समाजको कुनामा थिचिएको छ। केन्द्रीय सरकारमा बल्लबल्ल कर्मकाण्डी उपस्थितिमा सीमित छ।
गणतन्त्रले अधिकार दियो, समाजले अस्वीकार गर्यो। नेपालले गणतन्त्रको औपचारिकता पूरा गर्यो। संविधानले दलितलाई अधिकार दियो। तर गाउँका कुलदेवता अझै दलितको पूजा अस्वीकार गर्छन्। सहरमा शिक्षित वर्ग पनि अझै ‘थर’ हेरेर मित्रता गर्छ। कोठा भाडामा दिने नदिने कुरा उसको नाम पछि झुन्डिएको थरमा निर्भर रहन्छ। यो केवल भेदभाव होइन, यो सांस्कृतिक अपराध हो। कानुन र न्यायको सिद्धान्तमाथिको उपहास र मानवताको हत्या हो।
कानुनले समानता लेखिदियो, तर समाजले अझै पनि त्यसलाई जीवनमा लागू गर्न अस्वीकार गर्यो। यही पापी र पाखण्डी समाजको मानसिक संरचना विभेदको मानसिकता भत्काउन धार्मिक सांस्कृतिक राजनीतिक मनोवैज्ञानिक क्रान्तिको सख्त जरुरी परेको हो। छोइछिटो कानुनअनुसार अपराध हो, तर व्यवहारमा अझै सामाजिक स्वीकृतिमा जिउँदो छ। छोइछिटोकै कारण नयाँ संविधान बनेपछि पनि दर्जनौंको हत्या भएको छ यसरी कानुन र जीवनबीचको दूरी नै हाम्रो नैतिक र संवैधानिक हार बनेको छ । यही खराब नीति र व्यवहार सच्याउन पनि क्रान्तिको अपरिहार्यता
महसुस भएको हो।
दलित समुदायसँग समस्या समानताको होइन, स्वीकार्यताको हो। गैरदलित समाज अझै पनि दलितलाई बराबरी होइन, सह्य हैसियतमा मात्र स्वीकार गर्न खोज्छ। यही कारण हो। दलित युवाले पढेलेखेर पनि सम्मान पाउँदैन, उसलाई अझै ‘थर’ हेरेर मूल्यांकन गरिन्छ। जबसम्म यो मनोविज्ञानको भ्रम तोडन समाजलाई जागरूक बनाउन सकिँदैन, तबसम्म मानसिकता रहिरहन्छ ।
विद्रोहलाई छेक्न सकिन्न। स्वीकार्यताबिना समानता केवल दस्तावेजमा सुन्दर ढंगले लेख्ने विषयमात्र बन्छ। दलितलाई अधिकार दिनुपर्ने कुरा अहिलेका दिनमा हास्यास्पद लाग्नुपर्छ। किनभने अधिकार दिनु भन्ने सोच नै श्रेष्ठताको मानसिकता हो। यहाँ जन्मँदै कोही श्रेष्ठ र कोही नीच छैन। नीच हाम्रो सोचाइ हामीमा लादिएको मानसिकता हो।
दलित विद्रोहको अर्थ ढुंगामुढा होइन यो चेतनाको आन्दोलन हो। यो विद्रोह नैतिकताको पुनर्जागरण हो। जहाँ दलित आफ्नो शरीर, भाषा, संस्कृति र इतिहासलाई पुनः स्वामित्वको रूपमा ग्रहण गर्छ। यो विद्रोहले भन्ने विषय हो। ‘हामीलाई सधैं पीडा दिएर पीडित बनाएर नराख, हामी परिवर्तनका मूल पात्र हौं।’ दलित विद्रोहको आत्मा स्वाभिमान हो। स्वाभिमानले नै क्रान्तिलाई अर्थ दिन्छ। जसरी जेन—जी पुस्ताले परम्परागत सोच, पुरानो राजनीति र स्थिर मनोवृत्तिलाई चुनौती दिइरहेछ, त्यसरी नै दलित चेतनाको नयाँ पुस्ताले विद्रोहलाई पुनः परिभाषित गर्नुपर्ने बेला आएको छ। यो नैतिक क्रान्ति हो, जसले समाजको नैतिक ढाँचा नै पुनर्लेखन गर्छ।
नेपालको दलित आन्दोलनले कानुनी र नीतिगत स्तरमा ठूलो प्रगति गरेको छ, तर सांस्कृतिक स्तरमा यो अझै अधुरो छ। दलितलाई अझै पनि समानता दिनुपर्ने विषयको रूपमा हेर्ने गैर—दलित दृष्टिकोण नै सत्ताको नयाँ रूप हो। दलितबराबर हिस्सेदार नमानेर आफूले गरेको दयामा रमाउने पात्रको रूपमा जहिलेसम्म गैर—दलितको व्यवहार रहन्छ तबसम्म दलित विद्रोह र रूपान्तरणको क्रान्ति अनावश्यक हुँदैन।
दलितले आफ्नो कथा आफ्नै आवाजमा भन्नुपर्छ। आफूलाई सहानुभूतिको होइन, समान क्षमताको दृष्टिले स्थापित गर्नुपर्छ। परिआएमा क्रान्ति गर्नु समयको माग हो। नेपालको दलित आन्दोलनले कानुनी उपलब्धि त हासिल गर्यो, तर सांस्कृतिक मुक्ति अझै बाँकी छ। दलितको कथा अझै पनि गैर—दलितको दृष्टिकोणबाट लेखिन्छ, सहानुभूतिको आवरणमा। अब दलितले आफ्नै कथा आफ्नै आवाजमा लेख्ने बेला आएको छ। जहाँ दया होइन, गरिमा होस जहाँ पीडा होइन, प्रतिरोध होस्।
जेन—जी पुस्ता अहिले सामाजिक मिडियाको शक्ति हातमा लिएर जन्मिएको पुस्ता हो। यो पुस्ताले शक्तिशाली दुई तिहाइको सरकारलाई करिब २४ घण्टामा ढालिदियो। यदि यो पुस्ता सचेत भएर दलित न्यायका लागि उभिन्छ भने नयाँ युगको इतिहास लेखिन सक्छ। तथापि शक्ति र सत्ताको नजिक रहेका यो पुस्ताले १४ प्रतिशत जनसंख्या भएको दलितको अपमान, अमर्यदा र जातीय छुवाछूतको मुद्दालाई आफ्नो
एजेन्डा कहिल्यै बनाएको सुनिएको छैन।
दलितको विषयमा यदि यो पुस्ता मौन रहन्छ भने मौनता नै उत्पीडनको नयाँ औजार बन्नेछ। तसर्थ यो पुस्ता र दस्तालाई दलितको मुद्दाबारे सम्झाउनु बुझाउनु अत्यावश्यक छ। दलित विद्रोह अब राजनीतिक एजेन्डामात्र होइन, यो मानवताको पुनर्परिभाषा हो। यो विद्रोह तबसम्म अधुरो छ, जबसम्म गैर—दलित र जेन—जी पुस्ताले पनि यो संघर्षलाई आफ्नो आत्मसंघर्षको रूपमा महसुस गर्दैनन्।
अन्तमा
जेन—जी जस्तै नयाँ पुस्ता दलितको मुद्दा विषयको लागि जाग्नुपर्छ। तर यसपटक सेल्फी र स्लोगनका लागि होइन, आत्मसम्मान र अस्तित्वका लागि, मानवीय मर्यादा र विश्वासको लागि हो। दलितलाई चाहिएको नारा होइन, न्यायसँग जोडिएको विद्रोह हो। दलित विद्रोहले अब केवल अधिकार माग्ने होइन, नयाँ मूल्य र मान्यता निर्माण गर्ने दिशा लिनुपर्छ। किनकि ‘विद्रोह तबमात्र सफल हुन्छ जब पीडा कवितामा, किताबमा ऐन कानुनका ठेलीमा होइन, नीतिमा रूपान्तरण हुन्छ।’ जेन–जी भनिने पुस्ताले भदौ २३ र २४ गते जे गर्यो त्यो अप्रश्नीय त छैन। तर २३ भदौमा माइतीघरमा गरेको घोषणालाई आधार मान्दा उसको मक्सद नराम्रो छैन। जसरी जेन–जीमाथि भदौ २३ मा बर्बर दमन गरियो त्यो कुनै पनि हालतमा दण्डयोग्य छ। त्यसैगरी जेन–जीको नामका आततायी आगजनी निन्दनीय छन्।
यो पुस्ता स्वतन्त्र सोच्न जान्दछ, खुला बोल्न जान्दछ, र असमानतालाई स्वीकार गर्न जान्दैन। तर विडम्बना के छ भने, यो पुस्ता असमानताको सबैभन्दा पुरानो र गहिरो रूप जातीय विभेदका सामु अझै मौन छ। उसले समाजको यो अपराधको जालोबारे विहंगम विमर्श थालेकै छैन। त्यसैले आज प्रश्न उठेको छ। जेन—जी जस्तै अब दलित विद्रोहको आवश्यक छ। अब उठ्ने दलित विद्रोह केवल दलितको मात्र हुनु हुँदैन यो मानवताको पक्षधर सबैको हुनुपर्छ। यस किसिमको आन्दोलनको अगुवाइ दलित जेन—जीले गर्नुपर्छ र गैर—दलितदेखि सामाजिक न्यायका हिमायती सबैको साथ सहयोग र समर्थन रहनुपर्छ। यसपटक ट्रेन्डका लागि होइन, स्वाभिमान र अस्तित्वका लागि। मानवीय मूल्य प्रतिस्थापनार्थ आन्दोलन हुनुपर्छ।
जेन–जी आन्दोलनले अवरुद्ध अनेकन विकृति र विसंगति फ्याल्ने निकासको बाटो खोलेको हो। नेपालले विकासको बाटो खोज्दैछ। विकास तबमात्र सम्भव हुन्छ जब दलितको पीडा इतिहास होइन, नीति र चेतनाको अंश बन्छ। दलित विद्रोह आजको समाजको नैतिक परीक्षा हो। र, यो परीक्षा पास गर्न, हामी सबैले आफ्नो गलत मनोविज्ञानको पर्खाल भञ्जन गर्ने पर्छ। दलितको विषय र मुद्दा फेरि कहिल्यै उठाउन नपर्ने गरी समाज र मानसिकताको पुनर्संरचना गर्ने पर्छ ।
प्रतिक्रिया दिनुहोस !