दूषित वायु भरिएका सहरका बासिन्दा हामी
काठमाडौं : आइतबार बिहान सुर्खेत सबैभन्दा प्रदूषित सहर बनेको थियो। वातावरण विभागको वेबसाइटमा उल्लेख भएअनुसार त्यतिबेला त्यहाँको हावाको गुणस्तर (एक्यूआई) को मात्रा १७० गरिएको थियो। जुन नम्बर अस्वस्थ मानिन्छ।
आफ्नो ठाउँ प्रदूषित भएको समाचार पढेपछि सुर्खेतका एक जना व्यक्ति सामाजिक सञ्जालमा आश्चर्य मान्दै लेख्दै थिए। ‘इतिहासमा यस्तो समाचार पढिएला भनेर सोचिएको थिएन। न उद्योगधन्दा, न कलकारखाना। सुर्खेत वायु प्रदूषणमा एक नम्बर। त्यो पनि एकाबिहानै। यो मेरो लागि आठौं आश्चर्य जस्तै समाचार हो।’
काठमाडौंले त सधैंजसो दूषित हावामै श्वास फेरिरहन्छ
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्, हरि दाहाल भन्छन् नेपालका प्रायःजसो ठाउँहरूमा कतै पनि पानी परेको छैन। गण्डकी र कोशी प्रदेशका हिमाली क्षेत्रमा केही बदली भए पनि अन्य ठाउँको मौसम सफा हुँदा प्रदूषण पनि बढेको हो।
‘तापक्रम बिस्तारै घटेको तथा पश्चिमी वायुको प्रभाव खासै नरहेको अवस्था छ’ दाहालले भने ‘प्रदूषण हट्न कि मजाले हावा चल्नुप¥यो। कि पानी पर्नुप¥यो।’ तापक्रम घट्दै गएपछि तुषारो र कुहिरोले लाग्ने हुन्छ। यसले भिजिलिविटी कम हुन्छ। साथै धुलोमैलो उडेर जाँदैन। तापक्रम कम हुँदा प्रदूषण पनि बढ्ने उनले बताए।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागअन्तर्गत अध्यापन गराइरहेका सहप्राध्यापक विनोद पोखरेलले पनि प्रदूषणको तह झन्झन् भयानक बन्दै जाने देखिएको संकेत गरे। दसैंताका लगातार झरी परे पनि आगामी दिनमा पानी पर्ने नदेखिएको उनी बताउँछन्। सिजनल पूर्वानुमान हेर्दा आगामी तीन महिनासम्म पानी पर्ने नदेखिएकाले प्रदूषण झनै बढ्ने बताउँछन्। तर यस वर्ष गत वर्षभन्दा बढी चिसो हुने तर मौसम औसतभन्दा अलि तातो हुने पनि बताएका छन्।
प्रदूषणसम्बन्धी भर्खरै आफ्नो अध्ययन प्रकाशन गरेका वायु प्रदूषणविज्ञ, भूपेन्द्र दास भन्छन्, यातायात, उद्योग, कलकारखाना, इँटाभट्टा, निर्माणका काम, सडकका धुलो, डँढेलो, आगलागी, कृषि अवशेष र फोहोरमैला जलाउँदा, घरायसी प्रयोजनका लागि प्रयोग हुने दाउरा, कोइला, गुइँठा, पराल बालेर लामखुट्टे धपाउने तराईका प्रचलन आदिबाट अत्यधिक प्रदूषण बढेको छ।
औसतमा इँटाभट्टाको एक किलोमिटर वरिपरि १५० माइक्रोग्राम प्रदूषणको मात्रा भेटिएको उनको अध्ययनले बताएको जनाए। यो तह विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा ३० गुणा बढी भएको उनले जनाए। इँटा भट्टाहरूले पनि प्रदूषण बढाउन भूमिका खेलेको उनले जनाए। मुख्यतः नोभेम्बरबाट जुनसम्म भट्टा सञ्चालन हुन्छन्। यसले वायुमण्डलको अवस्था खराब बनाउने गरेको बताए। चिसो याममा हावा हुरी कम चल्ने हुन्छ। यस्तो समयमा तल्लो सतह स्थिर हुन्छ। तलको भागमा धुलोको कणहरू अड्केर बस्छ। यताउता छर्न नदिएर थुपारेर राख्छ। माथिल्लो वायुमण्डलमा जाँदैन। त्यसैले चिसोमा प्रदूषण बढ्ने गरेको दासले बताए।
नेपालमा प्रदूषणबाट प्रत्येक वर्ष ४७ हजार जना मानिसले मृत्यु हुन्छ। हाम्रा सहरहरूमा हावाको गुणस्तर (एक्यूआई) को मात्रा सयदेखि माथि नै देखिन्छ। एक्यूआईको तह शून्यदेखि ५० राम्रो मानिन्छ। ५० देखि १०० लाई नराम्रो हुँदै गएको बुझिन्छ। १०० देखि १५० अस्वस्थ्य भनिन्छ। त्यसैगरी १५० देखि २०० ले अन्य मानिस र संवेदनशील समूहलाई अझै धेरै असर गर्छ। २०० देखि ३०० सबै उमेरसमूहका लागि नराम्रो र संवेदनशील अवस्थामा पुगेको बुझिन्छ।
बिहान, बेलुका पीएम २.५ को मात्रा (हावामा हुने धुलोको अत्यन्त सूक्ष्म कण) एकदमै बढी हुन्छ। १२ देखि ३ बजेसम्म कम हुन्छ। तर जाडो याममा वायुमण्डलमा प्रदूषण अड्किएर बस्ने हुनाले यस्ता कण झनै घातक बनिरहेको बताए। काठमाडौं महानगरपालिकाले फोहोर जलाउन नपाउने सूचना सार्वजनिक गरिसकेको बताउँदै दासले भने ‘नगरपालिका स्तरबाट प्रदूषण हटाउन पहल गर्नुपर्ने अवस्था आइसकेको छ।’
प्रतिक्रिया दिनुहोस !