जेनजी अगुवा भन्छन्- छानबिनमा दोषी देखिए नेता हुन् कि जेनजी कारबाहीको भागिदार हुनैपर्छ

'जेनजीका नाममा भएको हिंसा र आगजनी अस्वीकार्य छ, त्यो हाम्रो एजेण्डा थिएन'

'जेनजीका नाममा भएको हिंसा र आगजनी अस्वीकार्य छ, त्यो हाम्रो एजेण्डा थिएन'
तस्बिर : अभिषेक महर्जन

भदौ २३ गते माइतीघर मण्डलामा बिस्तारै मानिसहरू जम्मा हुँदै गए। जसरी भीड अघि बढिरहेको थियो, सबल गौतमको मन पनि बेचैन बनिरहेको थियो। दुई हजारसम्म आकलन गरिएको त्यो भीडमा दशौँ हजारभन्दा बढी मानिस पुगिसकेका थिए। माइतीघरबाट जसरी भीड बानेश्वररतर्फ मोडियो, आफ्नो हातबाट चिजहरू फुत्किँदै गएको सबललाई महसुस हुन थाल्यो। नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडिएपछि उनी निश्चित भए, अब यो भीड हाम्रो नियन्त्रणमा छैन। त्यसपछि संसद् भवन अगाडि जे भयो, त्यसले उनलाई अझैसम्म विक्षिप्त बनाइरहन्छ।

...

मोरङ सुन्दरहरैचाका २० वर्षीय सबल गौतम काठमाडौंस्थित एस कलेजमा बीबीए पढ्दैछन्। तेस्रो सेमेस्टरमा अध्ययनरत सबल किताब पढ्न सौखिन छन्।  राजनीतिक र सामाजिक विज्ञानका किताबसँगै उनी अडियो बुक र त्यस्तै खालका सामग्री युट्युबमा पनि हेर्न रुचाउँछन्। सायद, त्यसैको प्रभावले होला कलिलै उमेरमा उनमा राजनीतिक चेतना पलायो। विश्व राजनीति र नेपालको राजनीतिलाई तुलना गरेर उनी दिक्क मान्न थाले। त्यसमाथि मिडियामा आउने विभिन्न काण्डहरूले उनलाई नराम्रोसँग गिजोल्यो। एकदिन उनले ‘नेपो बेबी’ ट्रेन्डका बारेमा थाहा पाए। त्यसकै आडमा जेनजी मुभमेन्ट भएको विषयमा पनि उनी जानकार भए। अनि उनले सुरू गरे #Wakeup_Nepal (जागौं नेपाल) अभियान। भ्रष्टाचारविरुद्ध आफूले सुरू गरेको त्यही अभियानले ‘नेपो बेबी’ ट्रेन्डसहित भदौ २३ को परिस्थिति निर्माण गरेको उनी बताउँछन्।

‘जेनजी मुभमेन्टलाई तताउने काम ‘नेपो बेबी’ट्रेन्डले गर्‍यो। आम जनताले नेताका छोराछोरीको जीवनशैली देखेर दिक्क भइसकेका थिए। दुःख हामीले गर्ने? विदेश पनि हामी जानुपर्ने ? अनि नेताका छोराछोरीले चाहिँ मोज गर्ने ? तिनका छोराछोरीले कसरी मोज गरेभन्दा त पक्कै भ्रष्टाचार गरेर कमाएको पैसाले हो। यही कुरा मेरो मनमा गाडिएपछि भ्रष्टाचारविरुद्धको अभियानमा जोडिए,’ उनी भन्छन्।

सामाजिक सञ्जालले त्यो अभियानलाई बुस्ट गर्न मद्दत गरेको उनी सम्झन्छन्। सामाजिक सञ्जालबाट एक कान-दुई कान हुँदै मैदान भएपछि केही युवा मिलेर भ्रष्टाचारविरुद्धको अभियानलाई सडकबाट पनि तताउनुपर्ने जोड दिन थालियो। त्यही बेला सरकारले नेपाल सूचीकरण नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गर्‍यो। त्यसले आगोमा घ्यु थप्ने काम गरेको सबल सुनाउँछन्।

null

‘सोसल मिडिया बन्द हुनुअघि नै ‘नेपो बेबी’ र ‘भ्रष्टाचारविरुद्ध’को आवाज युवाहरूमाझ बुलन्द भइसकेको थियो। सरकारले सामाजिक सञ्जाल बन्द गरिदिएपछि त्यसले झन् मलजल गर्ने काम गर्‍यो। आगोमा घ्यु थप्ने भन्छ नि, हो ठ्याक्कै त्यही काम सरकारले गर्‍यो। तीन दिनअघि मात्रै भदौ २३ को योजना बनेको थियो,’ उनी भन्छन्।

त्यसबेला युवाहरू विभिन्न प्लाटफर्ममा बहस गरिरहेका थिए। कतिपय बहस हेरेर सबललाई डर पनि लागिरहेको थियो। डिस्कर्ड र टिकटकमा खुलेआम हिंसात्मक गतिविधि गर्ने अभिव्यक्तिहरू आउन थालेको उनी सम्झन्छन्। ‘सेप्टेम्बर ८ को योजना बन्दैगर्दा डीसकर्डमा ठूलो बहस भइरहेको थियो। के गर्ने ? कसरी गर्ने ? योजना बनिरहेका थिए। त्यससँगै त्यहाँ नकारात्मक कुराहरू पनि आउन थाले। केहीले मारकाट नै गर्नुपर्ने जस्ता अभिव्यक्ति दिन थाले। मैले सोचेँ र खोजेको अभियान त्यस्तो थिएन। आफ्नो तर्फबाट त्यस्ता गतिविधि हुन दिनु हुन्न भन्नेतर्फ सचेत गराएँ। मैले सम्झाएर सायद पुगेन कि ?,’ उनी आफैँलाई प्रश्न गर्छन्।

जलाउनु, कुट्नु, मार्नु हाम्रो एजेण्डा थिएन

सामाजिक सञ्जालमा अराजक गतिविधि हुने देखिएपछि सबलले अर्का साथी पुरुषोत्तम यादवसँग सल्लाह गरे। उनीहरूले आवश्यक सुरक्षा प्रदान गरिदिनिका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए।

ʻकेहीले त मलाई व्यक्तिगत मेसेज गरेर प्रदर्शन हिंसात्मक बनाऔं, पेट्रोल बम्ब हान्नुपर्छ, मलाई बम बनाउन आउँछु भन्न थाले। प्रदर्शन हिंसात्मक नहोस् भनेरै हामीले प्रशासनलाई निवेदन दिएर जानकारी गरायौं,ʼ उनी भन्छन्। मेसेज गर्नेहरूका बारेमा जिज्ञासा राख्दा सबल थप्छन्, ʻती मेसेजहरू आएका अकाउन्ट असली थिएनन्। सबै फेक थिए। को व्यक्ति वा समूह भनेर मैले ठम्याउनै सकिनँ। सायद त्यही कुरा सेप्टेम्बर ८ र ९ मा भएको हो कि ?ʼ

सबललाई लाग्थ्यो, भ्रष्टाचारविरुद्धको अभियान एक/दुई दिनले पुग्दैन, लामो समय जान्छ भन्नेमा उनी दृढ थिए। दुई दिनमै यो सब भइहाल्छ भन्ने कुरा त सबलले कल्पना पनि गरेका थिएनन्।

null

ʻखासमा भ्रष्टाचारविरुद्धको अभियानलाई हामीले लामो समय चलाउने सोचेका थियौं। सडकमा उत्रिँदा ८/१० दिन त लम्बिन्छ कि जस्तो लाग्थ्यो। अभियान शान्तिपूर्ण बनाउनकै निम्ति हामीले प्रशासनमा निवेदन दिएका थियौं। दुई दिनमै यी सब कुरा भइहाल्छ भनेर कहाँ कल्पना गर्नू,ʼ उनी भन्छन्।

सरकार वा नेताहरूविरुद्ध नाराबाजी गर्ने, संरचनामा क्षति पुर्‍याउने, अपशब्द वा घृणित नारा लगाउने कुनै योजना नरहेको सबल सुनाउँछन्। ʻसडकमा उत्रिएर सरकार वा नेताविरुद्ध नाराबाजी गर्ने त हाम्रो योजना नै थिएन। हामीले त भ्रष्टाचारविरुद्ध सचेतना अभियान चलाउन सडकमा आएका थियौं,ʼ उनी भन्छन्।

भदौ २३ मा उनी बिहान ८ बजे माइतीघर पुगे। भर्खर युवाहरू आउँदै थिए। केही युवाहरूको समूहले सरकारको विरोधमा नाराबाजी गर्न सुरू गरेका थिए। त्यसो नगर्न हरसम्भव सम्झाएको सबल सम्झिन्छन्। ʻहामीले उनीहरूलाई त्यस्तो नगर्नुस् भनेर रोक्यौं। अभियानलाई शान्तिपूर्ण बनाउनुपर्छ भनिरह्यौं। तर, जति सम्झाउँदा पनि नाराबाजी हुन छोडेन,ʼ उनी थप्छन्।

माइतीघरबाट युवाहरू बानेश्वरतर्फ जान थालेपछि उनको मनमा डर पलायो। सबै चिज आफूहरूबाट फुत्किँदै गएको महसुस उनले गर्न थाले। ʻअगाडि बढ्दै जाँदा सबै जना झन्-झन् जोसिँदै गएको देखिन्थे। यति धेरै मान्छे आए, भ्रष्टाचारले सबैलाई आजित बनाएको रहेछ भनेर मनमा आइरहेको थियो,ʼ उनी भन्छन्। नयाँ बानेश्वरको 'बेरिकेड' तोडिन थालेपछि भने उनीहरू झसंग भए। माइतीघरमा लागेको डर उनले आँखा अगाडि देखिरहेका थिए। सम्झाउने/बुझाउने हरक्षण प्रयास जेनजी अगुवाहरूले गरे। केही नलागेपछि उनीहरूले सामाजिक सञ्जालबाट सबै जनालाई घर फर्किन आह्वान गरे।

ʻत्यसबेला म, पुरुषोत्तम यादव र सुदन गुरुङलगायत अगुवाहरू सँगै थियौं। सबै जना फर्कियौं। नयाँ बानेश्वरमा के भइरहेको थियो, हामी पूर्णतः अनविज्ञ थियौं। घर पुगेर सामाजिक सञ्जाल स्क्रोल गर्दा थाहा भयो, त्यहाँ त बबाल भइसकेको रहेछ,ʼ उनी सम्झिन्छन्।

आफ्ना उमेरकै विद्यार्थीहरूलाई गोली लागेर ज्यान गएको सुने-देखेपछि सबल पूरै विक्षिप्त बने। त्यसमाथि भदौ २४ मा भएको आगजनीले उनलाई मानसिक रूपमै प्रभावित बनायो। ʻसरकारी र व्यक्तिगत सम्पत्ति जलाउनु गलत थियो। हुनतः उर्लिएर आएको बाढीले कति क्षति पुर्‍याउँछ भन्ने आकलन गर्न सकिँदैन। सायद, २३ गतेको घटनाले मान्छेहरू बढी नै आक्रोशित थिए। तर जलाउनु, कुट्नु, मार्नु त गलत हो नि। त्यसलाई मैले सधैं गलत नै भन्छु,ʼ उनी भन्छन्।

जेनजी आन्दोलनले सुरक्षा निकायलाई उदांगो बनाइदिएको सबलको बुझाइ छ। राज्यको सुरक्षा निकाय र सुरक्षा प्रणाली कति कमजोर रहेछन् भन्ने कुराको प्रमाण त्यसले पुष्टि गरेको उनी सुनाउँछन्।

ʻहामीले त आकलन गर्न सकेनौं। कम्तीमा 'इन्टेलिजेन्स'हरूले त त्यो आकलन गर्नुपर्थ्यो। सुरक्षाले तयारी गर्नुपर्थ्यो। सुरक्षा रणनीति बनाउनुपर्थ्यो ?,ʼ सबल प्रश्न गर्छन्। भीडले के गर्छ भन्ने कुराको भविष्यवाणी कसैले गर्न नसक्ने उनको बुझाइ छ। ʻजसरी फायरिङ खोलिएको छ, त्यसरी गर्नुपर्थ्यो कि पर्दैनथ्यो, थाहा छैन। तर, सुरक्षा निकाय र प्रशासनले गर्नै नहुने कमजोरीहरू गरेजस्तो लाग्छ। भीड बढेमा प्रहरीले व्यवस्थापन गर्लान् भन्ने हामीलाई लागेको थियो। किनकि राज्यसँग त त्यो स्रोत साधन हुन्छ नि ? हामीसँग पो त्यो सुविधा थिएन,ʼ उनी भन्छन्। 

null

तोडफोड र आगजनीमा जेनजी अगुवाहरूको संलग्नता भने नरहेको उनी दाबी गर्छन्। केही जेनजी अगुवाहरूको त फुटेजहरू नै सार्वजनिक भइरहेका छन् नि भन्ने प्रश्नमा सबल थप्छन्, ʻजेनजी अगुवाहरुले आगजनी, तोडफोड गरेको जस्तो लाग्दैन। जहाँ, सुदन गुरुङ र हामी नेपालको विषय छ, त्यो म ठ्याक्कै भन्न सक्दिनँ। किनकि त्यसपछि उहाँहरू (सुदनलगायत) हामीबाट टाढिनुभयो,ʼ उनी भन्छन्। भदौ २३ मा सुदन भोलेन्टियरको रूपमा आए पनि त्यसपछिका गतिविधिबारे आफू अनविज्ञ रहेको उनी स्विकार्छन्। ʻबाँकी कुरा त छानबिन आयोग पनि बनेको छ नि त्यसले केही पत्ता लगाउला कि,ʼ उनी थप्छन्।

जेनजी अगुवाहरू नदेखिरहेका त्यस परिस्थितिमा सुदनले लिएको नेतृत्व भने तारिफयोग्य रहेको सबलको बुझाइ छ। ʻ२४ गतेपछि सुदन गुरुङले जेनजी आन्दोलनलाई ओभरट्याक गरेकै हुन्। तर, जेनजीको आन्दोलन नेतृत्वविहीन बनिरहँदा उनको अगुवाइलाई मैले नराम्रो मानेको छैन। किनकि ममा त्यसखालको लिडरसिपको विकास भइसकेको छैन। सायद म सक्दिनथे पनि होला,ʼ उनी भन्छन्।

चुनावी सरकारले चुनावमात्रै गराइदिए हुन्थ्यो

डिस्कोर्डमा बहुमत भोट पाएर सुशीला कार्की प्रधानमन्त्री बनेको कुरामा सबल सहमत छैनन्। जेनजीहरूबीच कार्कीलाई प्रधानमन्त्री बनाउने विषय ʻफाइनलʼभएपछि मात्रै डिस्कर्टमा नोमिनेशन गरिएको उनको दाबी छ। कार्कीलाई प्रधानमन्त्री बनाउनुपर्ने दुई कारणबारे सबल भन्छन्, ʻपहिलो त उहाँ अभियानमै आएर ऐक्यबद्धता जनाउनुभयो। जेनजीको पक्षमा बोल्नुभयो। दोस्रो, उहाँ पूर्वप्रधानन्यायाधीश भएको व्यक्ति, कानुनका ज्ञाता पनि। त्यसैले हामी सबैको जोड उहाँलाई प्रधानमन्त्री बनाउनुमा रह्यो।ʼ तर, कार्की प्रधानमन्त्री बन्नुमा अदृश्य शक्तिको हात पनि हुनसक्ने विषयलाई उनले नकारेनन्।

यो सरकारका तमाम कमजोरी भए पनि निर्वाचन गराइदिए मात्रै सफल मान्न सकिने उनी बताउँछन्। तर, प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगर्दा भने उनको ठूलो आपत्ति छ। ʻसरकारबारे अहिल्यै मूल्यांकन गर्न हतार नगरौं। मलाईचाहिँ कहाँनेर चित्त बुझेको छैन भने, यो सरकार त जेनजी आन्दोलनबाट बनेको हो नि। भ्रष्टाचारविरोधी अभियानबाट बनेको यो सरकारका मन्त्रीले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्थ्यो। यसमा मेरो ठूलो आपत्ति छ। नैतिक हिसाबले पनि उहाँहरूले त्यो गर्नुपर्छ,ʼ उनी भन्छन्। निर्वाचन गराउन नसके सरकारको औचित्य समाप्त हुने उनी बताउँछन्।

उदेक लाग्दा जेनजी

जेनजीहरूबीच देखिएको फुट उदेकलाग्दो भएको उनी स्विकार्छन्। जुन रफतारमा अभियान भयो, त्यस हिसाबले आन्दोलनका एजेण्डा हराउँदै गएको उनी सुनाउँछन्। तर, भ्रष्टाचारजस्तो चिज आजको भोलि निर्मूल पार्न नसकिने उनको बुझाइ छ।

ʻखै के कारणले जेनजीहरूमा फुट देखियो। मैले पनि केही बुझ्नै सकेको छैन। हाम्रो एजेण्डाहरू जहीँका त्यहीँ छन्। त्यसमा जेनजी अगुवाहरूबीच अझै गृहकार्यको खाँचो देख्छु। हुन त भ्रष्टाचारजस्तो विषय ४० दिनमा सकिने कुरा होइन। यो त ग्राउन्ड लेभलमै पुगेर जनचेतना फैलाउन जरुरी छ। यो सरकारको पनि कति नै दिन भयो र ? यति दिनमा भ्रष्टाचार त पक्कै अन्त्य हुँदैन,ʼ उनी भन्छन्।

जेनजी अगुवाहरूबीच राजनीति छिरेको उनको दाबी छ। ʻसबै मिलेर हाम्रो एजेण्डालाई अघि बढाउन पर्थ्यो। तर, जेनजीभित्र पनि राजनीति छिर्‍यो। त्यो एकदम गलत छ,ʼ उनी भन्छन्।

null

प्रत्यक्ष कार्यकारीले भ्रष्टाचार हट्छ ?

जेनजी आन्दोलनपछि सबैभन्दा ठूलो बहस प्रत्यक्ष कार्यकारीका विषयमा भइरहेको छ। यस विषयमा सबल प्रश्न गर्छन्, ʻप्रत्यक्ष कार्यकारीले भ्रष्टाचार हट्छ त ? व्यवस्थाले मात्रै पक्कै हट्दैन। जुनसुकै व्यवस्था होस्, त्यो व्यवस्थामा भ्रष्टाचार नहोस्। आम मानिसको पहुँच सरकारसँग सजिलै होस्। त्यो व्यवस्था विश्वासिलो होस्।' 

आगामी निर्वाचनमा पुराना दलहरू पहिलेजस्तो आउन नसक्ने उनी बताउँछन्। उनलाई लाग्छ, चुनावले नयाँ पिँढीलाई पनि राज्य संयन्त्रमा ल्याउनेछ। ʻपुराना दलहरू पहिले जसरी आउँथे, त्यसरी त आउन सक्दैन। चुनावबाट नयाँ अनुहारहरू पक्कै आउँछन्,ʼउनी भन्छन्। तर, नेताहरूलाई सुध्रेर आउने ठूलो अवसर पनि रहेको उनको बुझाइ छ। ʻपुराना नेताहरू सुध्रेर आए भने त अवश्य भ्रष्टाचारको अन्त्य हुन्छ। उहाँहरूसँग देशव्यापी संगठन छ। उहाँहरूले म खाँदैखान्न भन्न सक्नुपर्‍यो। मैले कर्मचारी, पुलिसलाई भ्रष्टाचार गर्न दिन्न भनेर अडान लिन सक्नुपर्‍यो नि। त्यसका लागि त नेता आफैं सुध्रिनपर्‍यो नि?,ʼ उनी भन्छन्।

जेनजीले नेताहरूलाई जेल हाल्न खोजेका हुन् ?

यसको जवाफ दिने निकाय छानबिन आयोग रहेको सबल बताउँछन्। छानबिनमा दोषी देखिए कारबाहीका लागि नेतामात्र होइनन्, जेनजीहरू पनि तयार हुनुपर्ने उनको बुझाइ छ। ʻआयोग त्यसैका लागि बनेको छ। त्यसले छानबिन गर्छ। छानबिनमा दोषी देखिएपछि त नेताहरू होऊन् कि जेनजी, सबै कारबाहीको भागिदार हुनुपर्छ। संविधान र कानुनभन्दा माथि कोही छैनन्,ʼ उनी भन्छन्।

अन्त्यमा सबल भन्छन्, ʻराजनीतिमा कसैलाई पनि आदर्श मान्नु हुँदैन। आदर्श मानेरै सायद नेपालको अवस्था यस्तो भएको हो। नेताहरूलाई कार्यकर्ताहरूले आलोचना गर्नै नसक्ने। तेरो यो काम गलत भयो भनेर भन्नै नसक्ने। उनीहरूको जे कामलाई पनि राम्रो भनिदिनेजस्ता कार्यले हाम्रो व्यवस्था कमजोर भएको हो। हाम्रो जस्तो देशमा निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्नुपर्छ। सबै कुरा सरकारले मात्र गर्न सक्दैन। अहिले पनि नेपालीलाई रोजगारी दिने भनेकै निजी क्षेत्र नै हुन्।ʼ


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.