एनपीएल : डे-नाइट खेलका लागि क्रिकेट प्रेमी उत्साहित

पहिलोपटक फ्लड लाइट र प्यारफिटको अनुभव लिन पाइने

एनपीएल : डे-नाइट खेलका लागि क्रिकेट प्रेमी उत्साहित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण मंसिर १ गतेबाट सुरु हुँदैछ। पहिलो संस्करण भव्यताका साथ सकिएको एनपीएल, दोस्रो संस्करणको पूर्वसन्ध्यामा छ। यतिबेला नेपाल क्रिकेट संघ (क्यान)को चटारो उत्कर्षमा छ। प्रतियोगिता सुरु हुन २ दिनमात्र बाँकी हुँदा यसपटक एनपीएल केही फरक अनुभवसहित नेपाली समर्थकमाझ आउँदैछ।

नेपाली क्रिकेटको ‘घर’ भनेर चिनिने त्रिवी क्रिकेट मैदानमा नेपाली समर्थकमाझ नेपाली खेलाडीले ‘डे-नाइट’ खेलको अनुभव लिनेछन्। क्यानले अघिल्लो ६ दिनको टिकट बिक्री खुला गरिसकेको छ। जसमा पहिलो दिनको टिकेट ‘सोल्ड आउट’ भइसकेको छ।

पहिलो संस्करण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको त्रिवी मैदानमा भएको थियो, यसवर्ष त्रिवी रंगशालामा हुनेछ। केही नयाँ प्रयोगसहित नेपाली समर्थकको दिलमा बसेको खेल क्रिकेटको उत्साह पुनः फर्किने छ। नेपाली दर्शकले पहिलोपटक आफ्नो घरेलु मैदानमा फ्लड लाइटको अनुभवसहितको क्रिकेट हेर्नेछन्। एनपीएलको दोस्रो संस्करणमा आउने ठूला नाम चलेका विदेशी खेलाडी यस संस्करणको ‘सुनमा सुगन्ध’ बन्नेछन्।

प्रतियोगिता सुरु हुनु अगाडि फ्लडलाइटको काम सकिने नसकिने दोधारमा थियो। क्यानले सहरी विकास मन्त्रालयसँगको समन्वयमा यो कार्य पूरा गरेको हो। गत बिहीबार मात्रै फ्लडलाइट जडानको काम पूरा भएपछि प्राविधिक पक्षबाट यसको प्रयोगका लागि नेपाल क्रिकेट संघलाई ‘ग्रीन सिग्नल’ मिलेको छ।

क्यानका सचिव पारस खड्काले फ्लडलाइट तयार भएको र प्राविधिक टिमले यसलाई विश्वास देखाएपछि सोही अनुसारको खेलतालिका सार्वजनिक गरेको बताए। ‘खेलतालिका सार्वजनिक गर्न केही ढिलाइ भयो। जसका कारण फ्लडलाइट नै थियो। फ्लड लाइटको ब्याकअप जेनेरेटरबाट जडान भएको छ। बत्ती जाँदा पनि ब्याकअप जेनरेटरबाट हुने भएकाले सञ्चालनमा समस्या हुँदैन,’ शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने।

सचिव खड्काले पहिलो सिजनको तरङ्गलाई निरन्तरता दिँदै दोस्रो संस्करण अझै भव्यताका साथ सुरुवात गर्ने लक्ष्य रहेको बताए। ‘पहिलो संस्करणमा एनपीएलले पाएको तरङ्गलाई निरन्तरता दिने क्रममा हामीले लगभग सम्पूर्ण तयारी पूरा गरिसकेका छौं,’ उनले भने।

क्यानको आम्दानी बढ्ने
क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले एनपीएल सिजन २ सुरु हुनु अगाडिको पत्रकार सम्मेलनमा आर्थिक प्रायोजन तथा विभिन्न पक्षबाट क्यानले दोस्रो संस्करणका लागि गरेको सम्झौताको बारेमा जानकारी दिए। क्यानले एनपीएलअन्तर्गत विभिन्न ब्राण्ड र प्रायोजकहरूसँग १५ करोड ३० देखि ४०लाख रुपैयाँ बराबरको सम्झौता गरेको उनले बताए।

८ वटा टिमहरूबाट ९ करोड रुपैयाँ संघले यस सिजनमा प्राप्त गर्नेछ। ओटिटी प्लेटफर्मबाट डिस होमसँग ५ करोड ३० लाख रुपैयाँ सम्झौता भएको छ। ‘नेपाल र विश्वकभरिबाट ओटीटी प्लेटलफर्मबाट ५ करोड ३० लाख घटाएर त्यसबाहेक बाहेक उठेको आम्दानीबाट ७१ प्रतिशत क्यानले र २९ प्रतिशत डिस होमले लिनेछ। नेपाली टेलिभिजनलाई एनपीएलको आधिकारिक स्वमित्वको न्युनतम मूल्य १ करोडबाट सुरु हुनेछ,’ क्यानका कोषाध्यक्ष पदम खड्काले भने। पहिलो संस्करणमा भने नेपाली टेलिभिजनमा एनपीएल प्रसारण भएको थिएन। यस वर्ष स्टार स्पोर्टस र नेपाली टेलिभिजन दुवैमा एनपीएल प्रसारण हुनेछ।

त्यसबाहेक टिकट बिक्रीबाट ८ देखि १२ करोडसम्म आम्दानी गर्ने लक्ष्य नेपाल क्रिकेट संघ (क्यान)ले लिएको छ।

पहिलो संस्करणको तुलनामा एनपीएलको चहलपहल ‘हाइप’ घटेको हो भन्ने प्रश्नमा सचिव पारस खड्काले भने, ‘दोस्रो संस्करणको एनपीएलका लागि हाम्रो विभिन्न कार्यक्रमहरू योजनामा रहेका थिए। तर, देशको विषम परिस्थितिका कारण कार्यक्रमहरू उत्तेजित नगर्ने र धेरै भिडमा नगर्ने भन्ने हिसाबले हामीले डिजिटल प्लेटफर्मबाट गर्‍यौं,’ उनले भने। 

null

सुरक्षा व्यवस्थामा कडाइ गरिने
नेपाली क्रिकेट विश्वमाझ प्रख्यात हुने एकमात्र कारण भनेको नेपाली समर्थक हुन्। नेपाली समर्थकलाई रातिमा खेल हेर्दा कतिको सुरक्षित महसुस होला भन्ने प्रश्नमा क्यानका सचिवले भने, ‘हामीले सकभर प्रयास गरेका छौं।’

पहिलो संस्करणको एनपीएलमा नेपाली समर्थकका लागि दुईवटा गेटबाट इन्ट्री र एक्जिट गरिएको थियो। यसपटक भने पाँचवटा गेटबाट समर्थकहरू आफ्नो जोन अनुसारको टिकट लिएर सोही गेटबाट इन्ट्री र एक्जिट गर्न मिल्ने सचिव खड्काले बताए। ‘यसपटक पाँचवटा गेट खुला हुनेछन्। टिकट लिएर समर्थकले आफ्नो जोनअनुसार जान मिल्ने व्यवस्था गराइने छ,’ उनले भने।

क्यानले दोस्रो संस्करणको एनपीएललाई आगामी वर्ष हुने महिला विश्वकपको ग्लोबल क्वालिफायर प्रतियोगिताको तयारी स्वरूप लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले एनपीएलमा क्यानको सुरक्षा व्यवस्था हेरिसकेपछि मात्रै प्रतियोगिताको टुंगो लगाउने सचिव खड्काले बताए। ‘एनपीएलको सुरक्षा व्यवस्था हेरेपछि मात्रै आइसिसीले नेपाललाई महिला विश्वकप ग्लोबल क्वालिफायरको प्रतियोगिता दिने-नदिने भन्ने टुङ्गो लाग्ने भएकाले हामीले सुरक्षालाई निकै ध्यानमा राखेका छौं। यस प्रतियोगितालाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्न सबैको सहयोग आवश्यक छ।’

खड्काले आफू खेलाडी हुँदा सन् २०१० मा नेपाली समर्थकले त्रिवि मैदानमा डुङ्गामुढा गर्दा दुई वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट वञ्चित हुनुपरेको भन्दै उदाहरणसमेत प्रस्तुत गरे। त्यसका लागि नेपाली समर्थकलाई संयम र सभ्यताका साथ मैदानमा खेल हेर्न उनको अनुरोध रह्यो।

क्रिकेट लिगमा सुरक्षाको अर्को पक्ष हो, स्पट फिक्सिङ र बेटिङको समस्या  यस बारेमा क्यानले नेपाल प्रहरीसँग समन्वय गरेर अगाडि बढेको सचिव पारस खड्काले बताए। ‘हामीले पहिलो संस्करणमा जस्तै सीआइबी र नेपाल प्रहरीसँग समन्वय गरेर चौबीसै घण्टा आठवटा फ्रेन्चाइज टिमसँग प्रहरीको इन्सपेक्टर सरहको एक अधिकारीले दैनिक रूपमा रिपोर्ट बुझाउनेछन्। क्यानको एन्टी करेक्सन युनिट र आइसीसीले पनि निगारी गर्नेछन्,’ उनले भने।

उनले बारम्बार दोहोर्‍याउँदै भने ‘हामी मैदानभित्रको सुरक्षाको प्रतिबन्ध गराउन सक्छौं। मैदान बाहिर हुने बेटिङलाई नेपाल क्रिकेट संघले प्रवर्द्धन गर्दैन।’ क्यानले दोस्रो संस्करणको एनपीएलका लागि ९ हजार ४५० को हाराहारीमा टिकट बिक्री गर्नेछ। यसको व्यवस्थापन क्यानले नै गर्ने भएकाले यसैबाट आगामी दिनमा टिकटबाट कति आम्दानी गर्न सकिन्छ भन्ने अनुमान नेपाल क्रिकेट संघले लगाउने सचिव खड्काले बताए। 

‘यस अगाडिको संस्करणमा मैदानमा कति टिकट बिक्री भयो भन्ने निर्क्योल गर्न सकिँदैनथ्यो। पहिलोपटक सिट क्षमता भएका कारण आगामी दिनहरूमा टिकटबाट कति आम्दानी गर्न सकिन्छ भन्ने जानकारी पनि हुनेछ,’ उनले भने।

पुरस्कार राशि कति?
एनपीएल दोस्रो संस्करणमा आउँदा पुरस्कार रकममा भने उतारचढाव भएको छैन। दोस्रो संस्करणमा पनि पुरस्कार रकम पहिलो संस्करणकै जति रहने बताइएको छ।

पहिलो संस्करणको विजेता टिमले १ करोड १० लाख, उपविजेताले ५० लाख, तेस्रो स्थानको टिमले २५ लाख र चौथो स्थानको टिमले १५ लाख रुपैँया प्राप्त गरेका थिए। सचिव खड्काले पुरस्कार रकममा कुनै पनि बढोत्तरी (वृद्धि) नभएको बताए। सचिव खड्काले खेलाडीलाई दिइने पुरस्कार रकम पनि वृद्धि नभएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.