मधेशका मुख्यमन्त्री यादवको शपथ ग्रहणस्थल विवादित, अघिल्ला चार मुख्यमन्त्रीले छुट्टाछुट्टै स्थानमा लिएका थिए शपथ
महोत्तरी : मुख्यमन्त्रीको शपथ ग्रहण गर्ने स्थलको ठोस आधार हुन सक्दा पछिल्लो समयमा मुख्यमन्त्रीका रूपमा शपथ लिएका सरोज यादव विवादमा परेका छन्।
गत साता बर्दिवासस्थित एक होटेलमा प्रदेश प्रमुखमार्फत पदीय शपथ लिएका नेकपा एमालेका नेता यादवको चौतर्फी आलोचना भएको हो। जसको खोजीनिती अहिले हरेकस्तरबाट भइरहेको छ।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। बाध्यात्मक परिस्थितिमा आफूले होटलमा शपथ ग्रहण गरेको मुख्यमन्त्री यादवले बताएका छन्। आन्दोलनरत पक्षसँग मुठभेड नहोस् भनेरै आफूले संयमता अपनाएर पदीय जिम्मेवारी ग्रहण गरेको मुख्यमन्त्री यादवले दाबी गरेका छन्।
उनले भने, ‘मेरो नियुक्ति आइतबार राति नै भइसकेको थियो। तर, आन्दोलनले गर्दा त्यहाँ शपथ खुवाउने वातावरण थिएन। त्यस राति अचानक प्रदेश प्रमुखज्यू बिरामी हुनुभयो। उहाँ बिरामी भएर काठमाडौं जान लाग्ने बेलामा मैले होटलमा शपथ खाएको थिएँ।’
मुख्यमन्त्रीले फलानो ठाउँमै शपथ खानुपर्ने कानुनी बाध्यता नरहेको कानुनविदहरू बताउँछन्। नेपालको संविधान २०७२ को धारा १७२ मा मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुख समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले मुख्यमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश कानुन बमोजिम पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। तर कहाँ (कुन स्थान/भवन) भन्ने कुरा संविधानले बाध्य नबनाएको एक अधिवक्ताले बताए। उनका अनुसार होटलमा, चौरमा वा कार्यालयमा यदि प्रदेश प्रमुख उपस्थित छन् भने शपथ प्रक्रियागत रूपमा सम्भव छ।
नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले विश्वासको मत लिन असफल भएपछि उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरिनु स्वाभाविक र संवैधानिक भएको ती अधिवक्ताले जिकिर गरेका छन्। त्यसैको झोकमा शपथको विवाद झिकेको उनले टिप्पणी गरेका छन्।
यसअघिका चारवटा मुख्यमन्त्रीले अलग-अलग स्थानमा प्रदेश प्रमुखसमक्ष शपथ ग्रहण गरेको पाइएको छ। जनता समाजवादी पार्टी नेपालबाट मधेशका पहिलो मुख्यमन्त्री बनेका लालबाबु राउतले चुरोट कारखानाको खेल मैदानमा शपथ ग्रहण गरेका थिए। त्यस्तै जसपाबाटै सरोजकुमार यादव मधेश प्रदेश भवन, जनमत पार्टीका सतिशकुमार सिंहले चुरोट फ्याक्ट्री भित्रको कबर्ड हलमा र जितेन्द्र प्रसाद सोनार (सोनल)ले प्रदेश प्रमुखको निवासमा शपथ लिएका छन्।
नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव मधेशको पाँचौ मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण लिएका हुन्। जसको सम्बन्धमा अहिले अदालतमा मुद्दा परेको छ।
प्रतिक्रिया दिनुहोस !