सिमरा दिनभर अशान्त

सिमरा दिनभर अशान्त
तस्बिर : दिवाकर भण्डारी

सिमरा : जेनजी युवा र राष्ट्रिय युवा संघका युवाबीचको विवादले बाराको सिमरा बुधबार दिनभर अशान्त बनेको छ। दुई समूहबीचको विवाद कुटपिटमा परिणत भएपछि सिमरा क्षेत्र दिनभर तनावग्रस्त बनेको हो।

जेनजी आन्दोलनमा भएको दमनविरुद्ध विरोध प्रदर्शन गर्न सडकमा उत्रिएका जेनजी युवा र राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन सिमरा विमानस्थल आउन लागेका नेकपा एमालेका नेताको स्वागतको तयारीमा रहेका युवा संघका कार्यकर्ताबीच विवाद भएको थियो। आफ्ना नेतालाई लक्षित गर्दै विरोध गर्न लागेको सूचना पाएपछि एमालेका स्थानीय नेता र युवा संघका युवाहरू जेनजी युवासँग संवाद गर्न गएका थिए। 

सो क्रममा दुई पक्षबीचको विवाद बढेपछि युवा संघका केही युवाले जेनजीका युवामाथि कुटपिट गरेका थिए। कुटपिटबाट जेनजीका केही युवाहरू घाइते भएका छन्। 

आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गर्दै जेनजी युवाले त्यसपछि प्रदर्शन थालेका थिए। प्रदर्शनमा क्रममा उनीहरूले सिमरा विमानस्थलसमेत घेराउ गर्दै तोडफोड गरेका थिए। हवाई मार्ग हुँदै सिमरा आउन लागेका एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतलाई रोक्न पुगेका जेनजी युवाहरूले विमानस्थलको प्रवेशद्वारसमेत भत्काएका थिए। 

सो क्रममा विमानस्थलभित्र रहेका सवारी साधनमा समेत क्षति पुगेको छ। विमानस्थलमा तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो। तोडफोडलगत्तै विमानस्थल बन्द गरिएको थियो। जसका कारण सिमरा आउन लागेका महासचिव पोखरेलसहितका एमालेका नेताहरू काठमाडौंम रोकिएका थिए। 

एमालेका नेताहरू रोक्न विमानस्थल पुगेका जेनजी युवाले त्यसपछि पथलैया-वीरगन्ज सडकखण्डको सिमरा चोक अवरुद्ध पारेका थिए। उनीहरूले पाँच घण्टा सडक अवरुद्ध पारे। उनीहरूले एमालेका नेताहरूको स्वागतका लागि राखिएको ब्यानरसमेत च्यातेका थिए। प्रदर्शनका कारण स्थिति तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालयले १२:३० बजेदेखि राति ८ बजेसम्म कर्फ्यु लगाएको थियो। कर्फ्युकाबीच पनि युवाहरूले दिनभर प्रदर्शन गरेका थिए। दिउँसो करिब १ बजेबाट बन्द गरिएको राजमार्ग साँझ ६ बजे भने खुलेको थियो।

कुटपिट गर्नेविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि जेनजी युवाले राजमार्ग छोडेका थिए। बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले कुटपिटमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न माग गर्दै जाहेरी परेको जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.