डिजिटल आन्दोलनका चुनौती

डिजिटल आन्दोलनका चुनौती

डिजिटल आन्दोलनले सत्तालाई चुनौती त दिन सक्छ तर स्थायी परिवर्तन ल्याउन संगठन, योजना र निरन्तरता अपरिहार्य हुन्छ।

२१ औं शताब्दीको सुरुआतसँगै सूचना–प्रविधिको तीव्र विस्तारले नागरिक आन्दोलनको स्वरूपलाई नै रूपान्तरण गरिदिएको छ। डिजिटल आन्दोलन नागरिकलाई अनलाइन माध्यमबाट नीतिगत तथा सामाजिक मुद्दाहरूमा आवाज उठाउने माध्यम बनेको छ। अरब स्प्रिङ, अकुपाई वाल स्ट्रेट, गेजी पार्क हुँदै नेपालको पछिल्लो जेन—जी आन्दोलनजस्ता अभियानहरूले यसको प्रभावशाली रूप देखाएका छन्।

अरब स्प्रिङ आन्दोलन  :  विश्वका धेरै मुलुकमा दशकौंसम्म चलिरहेको अधिनायकवाद, बेरोजगारी, भ्रष्टाचार र स्वतन्त्रताको अभावले जनतामा सत्तावादी शासन र शासकहरूप्रति वितृष्णा बढ्दै थियो। एउटै शासक दशकौंदेखि सत्तामा थिए (जस्तै, ट्युनिसियामा जिन एल अविदिन बेन अली, इजिप्टमा मोहम्मद होस्नी एल सैयद मुबारक। युवाहरू शिक्षित भए पनि रोजगारी कुनै अवसर थिएन। प्रेस स्वतन्त्रता र राजनीतिक जनसहभागिता लगभग शून्य थियो। प्रशासनमा भ्रष्टाचार चरम थियो। अधिनायकवादी शासन सत्ताले मानव अधिकारको दमित थियो। बेरोजगारी, महँगी, भ्रष्टाचारले नागरिकहरू आजित थिए।

यसै क्रममा १७ डिसेम्बर २०१० मा ट्युनिसियाको सिदी बौजिद सहरमा प्रहरीले बिनाअनुमति व्यापार गरेको कारण २६ वर्षीय सडक फलफूल व्यापारी मोहम्मद बुआजिजीको सामान खोसियो र अपमान ग र्‍यो। निराश भएर उनले आफैंलाई आगो लगाएर आत्मदाह गरे। सुरुआती रूपमा स्थानीय प्रदर्शन भए पनि केही हप्तामै देशव्यापी आन्दोलन बन्यो। एक सामान्य युवाको आत्मदाहको पिडाले करोडौं जनताको आत्मा हल्लायो। उक्त घटनाले जनआक्रोश विस्फोट ग र्‍यो, त्यहीँबाट आन्दोलन सुरु भयो। युवाले सोसल मिडिया, फेसबुक, ट्विटर, युट्युबबाट भिडियो, फोटो र प्रत्यक्ष सन्देशमार्फत आन्दोलनको सन्देश अरू देशसम्म पु र्‍याए। यसरी आन्दोलन विश्वभर फैलियो। यही आन्दोलनलाई डिजिटल युगको पहिलो जनविद्रोह अर्थात् अरब स्प्रिङ भनिन्छ।

अकुपाई वाल स्ट्रेट आन्दोलन  :  विश्वव्यापी आर्थिक–सामाजिक विरोध आन्दोलनको रूपमा अकुपाई वाल स्ट्रेट आन्दोलनलाई लिइन्छ, जुन सन् २०११ मा सुरु भएको थियो। यसको मूल नारा थियो, हामी ९९ प्रतिशत छौं। अर्थात् धनी १ प्रतिशत र बाँकी जनसंख्याबीचको आर्थिक असमानताको विरोध। सन् २००८ को विश्वव्यापी आर्थिक संकटपछि अमेरिकामा लाखौं मानिसले रोजगारी, घर र भविष्यप्रतिको विश्वास गुमाए।

तर सरकारले आमनागरिकलाई भन्दा ठूला बैंक र वित्तीय संस्थाहरूलाई मात्र सहयोग वितरण ग र्‍यो, जसले साधारण नागरिक झनै आक्रोशित बन्न पुगे। यसै क्रममा क्यानडाको सञ्चार समूह, एडबस्टरले २०११ मा एउटा विचार सार्वजनिक ग र्‍यो। ‘वाल स्ट्रिट कब्जा गरौं’ भन्ने नारा प्रतिपादन ग र्‍यो। आन्दोलन लस एन्जलस, शिकागो, बोस्टन, सन फ्रान्सिस्को सहरहरूमा फैलियो। युवा पुस्ताले सोसल मिडिया फेसबुक, ट्विटर, युट्युबबाट सन्देश विश्वभर पु र्‍याए। वाल स्ट्रिट कब्जा आन्दोलन आर्थिक असमानता, भ्रष्ट प्रणाली र पैसाको राजनीतिविरुद्ध जनताको डिजिटल–युगको अर्को क्रान्ति थियो।

गेजी पार्क आन्दोलन  :  गेजी पार्क आन्दोलन सन् २०१३ मा इस्तानबुलको ताक्सिम स्क्वायर नजिकको गेजी पार्कबाट सुरु भएको आन्दोलन हो। जुन छोटो समयमा एक पर्यावरणीय विरोधबाट राष्ट्रिय राजनीतिक आन्दोलनको रूप लियो। गेजी पार्क इस्तानबुलको केन्द्रमा रहेको सानो हरियाली पार्क हो। सरकारले उक्त पार्क हटाएर त्यस स्थानमा सपिङ मल र ऐतिहासिक सैनिक ब्यारेकको पुनर्निर्माण गर्ने योजना बनायो।

केही पर्यावरणवादी समर्थकले सरकारको उक्त निर्णय विरुद्धमा २०१३ मे महिनामा पार्क बचाउन सानो प्रदर्शन सुरु गरे। सुरक्षकर्मीले प्रदर्शनकारीलाई बलपूर्वक हटाए। शान्तिपूर्ण प्रदर्शनमा अत्यधिक बल प्रयोग भएपछि जनआक्रोश बढ्यो र आन्दोलनको रूप लियो। आन्दोलन अंकारा, इजमिर, अन्ताल्या हँुदै ८० भन्दा बढी सहरमा फैलियो। आन्दोलनमा मुख्यत :  ट्विटरमा रेसिस्ट गेजी पार्कको ट्रेन्ड भयो।

इनफ इज इनफ आन्दोलन  :  नेपालमा इनफ इज इनफ आन्दोलन सन् २०२० मा सुरु भयो। युवाप्रेरित नागरिक उक्त आन्दोलन तत्कालीन सरकारले कोभिड– १९ महामारीको व्यवस्थापनमा देखाएको लापरबाही, गैरजवाफदेहीपन र भ्रष्टाचारविरुद्ध केन्द्रित थियो। जसलाई युवाले सामाजिक सञ्जालमार्फत इनफ इज इनफ भन्ने नारा दिए— जसको अर्थ ‘अब अति भयो, अब सकिँदैन’ भन्ने हो। जसले नेपालमा युवाको नागरिक सचेतना, डिजिटल आन्दोलन र जनदबाबको शक्ति देखायो।

अकुपाई बालुवाटार  :  महिलाको बलात्कार र प्रहरीको दुव्र्यवहारको घटनापछि नागरिक, अधिकारकर्मी र युवाहरू मिलेर प्रधानमन्त्री निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना सुरु गरे। त्यसैले नाम दिइयो, ‘अकुपाई बालुवाटार’। त्यस आन्दोलन सामाजिक सञ्जाल (विशेषगरी फेसबुक र टिवटर)मार्फत फैलियो। त्यसैले यसलाई नेपालको पहिलो सामाजिक मिडिया–प्रेरित आन्दोलन पनि भनिन्छ। उक्त आन्दोलनमा कलाकार, पत्रकार, मानवअधिकारकर्मी र साधारण नागरिक सबै थिए। अकुपाई बालुवाटार शान्तिपूर्ण नागरिक आन्दोलन थियो, जसले महिला हिंसाविरुद्ध न्याय र उत्तरदायित्वको माग गर्दै राज्यलाई दबाब दिएको थियो।

जेन–जी आन्दोलन  :  भदौ २३–२४ को जेन–जी आन्दोलन सामाजिक, राजनीतिक र आर्थिक असन्तोषको संयुक्त परिणाम हो। पुरानो राजनीतिक संस्कृतिप्रति गहिरो निराशा व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत संगठित रूपमा प्रतिरोध जनाएको सबैभन्दा ठूलो आन्दोलन हो। भ्रष्टाचार, अनियमितता र ठूला मुद्दामा राज्यको कमजोर प्रतिक्रियाबाट विशेषगरी युवापुस्ता निराशित र आक्रोशित थियो। सरकार र राजनीतिक दलहरू युवाका मागप्रति उदासीन देखिनुले ‘अब परिवर्तन चाहिन्छ’ भन्ने भावना गहिरिँदै गयो। बेरोजगारी र वैदेशिक श्रम प्रवासनमा निर्भरताले जेन–जी पुस्तामा निराशा बढायो। आफ्नो श्रम, सीप र शिक्षाको मूल्यांकन नहुने अवस्थामा उनीहरूले विरोधमार्फत असन्तोष व्यक्त गरे। सामाजिक सञ्जालहरूले सूचना, भावना र प्रतिरोधलाई एकैसाथ गतिशील बनाए र छोटो समयमै ठूलो आन्दोलन भयो।

चुनौतीहरू  :  सामाजिक सञ्जालले २१औं शताब्दीका आन्दोलनहरूलाई नयाँ स्वरूप दिएको छ। ट्विटर, फेसबुक र युट्युबजस्ता माध्यमले जनताको आवाज छिटो र ठूलो संख्यामा फैलाउन सहयोग गरेका छन्। नागरिकलाई सशक्त बनाउँदै राज्यको जवाफदेहीपन माग गर्ने नयाँ अभ्यासको सुरुवात गरेका छन्। यस्ता आन्दोलनहरूले सार्वजनिक नीति, न्याय र पारदर्शितासँग सम्बन्धित प्रश्नहरूलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएका छन्। डिजिटल आन्दोलनहरू लिडरलेस र स्वत : स्फूर्त छन्। तर ती आन्दोलनमा दीर्घकालीन संस्थागत ढाँचा वा नेतृत्व कमजोर देखिएको छ।

डिजिटल आन्दोलनहरू प्राय :  अस्थिर र असंगठित बनेका छन्। डिजिटल आन्दोलने जन्माएका नवीन समूहहरू र सम्भावनाहरू द्रुत विघटन भएका छन्। प्रोफेसर जेइनेप टुफेक्चीका अनुसार डिजिटल आन्दोलनहरूमा दुई भिन्न पक्ष छन्, ‘सिग्नल’ र ‘क्षमता’। उनका अनुसार ती दुवै आवश्यक छन् तर डिजिटल युगमा प्राय :  सिग्नल पक्ष बलियो देखिएको छ भने क्षमता पक्ष कमजोर। उदाहरणका लागि ट्विटरमा ट्रेन्डिङ ह्सट्याग, लाखौं मानिसको प्रदर्शन वा भाइरल भिडियोहरू सिग्नल हुन्। तर सिग्नल मात्रले दीर्घकालीन परिणाम ल्याउन सक्दैन। टुफेक्चीका अनुसार ‘क्षमता’ले आन्दोलनको संगठनात्मक बल, रणनीति, नेतृत्व र दीर्घकालीन प्रतिबद्धता जनाउँछ। क्षमताले मात्र सुधार र संस्थागत परिवर्तन सम्भव बनाउँछ।

अत :  विश्वभरका पछिल्ला डिजिटल आन्दोलनहरू प्राय :  ‘सिग्नल’मा सफल र ‘क्षमता’मा कमजोर देखिएका छन्। जेन–जी आन्दोलनले नेपालमा केही महत्त्वपूर्ण परिवर्तन ल्याएको छ। राजनीतिक जागरण बढेको छ, दलभन्दा मुद्दालाई प्राथमिकता दिन थालिएको छ। पुरानो नेतृत्वको अलोकप्रियता र गैरजिम्मेवारीपनलाई प्रश्न गर्ने संस्कृतिको विकास भएको छ। यद्यपि संगठनात्मक कमजोरी, नेतृत्व अभाव, सतही अनलाइन सहभागिता, गलत सूचना, उपलब्धिको हाइज्याक र डिजिटल ध्रुवीकरणले आन्दोलनप्रति नै प्रश्न खडा हुन थालेको छ। जेन—जी आन्दोलनले आवाज उठाउन मद्दत गरे पनि नेतृत्व, संगठन, स्पष्ट रणनीति र दीर्घकालीन योजना नभएकाले मुलुकले झन् संकट झेल्दै छ।

अर्कोतर्फ, जेन–जीको ऊर्जा भौतिक आन्दोलन वा दीर्घकालीन नीति दबाबमा परिणत हुन नसक्दा परिवर्तन अस्थायी बन्ने खतरा बढेको छ। त्यसैले डिजिटल आन्दोलनहरू ‘स्ट्रक्चरलेस प्रोटेस्ट’हरूको माध्यममात्र बनेका छन्, ‘आवाज बलियो तर आधार कमजोर।’ प्राध्यापक क्यास आर सनस्टिनले सामाजिक सञ्जालका एल्गोरिदमले प्रयोगकर्तालाई ‘इको चेम्बर’ बनाएको कारण अभियानकर्ता बीचमै विचारको विभाजन, भ्रम र अविश्वास बढेको बताउँछन्। सनस्टिनका अनुसार एल्गोरिदमले प्रसारण गरेका गलत सूचना, ध्रुवीकरण र नियन्त्रणले आन्दोलन कमजोर र विश्वसनीयता गुम्दै जाने हुन्छ।

डिजिटल आन्दोलनहरूमा संगठन र दीर्घकालीन रणनीतिक योजनाको अभाव देखिएको छ। दोस्रो, सतही सहभागिता जसमा मानिसले लाइक वा सेयर गरेर मात्रै सक्रियता देखाउँछन्। जसको सडकमा नगण्य उपस्थिति देखिन्छ। यसले आन्दोलनको वास्तविक शक्ति घटाउँछ। अत डिजिटल आन्दोलनहरू ‘मोबिलाइजेसनमा सफल तर संस्थागत रूपान्तरणमा कमजोर’ छन्। यसको अर्थ, अनलाइन अभियानहरूले समाजमा चेतना र बहसको लहर त ल्याउँछन् तर ठोस नीतिगत परिवर्तन गर्न अझै चुनौतीपूर्ण छ।

अन्त्यमा  :  सामाजिक सञ्जालले आन्दोलनलाई देखिने (भिजिवल) बनाउँछ तर परिवर्तनकारी बनाउँदैन। डिजिटल आन्दोलनले सत्तालाई चुनौती त दिन सक्छ तर स्थायी परिवर्तन ल्याउन संगठन, योजना र निरन्तरता अपरिहार्य हुन्छ। यसर्थ, वास्तविक परिवर्तन र दीर्घकालीन परिणामका लागि अनलाइन उत्साहसँगै अफलाइन संगठन, प्रशिक्षण र नीति–संवादको संयोजन आवश्यक छ। भविष्यका आन्दोलनहरू त्यही हुनेछन्, जसले सिग्नलको उज्यालो र क्षमताको आधार दुवै मिलाएर स्थायी परिवर्तन ल्याउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.