लिखुको २ हजार रोपनी सार्वजनिक जग्गा पहिचान
नुवाकोट : नुवाकोटको लिखु गाउँपालिकाले पहिलो पटक सार्वजनिक जग्गाको रेखांकन कार्य सुरु गरेको छ। लिखु गाउँपालिका-६ थानसिङस्थित लिखु खोला किनाराको सार्वजनिक जग्गा नापजाँच गरी किला गाड्ने कार्य गरेको हो। एक सातासम्म गरिएको अनुगमन तथा नापजाँचबाट सार्वजनिक जग्गाको पहिचान गरिएको स्थानीयवासी विक्रम आचार्यले जानकारी दिए।
थानसिङ हुँदै बहने लिखु खोला किनारामा रहेको सार्वजनिक जग्गाको सोमबार नापजाँच तथा किला गाडी छुट्टाउने कार्य सम्पन्न भएको छ। लिखु गाउँपालिकाको चालु आव २०८२/०८३ को कार्यक्रम अनुसार लिखु खोलाको किनारमा रहेको सार्वजनिक जग्गालाई व्यवस्थित र सुरक्षित गर्न उद्देश्यसहित उक्त अभियान सम्पन्न भएको लिखु गाउँपालिकाले जनाएको छ।
उक्त कार्यका लागि लिखु गाउँपालिका अध्यक्ष धु्रर्ब श्रेष्ठ, उपाध्यक्ष शुभदा अधिकारी उप्रेती, वडाध्यक्ष सुमन भण्डारी, कार्यपालिका सदस्यहरू, वडाका जनप्रतिनिधिहरू तथा स्थानीय युवा तथा सामाजिक क्षेत्रका अगुवाहरूको सक्रिय भूमिका रहेको थियो।
सर्वसाधारणले खनजोत गरिरहेको लिखु खोला किनारामा दुई हजार रोपनी सार्वजनिक जग्गा छुट्याइएको र पिल्लर गाड्ने कार्यसमेत सुरु गरिएको अर्का युवा प्रकाश डंगोलले बताए।
सार्वजनिक जग्गा पहिचान, सीमांकन र दीर्घकालीन रूपमा सुरक्षित गर्न नापजाँच–किला गाड्ने कार्य गरिएको हो। उक्त योजनाको कार्यान्वयनको क्रममा सहयोग र समन्वय गर्ने सँधियार जग्गाधनीहरूप्रति पनि लिखु गाउँपालिकाले आभार व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस !