उपत्यकामा इँटा उद्योगबाट निस्कने धुवाँ घातक

उपत्यकामा इँटा उद्योगबाट निस्कने धुवाँ घातक

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को गाइडलाइनले प्रतिकिलोमिटर हावामा ५ माइक्रोग्रामभन्दा धेरै पीएम २.५ को मात्रा हुनुहुँदैन भन्छ। तर, इँटा उद्योग वरिपरि एक किलोमिटर क्षेत्रभित्र १५१ माइक्रोग्राम पीएम २.५ पाइएको एक अध्ययनले देखाएको छ। यसले वायुमण्डलको अवस्था अत्यन्त नाजुक बनाएको अध्ययनको निष्कर्ष छ। 

वायु प्रदूषणविज्ञ भूपेन्द्र दासको समूहले हालै प्रकाशन गरेको अध्ययनले उपत्यकाका इँटाभट्टा वरिपरि अत्यन्तै धेरै प्रदूषण भएको जनाएको छ। यसले काठमाडौंमा वायु प्रदूषण गराउनुमा ठूलो योगदान पुर्‍याएको अध्ययनले पुष्टि गरेको दासले बताए। ‘इँटाभट्टाको एक किलोमिटर वरिपरि डब्लूएचओले तोकेको भन्दा तीसौं गुणा बढी प्रदूषण पाइयो’, दासले भने, ‘डब्लूएचओको वार्षिक गाइडलाइनअनुसार प्रतिकिलोमिटर हावामा ५ माइक्रोग्राम पीएम २.५ हुनुपर्छ।’

उनका अनुसार उक्त नम्बर स्वास्थ्यका लागि अत्यन्त घातक हुने बताए। प्रायजसो नोभेम्बरको अन्त्यतिरबाट इँटा उद्योगहरू सञ्चालन हुन थाल्छन्। र करिब जुनसम्म चल्छ। तर भट्टा सञ्चालन नभएको बेलामा (पानी पर्ने सिजनमा) प्रतिकिलोमिटर ८ माइक्रोग्राम पीएम २.५ पाइएको जनाउँदै उनले भने, ‘अब वायुमण्डलको अवस्था खराब हुने बेला आयो।’ चिसो याममा झन् धेरै प्रदूषण बढ्ने गर्छ। यतिबेला हावा हुरी कम चल्ने हुन्छ। त्यसैले वायुमण्डलको तल्लो सतह स्थिर हुन्छ। त्यहाँ धुलोको कणहरू अड्केर बस्ने भएकाले प्रदूषण झन् बढ्ने हुन्छ। 

अध्ययनका अनुसार इँटाभट्टाबाट निस्कने प्रदूषणका कारण मात्रै सन् २०१६ मा ११ हजार ६ सय १९ जनाको मृत्यु भएको थियो। त्यो संख्या अहिले बढेर गएको छ। समग्र रूपमा हेर्दा नेपालमा वायु प्रदूषणका कारण प्रत्येक वर्ष कम्तीमा ४७ देखि ४८ हजार जनाको मृत्यु हुने गरेको अध्ययनहरूले देखाएको उनले जनाए।

भट्टाबाटै दुई हजार टन बढी कार्बन उत्सर्जन
अध्ययनका अनुसार सन् २०२३ मा उपत्यकाका इँटा उद्योगमा १ लाख ३० हजार मेट्रिकटन इन्धन खपत भएको थियो। ५४ हजार ३ सय २६ मेट्रिकटन कोइला, काठको धुलो ७३ हजार मेट्रिकटन, १२ सय मेट्रिकटन लप्सीको गेडा, १४ सय मेट्रिकटन उखुको अवशेष प्रयोग भएको थियो। त्यसबाट करिब दुई हजार टन पीएम २.५ उत्सर्जन भएको छ। त्यसैगरी कार्बनमोनोअक्साइड जस्तो घातक ग्याँस १३ सय टन उत्सर्जन भएको थियो। नेपालमा उत्सर्जन हुने प्रदूषणको करिब २० प्रतिशत इँटा उद्योगबाट हुने गरेको अध्ययनले जनाएको छ। 

उपत्यकामा विशेषगरी यातायातका साधन, इँटा उद्योग, कलकारखाना, खेतबारीका कामबाट निस्कने अवशेष, फोहोर जलाउने अभ्यास, निर्माणका काम तथा डढेलोको कारण प्रदूषण बढ्छ। सरकारले तदारूकताका साथ प्रदूषण रोकथाम तथा नियन्त्रणमा ध्यान दिने हो भने प्रदूषण नियन्त्रित हुने अध्ययनले बताएको छ।

भट्टा वरिपरि एकोहोरो स्वास्थ्य समस्या

महालक्ष्मी नगरपालिकाको सानागाउँ बस्ने विमला श्रेष्ठ (५८) घर नजिकै चल्ने इँटाभट्टाबाट निस्कने धुवाँको असर के हुन्छ खासै मतलव गर्दिनन्। तर भट्टाबाट निस्किने धुवाँले धोएर सुकाएका सेता कपडा कालो हुने गरेको उनले सुनाइन्। वर्षौदेखि सानागाउँका स्थानीयले उनले जस्तै समस्या भोगिरहेका छन्। बेलाबेलामा भट्टाले समस्या दिएको बारेमा छरछिमेकमा छलफल भए पनि ती भट्टाहरू बस्तीबाट हटिसकेका छैनन्। पाँच, सातवटा भट्टा अझै सञ्चालनमा रहेको उनले सुनाइन्। स्थानीयमा रुघाखोकीका समस्या दोहारिइरहने देखिएको उनले सुनाइन्। भट्टा वरिपरिका मानिसमा बारम्बार श्वासप्रश्वास, वाकवाकी लाग्ने, दम तथा एकोहोरो खोकी लाग्नेलगायतका स्वास्थ्य समस्या देखिएको अध्ययनले जनाएको छ। भट्टाबाट निस्किएको प्रदूषणका कारण कामदारहरूमा पनि बारम्बार श्वासप्रश्वास तथा खोकीको समस्या दोहोरिरहने देखिएको छ। 

भट्टा वरिपरिका महिला पुरुषभन्दा प्रदूषणको मारमा दोब्बर परेको अध्ययनले बताउँछ। महिलामा इँटाभट्टाबाट आउने प्रदूषणका साथै घरायसी कामकाजका सिलसिलामा निस्किने प्रदूषणबाट थप मारमा परेको दास बताउँछन्। उक्त अध्ययन चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र भक्तपुरमा अवस्थित इँटा उद्योगहरूमा गरिएको हो।

९० मा ७५ दिन काठमाडौं प्रदूषित : इसिमोड
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले प्रकाशन गरेको एक प्रतिवेदनअनुसार गत अप्रिल महिनामा काठमाडौंको वायु प्रदूषणको अवस्था अत्यन्त भयावह थियो। त्यस समयमा काठमाडौं ९० दिनमा ७५ दिन अत्यन्त घातक वायु प्रदूषणमा निस्सासिएको थियो। त्यतिबेला मुख्यगरी डढेलोका कारण प्रदूषण थुप्रिएको थियो। विशेषगरी पश्चिमी जिल्लाहरूमा खडेरी थियो। हावाको गुणस्तर अत्यन्त खतरामा पुगेको थियो। उक्त रिपोर्टमा उल्लेख भएअनुसार पाटन बहुमुखी क्याम्पसका सहप्राध्यापक नारायणबाबु धितालले सन् २०१९ मा मात्रै पीएम २.५ का कारण ४८ हजार जना मानिसको मृत्यु भएको बताएका छन्।

के हो पीए २.५ तथा पीएम १०
प्रदूषणका कणका साइज (पीएम २.५ र पीएम १०) मा मापन गरिन्छ। पीएम २.५ को साइज कपालभन्दा तीसौं गुणा सानो हुन्छ। जुन हामीले फेरेको श्वास, नाक, आँखा र रक्तकोषिकाबाट शरीरमा पुग्छ। पीएम १० को आकार पीएम २.५ भन्दा ठूलो हुन्छ। यी दुवैले स्वास्थ्यमा अत्यन्त नराम्रो असर गर्छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.