तातोपानी नाकाबाट आयात सुस्त, १७ प्रतिशत मात्रै राजस्व संकलन
सिन्धुपाल्चोक : चीनसँगको उत्तरी नाका तातोपानीबाट चालु आर्थिक वर्षको चार महिनामा लक्ष्यभन्दा न्यून राजस्व संकलन भएको छ।
साउनदेखि कात्तिक मसान्तसम्म ४ अर्ब २८ करोड ७८ लाख ७९ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको हो।
नाकाबाट चालु वर्ष २४ अर्ब ४७ करोड ८५ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन हुने लक्ष्य लिइएको थियो। हालसम्म १७.५२ प्रतिशत मात्रै राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुँडालले जानकारी दिए। चीनले कन्टेनर आवतजावतमा कडाइ गरेको र पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुँदा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको उनले बताए।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनमा ८५ करोड ९९ लाख २८ हजार, भदौमा ७९ करोड १८ लाख ९ हजार, असोजमा १ अर्ब ४३ करोड ५६ हजार र कात्तिकमा १ अर्ब २० करोड ६० लाख ८८ हजार रूपैयाँ राजस्व संकलन भएको हो। कुनैबेला पाँच खर्ब राजस्व संकलन गरेर मुलुकको अर्थतन्त्रमा महŒवपूर्ण टेवा पुर्याएको तातोपानी भन्सार कार्यालयले २०७२ को भूकम्पपछि कम राजस्व संकलन गर्दै आइरहेको छ।
‘केरुङ नाका सञ्चालन हुँदा पनि तातोपानी नाकाबाट दैनिक २५ देखि ३० कन्टेनर सामग्री भित्रिने गरेको थियो,’ प्रमुख भन्सार अधिकृत चुँडाल भन्छन्, ‘अहिले उक्त नाका बन्द छ तर तातोपानी नाकाबाट सामान भित्रिने कन्टेनर बढ्नुको सट्टा घटेको छ।’ उनले सहज रूपमा सामान आयतका लागि चीनस्थित महावाणिज्य दूतावास, भन्सार विभाग, प्रमुख जिल्ला अधिकारी तथा चाइनाको समकक्षीहरूसँग कुराकानी भइरहेको बताए।
‘अहिले एकमात्र विकल्पको रूपमा रहेको तातोपानी नाकाबाट सहज रूपमा सामाग्री आयात गर्नका लागि हामीले चीन र नेपाल दुबैतर्फका सरकारसँग कुराकानी गरिरहेका छौं,’ उनले भने, ‘तर परिणम भने देखिएको छैन। सामान पठाउन चीनले त्यति चासो दिएको देखिँदैन।’ तिहारलगत्तै केही दिन चीनबाट सामान आएको तर पछिल्लो समय न्यून मात्रामा मात्र मालवस्तु भरिएका कन्टेनरहरू आउने गरेको प्रमुख भन्सार अधिकृत चुँडाल बताउँछन्।
नेपालको दोस्रो ठूला व्यापारिक साझेदार चीनसँग जोड्ने प्रमुख नाकाहरूमध्ये तातोपानी नाकामात्रै अहिले सञ्चालनमा छ। मुस्ताङस्थित कोरला नाका अत्यधिक चिसोका कारण सञ्चालन हुन सकेको छैन्। गत असार २४ गते भोटेकोशीमा आएको बाढीले रसुवागढी नाका बन्द भएपछि चीनसँगको आयात निर्यात व्यापारको प्रमुख विकल्पको रूपमा अहिले तातोपानी नाका मात्र हो।
न्यालम भन्सारले पठाएन कन्टेनर
चीन स्वशासित क्षेत्र तिब्बतको न्यालम भन्सारले नेपाल निर्यात हुने मालवस्तुको जाँचपासमा ढिलाइ गरेका कारण दसैंअघिदेखि पाँच सयभन्दा बढी कन्टेनर चिनियाँ क्षेत्रमै रोकिएको व्यवसायीहरू बताउँछन्। असारयता ढुवानी गरिएका सामान अझैसम्म पनि तिब्बती क्षेत्रमै छन्।
‘चीनबाट दसैं–तिहारलाई लक्षित गरेर हालिएका मालवस्तुहरू अहिलेसम्म पनि आउन सकेका छैनन्,’ व्यवसायी नवराज तिमिल्सिना भन्छन्, ‘चाडबाड र जाडो महिनालाई लक्षित गरेर मगाएका मालवस्तुहरू समयमै आइनपुग्दा हामी ठूलो मर्कामा परेका छौं, लगानी डुब्ने अवस्था छ।’ अहिले नाकाबाट दैनिक सरदर १२ देखि १५ वटा कन्टेनर मात्रै भित्रिने गरेको उनले बताए।
दसैंअघि तातोपानी नाकामा पहिरोले बाधा पुर्याएको र जोखिम मोल्नुपर्ने समस्या देखाएर चीनको न्यालम भन्सारले कन्टेनर पठाउन मानेको थिएन। यद्यपि, अहिले मौसम सफा र सडक राम्रो भएको बेलामा पनि चिनियाँ अधिकारीले समयमै जाँचपास गरेर कन्टेनर पठाउन ढिलाइ गरिरहेका छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव ईश्वर गुभाजूले खासा र ल्हासाको बीचमा एक हजार कन्टेनर दसैंदेखि अड्किएको बताए।
‘दसैं, तिहार, जाडो, गर्मी र विभिन्न परियोजनाका उपकरणजन्य सामग्री समयमै आइनपुग्दा व्यापारी र ट्रान्सपोर्ट कम्पनीहरूले घाटा बेहोर्नुपरेको छ,’ उनले भने, ‘हामीले नेपाल–चीन दुवैतिर सरकारको ध्यानाकर्षण गराएका छौं, तर सुनुवाइ भएको छैन।’ व्यवसायीका अनुसार तातोपानीपारी लिपिङको मितेरीपुलदेखि खासाको रमितेसम्म एक सय १७ कन्टेनर सडकमै लाइन लगाएर राखिएको छ। फलफूल, बच्चाको कपडा, रेडिमेड सामग्री, विद्युतीय उपकरण र जाडो मौसमका लागि न्यानो कपडा बोकेका ४० फिट लामा यी कन्टेनर दसैंअघि नै खासा आइपुगेका थिए।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी तुलबहादुर पाण्डे आयात न्यून हुँर्दै आएको बताउँछन्। ‘दसैंअघि र अहिले आयात हुने कन्टेनर संख्या लगभग उस्तै हो,’ उनले भने, ‘कन्टेनर कम आउनुमा चिनियाँ पक्षकै कमजोरी देखिन्छ। हामीले जाँचपासको व्यवस्थापन र व्यापारीलाई दिने सेवामा कुनै कमी गरेका छैनौं।’
तिहार अगाडि स्याउ, अंगुर, लसुन, एभोकार्डो, किवीजस्ता फलफूल र मालवस्तु भरिएका कन्टेनरहरू छोडिए पनि अन्य इलोक्ट्रोनिक र ट्रेडिङ सामग्रीहरू आउन नसकेको व्यवसायीहरू बताउँछन्। नेपालमा स्वतन्त्र तिब्बत पक्षधरले प्र श्रय पाएको आशंकामा चीनले आफ्नो बन्दरगाहबाट नेपाली व्यवसायीहरूका सामान छुटाउन आलटाल गरेको व्यवसायीहरूको शंका छ। व्यवसायीहरूले आफूहरूले अर्डर गरेका गाडीसहितका सामान बोकेका सयौं कन्टेनर तिब्बतस्थित न्यालम प्रशासनले छुटाउन आनाकानी गरेको बताएका छन्।
‘चीनबाट नै सीमित संख्यामा मात्र कन्टेनर छुटाउने काम भइरहेको छ। हाम्रा कतिपय सामान चीनको बन्दरगाहमा छन्। कतिपय बाटोमा नै छन्,’ व्यवसायी चूडामणि पौडेल भन्छन्, ‘किनेको सामान छुटाउन नदिनुको वास्तविक कारण नभने पनि नेपालमा फ्री तिब्बतको गतिविधि बढेको कारण अघोषित रूपमा नाकाबन्दी गर्न खोजेको जस्तो देखिन्छ।’
प्रमुख भन्सार अधिकृत चँुडालले पनि व्यवसायीका धेरै सामान चीनमा अड्किएको बताए। ‘व्यवसायीले सामान ल्याउन नपाएको बताएपछि हामीले चिनियाँ पक्षसँग कुरा गरेका थियौं। उताबाट ट्राफिक भिडभाडको समस्या देखाइएको छ,’ उनले भने, ‘खासामा अहिले नयाँ सहर बनाउने काम चलिरहेको छ। जसले गर्दा सडकमा एक लेन सवारी चलाउन दिएकाले ट्राफिक भिडभाड भएको चिनियाँ अधिकारीको भनाई छ।’
सामान आयातमा हदबन्दी
तातोपानीबाट आयात हुने विद्युतीय सवारी (ईभी गाडी) हप्तामा दुई दिनमात्रै छाडिने चिनियाँ पक्षले जनाएको छ। आवागमनमा समस्या भएको भन्दै चिनियाँ अधिकारीहरूले हप्तामा दुई दिनमात्र ईभी गाडी छाडिने जानकारी दिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ।
खासा बजार पुनर्निर्माण भइरहेका कारण मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्न समस्या भएको भन्दै चिनियाँ पक्षले हप्तामा दुई दिनमात्रै विद्युतीय सवारी छोड्ने जनाएको हो। अन्य सामानका लागि पाँच दिन तोकिएको व्यवसायीहरू बताउँछन्। चीनले सामान आयातमा हदबन्दी लगाएपछि लक्षित राजस्व उठ्ने क्रम पनि घट्दो छ।
कहिले सकिन्छ खासा पुनर्निर्माण ?
नेपाल–चीन सीमा नजिकैको चिनियाँ बजार क्षेत्र खासा (जाङ्मु पोर्ट) अहिले पुनर्निर्माणको क्रममा छ। २०७२ को भूकम्प पछि ध्वस्तप्रायः बनेको तिब्बतको न्यालम जिल्लाअन्तर्गत पर्ने खासा बजारलाई मिनी सहरको अवधारणामा पुनर्निर्माण गरिँदै छ। खासामा निजी तथा सरकारी भवन भत्काउनेदेखि सडक विस्तारसम्मका काम तीव्र गतिमा अगाडि बढिरहेको भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पा बताउँछन्।
‘खासा बजारमा सडक तीन मिटरले फराकिलो पार्ने, निजी तथा सरकारी संरचनाहरू छुट्टाछुट्टै स्थानमा निर्माण गर्ने र मालबाहक कन्टेनर तथा भ्यानलाई मुख्य सहरमा प्रवेश नदिन रणनीति बनाई पुनर्निमाण तीव्र बनाइएको देखिन्छ’, उनले भने, ‘२०२६ भित्र पुनर्निमाण सक्ने उनीहरूको लक्ष्य छ।’
खासामा भूकम्प र कोरोना महामारीपछि व्यापार क्रमशः सामान्यतर्फ फर्किए पनि निर्यात र मानिसको आवतजावत अझै लगभग ठप्प छ। हाल सीमा छुट्याउने मितेरी पुल नजिकै रहेका करिब दुई दर्जन साना पसलमा पुगेपछि मात्रै सीमावासीले घरायसी सामग्री किन्न पाउँछन्। सिन्धुपाल्चोकका स्थानीयलाई घरायसी खरिद प्रयोजनका लागि मात्र चिनियाँ क्षेत्रमा छिर्न अनुमति छ।
तातोपानी नाका हुँदै सामान निर्वाध ल्याउन नपाएपछि व्यवसायीहरूले सरकारलाई गुहारेका छन्। नाका सम्बद्ध व्यवसायीहरूले स्थानीय जनप्रतिनिधिहरूसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेट गरी नाका सञ्चालन सहज बनाउन अनुरोध गरेका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघले पनि विभिन्न निकायमा पुगेर सहजीकरण गर्न आग्रह गरेको छ। ‘हाम्रो मूख्य माग तातोपानी नाकाबाट बढीभन्दा बढी कन्टेनर सहज रूपमा छोड्नुपर्छ भन्ने हो’, नेपाल हिमालय सीमापारका सचिव आङदोर्जे शेर्पाले चिनियाँ दूतावासमा आफ्ना मागहरू राखेको बताउँदै भने, ‘तातोपानी नाका नेपाल र चीनबीचको केवल आर्थिक मार्ग मात्र होइन, आपसी विश्वास र सहयोगको सेतु हो। यो नाका सञ्चालनमा सहजता ल्याउन सकिएमा नेपालको समग्र व्यापारिक गति तीव्र बन्नेछ। यो कुरा हामीले दूतावासमा भनेका छौं।’
त्यस्तै, अटो व्यवसायीहरूको साझा संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र अन्य सामान आयात गर्ने व्यवसायीले भन्सार विभागका महानिर्देशकदेखि र अर्थमन्त्री रामेश्वर खनालसम्मलाई भेटिसकेका छन्। भन्सार विभागबाट आफना माग सुनुवाइ नभएपछि टोलीले अर्थमन्त्री खनाललाई भेटेको हो।
‘चीनले सामान छुटाउन आनाकानी गरेको विषयमा हामीले भन्सार विभागका महानिर्देशकलाई जानकारी गरायौं’, तर उहाँबाट पार नलागेपछि हामीले अर्थमन्त्रीज्यूलाई भेटेर समस्याबारे जानकारी गराएका छौं,’ नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भने, ‘अरू नाका बन्द भएपछि हाम्रा लागि तातोपानी नाका एकमात्र विकल्प हो। तर, चीनले सामान ल्याउन कोटा तोकेकोजस्तै स्थिति छ। सामान्य अवस्थामा जसरी सामान ल्याउन पाइरहेका छैनौं। त्यसैले कूटनीतिक पहल गरेर समस्या समाधान गर्न मन्त्रीज्यूको ध्यानाकर्षण गराएका छौं।’
यता नेपाल ट्रक यातायात व्यवसायी महासंघकको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयको चाइना हेर्ने डेक्सको सह–सचिव भृगु ढुंगाना र उप–सचिव मनहरि दंगालसँग भेट गरी केरुङ पारी अड्किएको ३ सयभन्दा बढी ट्रक कन्टेनरहरू पुल निर्माण हुनुअघि तातोपानी नाका प्रयोग गरी नेपाल ल्याउन अनुरोध गरेको छ। ‘अड्किएका ट्रक कन्टेनरहरू ल्याउन उहाँले चीन सरकारसँग पहल गर्ने कुराको प्रतिबद्धता जनाउनुभएको छ’, नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अर्जुनबहादुर सापकोटाले बताए।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत चिनियाँ भन्सार अधिकृतले कन्टेनर जाँचपासमा लापरबाही गर्न थालेका कारण व्यापार गर्न गाह्रो भएको बताउँछन्। ‘नेपाली व्यवसायीहरू चीनसँग व्यापार गर्न नसक्ने अवस्थामा पुगेका छन्। चिनियाँ पक्षले सामान छाड्दैन’, उनले भने, ‘हामीले आफ्नो धन खर्चेर सामान ल्याएका हौं। चिनियाँ पक्षले धेरै अन्याय गर्यो। हामीले भनेको भन्यै छौं, अब सरकारले कूटनीतिक पहल गर्नुपर्यो।’
व्यापारीहरूको गुनासो धेर्रै आउन थापेपछि ल्हासास्थित नेपाली महावाणिज्य दूत र बेइजिङस्थित अधिकारीहरूसँग छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला बताउँछन्। ‘नोभेम्बरमै नेपाल–चीन स्थानीय अधिकारीबीच समन्वय बैठक बस्ने र कन्टेनर जाँचपासबारे औपचारिकरूपमा छलफल गरिने तय भएको छ’, उनले भने।
प्रतिक्रिया दिनुहोस !