प्लेअफमा सुदूरपश्चिमको गर्जन, साबिक विजेताको फिक्का बन्दैछ साख
काठमाडौं : शनिबारको दोस्रो खेल हेर्न त्रिवि क्रिकेट रंगाशाला दर्शक खचाखच भरिएका थिए। कारण थियो, पहिलो सिजनका ‘आर्च राइभल’को भेट। पहिलो सिजनमा सुदूरपश्चिम रोयल्सलाई फाइनलमा हराउँदै जनकपुर बोल्ट्सले उपाधि उठाएको थियो। यही अनुसार यी दुई टिमका समर्थक पनि अन्य टिमको भन्दा सङ्ख्यात्मक हिसाबले धेरै र कट्टर छन्।
सुदूरपश्चिम टिम नेपालको ‘खेलकुद हब’ भनेर चिनिने क्षेत्रको हो। जहाँ क्रिकेट एउटा ‘कल्चर’ बनेर स्थापित भएको छ। जनकपुर बोल्ट्स भने भारतसँग सिमाना जोडिएको मधेशको पहिचान बोकेको टिम हो । यहाँ भारतीय क्रिकेट कल्चरको छवि पाइन्छ।
शनिबारको खेलमा पहिलो पटक दोस्रो संस्करणमा यी दुई टोलीको भेट भएको थियो। दर्शकसँगै क्रिकेट समर्थकको पनि उत्तिकै खेलमा चासो थियो। पहिलो संस्करणको झल्को सुदूरपश्चिमले दियो। पहिलो संस्करणमा लिग चरणको खेलमा १ मात्र हार बेहोरेको सुदूरपश्चिमले दोस्रो संस्करणमा पनि आफ्नो लय कायम राखेको छ। ५ खेलमा ५ जितसहित सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गरेको छ। दोस्रो संस्करणको अंक तालिकामा शीर्ष रहँदै प्लेअफका लागि क्वालिफाइ हुने सुदूरपश्चिम पहिलो टिम बन्यो। २ खेल अगावै प्लेअफमा आफ्नो स्थान सुरक्षित बनाएको सुदूरपश्चिम योजना अनुरूप निकै बलियो देखिएको छ।
यता साबिक विजेताको ‘साख’ बोकेर दोस्रो संस्करण सुरु गरेको जनकपुर बोल्ट्सले भने लगातार ४ हार बेहोरेको छ। टिममा पहिलो संस्करणको उपाधि जित्ने टिमको अंश नै बाँकी छैन जस्तो देखिन्छ। खेलाडीको अनुहार करिब उही छ। केही परिष्कृत खेलाडी भित्र्याई उपाधि जोगाउने लक्ष्यसहित मैदानमा आएको जनकपुर मैदानमा भने जम्न सकेको छैन। मधेश प्रदेशको क्रिकेट छविलाई त्रिवि क्रिकेट मैदानमा बलियो रूपमा देखाउन सकेन। जनकपुरका स्वदेशीसँगै विदेशी खेलाडी पनि चल्न सकेका छैनन्। पहिलो संस्करणमा राम्रो छाप बनाएका बलर र ब्याटर दुवै दोस्रो संस्करणमा फ्लप देखिए।
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लगातार तीन खेलमा हार व्यहोरेको जनकपुरले चौथो खेलमा कप्तान नै परिवर्तन गर्यो। नियमित कप्तान अनिल शाहलाई बेन्चमा राख्दै विदेशी खेलाडी वायन पर्नेललाई टिमले नेतृत्वको भूमिकामा उतार्यो। तर रणनीति र नतिजा भने जनकपुरको पक्षमा परेन। यो टिमको मुख्य समस्या नै ब्याटिङ नचल्नु हो। शनिबार ‘आर्च राइभल’सँगको खेलमा पनि जनकपुरको शीर्ष क्रम कोल्याप्स भयो। पहिलो खेल बाहेक मार्की खेलाडी रहेका आसिफ शेखको ब्याटबाट पनि रन निस्कन सकेको छैन। दोस्रो संस्करणमा जनकपुरले उपाधि रक्षा गर्ने होड र लक्ष्य दुवैलाई निकै पछाडि छोडिसकेको छ। अब शीर्ष दुईमा अटाउने जनकपुरको आस छैन। प्लेअफमा पनि अबको बाँकी खेल जित्ने र अन्य टिमको नतिजामा भर पर्नुपर्ने अवस्था छ।
ʻमैदानमा तुफान, सुदूरको शान !ʼ
‘मैदानमा तुफान, सुदूरको शान’ यो सुदूरपश्चिम रोयल्सको एन्थम संगित (टिमको गीत) हो। यसले भनेजस्तै दोस्रो संस्करणमा सुदूरपश्चिमको प्रदर्शन तुफान नै छ। सानो लक्ष्य पनि बलिङ र फिल्डिङले रक्षा गर्ने तथा लक्ष्य पछ्याउँदा पनि उत्तिकै तगडासँग ब्याटिङको लय समाउने टिमको रूपमा देखिएको छ।
सुदूरपश्चिम पश्चिम रोयल्समा नेपालका घरेलु प्रशिक्षकमा सबैभन्दा सफल प्रशिक्षकको छवि बनाएका जगत टमाटा छन्। उनको रणनीति र खेलाडीको प्रदर्शनले पाँच खेलसम्मको नतिजा र लय हेर्दा सुदूरपश्चिम यो वर्ष उपाधिको राम्रो दाबेदार टिम हो। हालसम्म अपराजित रहेको यो टिमले पहिलो खेलमा काडमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्समाथि १८ रनको जित तेस्रो खेलमा कर्णाली याक्सलाई ४५ रन, चौथो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेट र पाँचौं खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै एनपीएलको दोस्रो संस्करणबाट प्लेअफका लागि क्वालिफाइ हुने पहिलो टिम बन्यो। यो लोभ लाग्दो लयलाई कायम राख्दै पछिल्लो संस्करणमा फाइनलमा लागेको उपाधि चोटमा मलम लगाउने लक्ष्य सुदूरपश्चिमको हुनेछ।
‘एकदमै गर्व अनुभव भइरहेको छ,’ जनकपुर बोल्ट्सलाई जितेपछि पत्रकारसँग अनुभव साट्दै सुदूरपश्चिम रोयल्सका प्रमुख बलर अविनाश बोहाेराले भने, ‘हाम्रो नेपाली खेलाडीहरूले राम्रो प्रदर्शन गरिरहेका छन्। विदेशी खेलाडी भन्दा हाम्रो नेपाली खेलाडीहरूले राम्रो खेलिरहेका छन्।’
रणनीति र ब्याटिङमा चुकेको जनकपुर
खराब सुरुवात र हालसम्म पनि सोही हारको क्रम नरोकिएको टिम हो, साबिक विजेता जनकपुर बोल्ट्स। आफ्नो गर्विलो छवि लिएर दोस्रो संस्करणमा आएको जनकपुरको कुनैपनि रणनीति काम गरिरहेको छैन। लगातारको तेस्रो हारपछि र कप्तान अनिलको खराब प्रदर्शनपछि जनकपुर बोल्ट्ुसले चौथो खेलमा कप्तान परिवर्तन गर्यो। दक्षिण अफ्रिकाका बलिङ अलराउन्डर वायन पर्नेललाई केही फरक नतिजाको आशमा व्यवस्थापकीय टिमले कप्तानको जिम्मेवारी सुम्पियो। तर नतिजा फरक भएन। चौथो हार र प्लेअफको सम्भावना पनि निकै कम । लगातारको चौथो हार पछि जनकपुर बोल्ट्सका ब्याटिङ प्रशिक्षक अनिल मण्डल भन्छन्,‘ हामी केही कुराहरूमा कमजोर भइरहेका छौँ। हामी ब्याटिङमा कमजोर देखिएका छौँ।’
ब्याटिङ प्रशिक्षक अनिल थप भन्छन्,‘पछिल्लो खेलहरूमा पनि बलरले राम्रो काम गरिरहँदा पनि ब्याटरले भूमिका निर्वाह गर्न सकिरहेको छैन। ‘हाम्रो रणनीति राम्रो गरिरहेका छौँ तर त्यो व्यवहारमा लागु गर्न चुकिरहेका छौँ।’
कप्तान अनिल शाह पछिल्लो ३ हारपछि निकै निराश देखिएका थिए। चौथो खेलमा उनी बेन्चमा देखिए। उनी चोटका कारण बाहिर राखेको र पर्नेलको अनुभवले टिमलाई केही फरक नतिजा दिन सक्छ की ! भन्ने हिसाबले व्यवस्थापकीय पक्षले केही फरक प्रयास गरेको ब्याटिङ प्रशिक्षक मण्डलले बताए। ‘अनिललाई आज आराम दिएका हौँ। उनको केही इन्जुरी कन्र्सनका कारण व्यवस्थापनले पर्नेललाई कप्तान छानेको हो,’ उनले भने। तर कप्तानीका लागि राष्ट्रिय टिमका ओपनर ब्याटर तथा मार्की खेलाडी आसिफ शेख पनि थिए। उनी भन्दा अनुभव र सिनियर खेलाडीको हिसाबमा पर्नेललाई कप्तानी दिइएको चौथो हारपछि टिमका ब्याटिङ प्रशिक्षक अनिल मण्डलले पत्रकार सम्मेलनमा बताए।
प्रतिक्रिया दिनुहोस !