विश्वकप २०२६

सुखद इतिहास पछ्याउला कि २०१४ को नियति दोहोरिएला ?

सुखद इतिहास पछ्याउला कि २०१४ को नियति दोहोरिएला ?

काठमाडौं/ अमेरिका : तीन देशका तीन सहरमा उद्घाटन भएर विश्व फुटबलको महासंग्राम फिफा विश्वकपको २३औं संस्करण सुरु भएको छ। मेक्सिकोको मेक्सिको सिटीमा अवस्थित एस्टाडियो एस्टेका, क्यानडाको टोरोन्टोस्थित बीएमओ रंगशाला र अमेरिकाको लस एन्जल्सस्थित सोफी रंगशालामा विश्वकपको उद्घाटन गरिएको थियो। 

४८ देशको सहभागिता रहेको यस पटकको विश्वकपमा १ सय ४ खेल हुनेछ। मेक्सिको, क्यानडा र अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपमा ७८ खेल अमेरिकामा, १३ मेक्सिको र १३ क्यानडामा खेलाइनेछ। प्रतियोगिताको फाइनल खेल जुलाई २० मा अमेरिकाको न्युयोर्क र न्युजर्सीको केन्द्रमा रहेको मेटलाइफ रंगशालमा हुनेछ।  

फुटबलको मन्दिरमा पहिलो उद्घाटन

विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित मैदानमध्ये एक एस्टाडियो एस्टेकामा विश्वकपको पहिलो उद्घाटन खेल भएको थियो। सन् १९६६ मा उद्घाटन गरिएको एस्टाडियो एस्टेका करिब एक लाखभन्दा बढी दर्शक अट्ने क्षमता छ। विशाल संरचना र ऐतिहासिक महत्वका कारण यसलाई ‘फुटबलको मन्दिर’ भनेर पनि परिभाषित गरिन्छ ।

यो स्टेडियमले विश्वकपका दुई ऐतिहासिक फाइनल आयोजना गरिसकेको छ। सन् १९७० मा यहाँ ब्राजिलले इटालीलाई पराजित गर्दै उपाधि जितेको थियो। जुन खेलमा पेलेले आफ्नो उत्कृष्ट प्रदर्शन गरेका थिए। यस्तै सन् १९८६ मा अर्जेन्टिनाका डिएगो म्याराडोनाले ‘ह्यान्ड अफ गड’ र ‘शताब्दीको गोल’जस्ता ऐतिहासिक कीर्तिमान यही मैदानमा बनाएका थिए।

  • २३औं संस्करणको फिफा विश्वकप मेक्सिको, क्यानडा र अमेरिकाले संयुक्त रूपमा आयोजना गरेका छन्। प्रतियोगिता मेक्सिको सिटी, टोरोन्टो र लस एन्जल्सका रंगशालाबाट एकसाथ सुरु भएको छ।
  • ४८ देशको सहभागिता रहेको यस विश्वकपमा कुल १०४ खेलहरू हुनेछन्। जसमध्ये ७८ खेल अमेरिकामा र मेक्सिको तथा क्यानडामा १३–१३ खेल खेलाइनेछ। फाइनल खेल जुलाई २० मा अमेरिकाको मेटलाइफ रंगशालामा हुनेछ।
  •  यो विश्वकपबाट फिफाले करिब ११ अर्ब अमेरिकी डलर आम्दानी गर्ने लक्ष्य राखेको छ। मुख्य आम्दानीको स्रोतमा टेलिभिजन प्रसारण अधिकार, टिकट बिक्री, भीआईपी प्याकेज, र स्पोन्सरसिप रहेका छन्।
  • फिफाले यसपटक करिब ६५५ मिलियन अमेरिकी डलरबराबरको कुल पुरस्कार राशि घोषणा गरेको छ, जुन २०२२ को विश्वकपको तुलनामा करिब दोब्बर हो। विजेता टोलीले ४० मिलियन डलर प्राप्त गर्नेछ।
  • विश्वकपलाई खेलाडीहरूका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने ‘ग्लोबल सोकेस’को रूपमा हेरिन्छ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई युरोपका शीर्ष व्यावसायिक क्लबहरूले अनुबन्ध गर्ने अवसर मिल्ने हुनाले धेरै खेलाडीको करियरका लागि यो प्रतियोगिता कोसेढुंगा सावित हुनेछ।

उत्तर अमेरिकी महादेशमा खेल, दक्षिणी अमेरिकी महादेशको वर्चस्व

अमेरिकी महादेशमा आयोजना भएका यसअघिका सात विश्वकपमध्ये ६ विश्वकपको उपाधि दक्षिण अमेरिकी टोलीले जितेका छन्। एक मात्र अपवाद सन् २०१४ को विश्वकप हो, ब्राजिलमा आयोजित विश्वकप जर्मनीले जितेको थियो। जहाँ जर्मनीले फाइनलमा अर्जेन्टिनालार्ई १–० गोलले हराएको थियो। ब्राजिल अमेरिकी महादेशमा आयोजित विश्वकपमा सबैभन्दा सफल राष्ट्र हो। उसले सन् १९६२, १९७० र १९९४ मा उपाधि जितेको छ। उत्तर अमेरिकी राष्ट्र मेक्सिकोमा सन् १९७० र १९९४ मा विश्वकप भएको थियो। क्यानडामा भने पहिलोपटक विश्वकप हुँदैछ। अमेरिकी महादेशमा भएका विश्वकपको इतिहास हेर्दा ब्राजिलले ३ पटक, उरुग्वेले २ पटक तथा अर्जेन्टिना र जर्मनीले एक÷एक पटक विश्वकप उपाधि जितेका छन्। जहाँ उरुग्वेले आफ्नै भूमिमा भएको पहिलो विश्वकपको उपाधि जित्दा अर्जेन्टिनाले १९७८ मा विश्वकप आयोजना गरेकोमा घरमै उपाधि राख्न सफल भएको थियो। यस पटक दक्षिण, मध्य र उत्तर अमेरिकाका १३ देशले सहभागिता जनाउँदै छन्। 

७ पटक अमेरिकी महादेशमा विश्वकप हुँदा दुईपटक अमेरिकी महादेशका देशहरू फाइनलमा पुगेका छन्, जसमा १९३० मा आयोजक उरुग्वले दक्षिण अमेरिकी देश अर्जेन्टिनालाई फाइनलमा हराएको थियो भने १९५० मा उरुग्वेले आयोजकसमेत रहेको दक्षिण अमेरिकी राष्ट्र ब्राजिललाई फाइनलमा पराजित गरेको थियो। १९६२, १९७०, १९७८, १९९४ मा भने दक्षिण अमेरिकी देशले युरोपियन देशलाई फाइनलमा हराएका थिए। जसमा १९६२ मा ब्राजिलले चेकोस्लाभाकियालाई, १९७० मा ब्राजिलले इटलीलाई, १९७८ मा आयोजक अर्जेन्टिनाले नेदरल्यान्डसलाई र १९९४ मा ब्राजिलले इटलीलाई फाइनलमा हराएका थिए।

दोब्बर खर्च

पछिल्लो विश्वकप २०२२ मा भन्दा यसपटक झन्डै दोब्बर बढी रकम खर्चिन लागेको फिफाले जनाएको छ। फिफाले यसपटक करिब ६५५ मिलियन अमेरिकी डलर बराबरको पुरस्कार रकम घोषणा गरेको छ। यो रकम ४८ वटा टोलीबीच बाँडिनेछ। तयारी खर्च र अन्य पुरस्कार मिलाएर कुल रकम अझ बढेर करिब ७०० मिलियन डलरभन्दा बढी हुनसक्ने जनाइएको छ। यस बाहेक प्रतियोगितामा विजेतादेखि समूह चरणसम्म पुग्ने देशलाई दिइने पुरस्कार समावेश गरिएको छ।
कुल पुरस्कार रकम

  •   विजेता :  ४० मिलियन डलर
  •    उपविजेता : ३० मिलियन डलर
  •    तेस्रो स्थान : २७ मिलियन डलर
  •   चौथो स्थान :  २५ मिलियन डलर
  •  क्वार्टरफाइनल पुग्ने टोली : करिब १९ मिलियन डलर
  •  समूह चरणबाट बाहिरिने टोली : करिब ९ मिलियन डलर 

यसरी विश्वकपमा सहभागी हुने सबै ४८ टोलीले केही न केही रकम पाउने व्यवस्था फिफाले गरेको छ।

११ अर्ब आम्दानी लक्ष्य

हालसम्मकै सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामध्ये मानिएको विश्वकपबाट फिफाले करिब ११ अर्ब अमेरिकी डलर बराबर आम्दानी गर्ने जनाइएको छ।
प्रतियोगिताको कुल आम्दानी मुख्य रूपमा तीन क्षेत्रमा केन्द्रित हुने आँकलन गरिएको छ। फिफाले टेलिभिजन प्रसारण अधिकारबाट करिब ४ अर्ब डलर रकम आम्दानी गर्ने लक्ष्य राखेको छ। यस्तै टिकट बिक्री तथा भीआईपी प्याकेजबाट करिब ३ अर्ब डलर, स्पोन्सरसिप र विज्ञापनबाट करिब ३ अर्ब डलर र डिजिटल प्लेटफर्म र लाइसेन्सिङबाट थप अतिरिक्त आम्दानी हुने अपेक्षा फिफाले गरेको छ।

पहिलोपटक ८ सय ९१ खेलाडी सहभागी 

४८ देशलाई १२ समूहमा बाँडेर सुरु गरिएको फिफा विश्वकपमा कुल १ हजार २ सय ४८ खेलाडी सहभागी छन्। जसमध्ये ८९१ खेलाडीले पहिलोपटक विश्वकप खेल्दै छन्। बाँकी ३ सय ५७ खेलाडी भने यसअघि पनि विश्वकप टोलीमा सहभागी भइसकेका खेलाडी छन्। ४८ टोलीको विस्तारित प्रतियोगिताका कारण यसपटक पहिलोपटक विश्वकप खेल्ने खेलाडीहरूको संख्या इतिहासमै सबैभन्दा धेरै भएको छ।

म्यानचेस्टरका खेलाडी धेरै

२०२६ फिफा विश्वकपमा सबैभन्दा धेरै खेलाडी पठाउने क्लब म्यानचेस्टर सिटी हो। यस क्लबका १९ खेलाडी विभिन्न राष्ट्रिय टोलीबाट विश्वकप खेल्ने छन्। दोस्रो स्थानमा बायर्न म्युनिख छ। बायर्नका १८ खेलाडी विश्वकपमा सहभागी छन्। यस्तै तेस्रो स्थानमा रहेका आर्सनल र पेरिस सेन्ट जर्मनका १६÷१६ खेलाडी तथा पाँचौं स्थानमा बार्सिलोनाका १५ खेलाडी छन्। यसले म्यानचेस्टर सिटीलाई २०२६ विश्वकपमा सबैभन्दा धेरै प्रतिनिधित्व भएको क्लब बनाएको छ। केही देशका टोलीहरू आफ्नै घरेलु लिगका खेलाडीमा आधारित छन् भने केही टोलीहरू युरोपका शीर्ष क्लबमा खेल्ने स्टार खेलाडीहरूले भरिएका छन्।

विश्वकपमा केही देशले आफ्नै घरेलु लिगमै खेल्ने खेलाडीलाई प्राथमिकता दिएका छन्।  यसमा साउदी अरेबिया प्रमुख उदाहरणका रूपमा छ। जहाँ अधिकांश खेलाडी साउदी प्रो लिगमै सक्रिय छन्। यस्तै, मेक्सिकोको राष्ट्रिय टोलीमा पनि लिगा एमएक्सका खेलाडीको ठूलो उपस्थिति छ। दक्षिण अफ्रिका र चेक गणतन्त्रजस्ता टोलीमा पनि घरेलु लिगमा आधारित खेलाडीको राम्रो प्रतिनिधित्व छ।

विश्वकपमा सहभागी देशका टोलीमा कम्तीमा केही खेलाडी विदेशमा खेल्ने भएकाले पूर्णरूपमा २६ जना नै घरेलु लिगका खेलाडी भएको टोली भने छैन। साउदी अरेबियाले भने अधिकांश खेलाडी घरेलु क्लबबाटै छनोट गरेको छ।

विदेशी क्लबमा सहभागी खेलाडीले भरिएको बलिया टोली अर्जेन्टिना, ब्राजिल, फ्रान्स, पोर्चुगल, बेल्जियम र मोरक्को हुन्। यी देशबाट प्रतिनिधित्व गर्ने खेलाडीहरू अमेरिकी मेजर सकर लिग, इंलिस प्रिमियर लिग, ला लिगा, बुन्डेस लिगा, सिरीए र लिग वानजस्ता प्रतिष्ठित युरोपेली लिगमा सक्रिय छन्। इंलिस प्रिमियर लिग खेल्ने  १ सय ५० भन्दा बढी खेलाडी विभिन्न राष्ट्रिय टोलीबाट सहभागी हुँदैछन्।

खेलाडीका लागि अवसर

८ सय ११ खेलाडी विभिन्न देशवाट प्रतिनिधित्व गर्दै फिफा विश्वकपको मञ्चमा उत्रँदा कतिपयका लागि व्यावसायिक फुटबल जीवनको नयाँ अध्यायको मौका मिल्नेछ भने कतिपयलाई थप प्रभावशाली अवसरको सिर्जना हुनेछ।  अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकपपछि खेलाडीहरूका लागि विश्वका ठूला व्यावसायिक क्लबहरूमा प्रवेश गर्ने महत्वपूर्ण अवसर खुल्ने गरेको विगतले देखाउँछ।

फुटबल विज्ञहरूका अनुसार विश्वकपलाई ‘ग्लोबल शोकेस’का रुपमा हेरिन्छ। जहाँ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई युरोपका शीर्ष क्लबहरूले नजिकबाट निगरानी गर्छन्। उनीहरूले खेलाडीको टेक्निकल क्षमता, गति, निर्णय क्षमता र दबाबमा खेल्ने शैलीलाई मूल्यांकन गर्छन्। फिफा विश्वकपपछि धेरै खेलाडीको जीवन परिवर्तन भएको इतिहास छ।  जसमा पछिल्ला उदाहरणको रुपमा लुका मोड्रिच, काइलिन एमबाप्पे, जेम्स रोड्रिगेजलाई लिन सकिन्छ। २०१८ को विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पु¥यायएपछि लुका मोड्रिच विश्वको उत्कृष्ट मिडफिल्डर बने र उनको करियर अझ मजबुत बन्यो।

फ्रान्सका काइलिन एमबाप्पे, जसले २०१८ को  विश्वकपमा सानदार प्रदर्शन गरेपछि विश्व फुटबलमा सुपरस्टारको स्थान पक्का गरे। ठूलो क्लब पेरिस सेन्ट जर्मेनको प्रमुख खेलाडी बन्न सफल भए। यसैगरी कोलम्बियन खेलाडी रोड्रिगेजले सन् २०१४ को विश्वकपमा गोल्डेन बुट जितेपछि उनलाई रियल म्याड्रिडले सक्लबमा अनुबन्ध गरेको थियो।

विदेशमा जन्मिएका खेलाडी धेरै 

फिफा विश्वकपमा सहभागी धेरै टोलीहरूमा विदेशमा जन्मिएका, हुर्किएका वा प्रवासी पृष्ठभूमिका खेलाडीको उल्लेखनीय उपस्थिति देखिएको छ। विशेषगरी युरोप र अफ्रिकासँग सम्बन्धित टोलीमा उनीहरूको सहभागिता बढी देखिएको हो। जसले विश्व फुटबलमा आप्रवासन र दोहोरो नागरिकताको प्रभावलाई प्रष्ट देखाउँछ। पछिल्लो विश्वकपमा सनसनी मच्याएको मोरक्को यसको सबैभन्दा चर्चित उदाहरण बनेको छ। टोलीमा रहेका धेरै प्रमुख खेलाडी स्पेन, नेदरल्यान्ड्स, फ्रान्स र बेल्जियमजस्ता देशमा जन्मिएका वा हुर्किएका छन्। अचरफ हकिमी स्पेनमा जन्मिएका हुन् भने हाकिम जिएच नेदरल्यान्डसमा जन्मिएका हुन्।

अफ्रिकी र उत्तर अमेरिकी टोलीको प्रभाव

सेनेगल, घाना र नाइजेरियाजस्ता अफ्रिकी राष्ट्रहरूमा पनि युरोपमा जन्मिएका वा प्रशिक्षण पाएका खेलाडीहरूको संख्या बढी छ। यी खेलाडीहरू फ्रान्स, इङ्ल्यान्ड र अन्य युरोपेली देशहरूको फुटबल प्रणालीबाट विकसित भएर आफ्नो मूल देशको प्रतिनिधित्व गर्न फर्किएका छन्। संयुक्त राज्य अमेरिका र क्यानडामा पनि जर्मनी, इङ्ल्यान्ड र अन्य युरोपेली देशहरूमा जन्मिएका वा आप्रवासी परिवारबाट आएका खेलाडीहरूको उपस्थिति बढ्दो छ।

साना देशमा ठूलो प्रभाव

यस विश्वकपमार्फत पहिलो पटक अन्तर्राष्ट्रिय रूपमा उपस्थिति जनाउन लागेका केप भेर्दे र कुरासाओजस्ता साना राष्ट्रहरूमा डायस्पोरा खेलाडीहरूको प्रभाव अझ बढी देखिन्छ। यी टोलीहरूमा युरोपका विभिन्न देशमा जन्मिएका वा हुर्किएका खेलाडीहरूले राष्ट्रिय टोलीलाई मजबुत बनाइरहेका छन्।

११ खेलाडी जसको छ अत्यधिक आम्दानी

फिफा विश्वकप २०२६ लाई अहिलेसम्मकै सबैभन्दा महँगो र स्टार भरिएको प्रतियोगिता मानिँदै गर्दा फोब्र्सको नयाँ रिपोर्टले पछिल्लो १२ महिनामा सर्वाधिक कमाइ गर्ने ११ फुटबल खेलाडीको सूची सार्वजनिक गरेको छ। रिपोर्ट अनुसार यी शीर्ष ११ खेलाडीको संयुक्त आम्दानी करिब ९५० मिलियन अमेरिकी डलर नजिक रहेको अनुमान छ। जसमा क्लबको तलब, बोनस र विज्ञापन आम्दानी समावेश छन्। जो यस पटक पनि मैदानमा देखिने छन्।

सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडी

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

  •    अनुमानित कमाइ : करिब ४ सय मिलियन डलर
  •    क्लब तथा ब्रान्ड विज्ञापनबाट विशाल आम्दानी
  •    पोर्चुगलका सर्वाधिक गोलकर्ता, अल नासारका खेलाडी

लियोनल मेसी (अर्जेन्टिना)

  •    अनुमानित कमाइ :  करिब १ सय ३० मिलियन डलर
  •     मैदान र विज्ञापन दुवैबाट उच्च आय।
  •     अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता, प्रभावशाली खेलाडी, इन्टर मायमीका खेलाडी।

काइलिन एमबाप्पे (फ्रान्स)

  •    अनुमानित कमाइ : करिब ९५ मिलनि डलर
  •    फ्रान्सका सर्वाधिक गोलकर्ता,  रियल म्याड्रिडका खेलाडी

अलिङ हालान्ड (नर्वे)

  • अनुमानित कमाइ : करिब ८० मिलियन डलर
  •    म्यानचेस्टर सिटीका गोल मेसिन।

भिनिसियस जुनियर (ब्राजिल)

  •     अनुमानित कमाइ : करिब ७८ मिलियन डलर
  •    रियल म्याड्रिडका विंगर, ब्राजिलको मुख्य आक्रमण शक्ति

मोहमद सलाह (इजिप्ट)

  •     अनुमानित कमाइ : करिब ६६ मिलियन डलर
  •     लिभरपुलका पूर्वस्टार

सार्डियो माने (सेनेगल)

  •     अनुमानित कमाइ : करिब ६३ मिलियन डलर
  •     अफ्रिकी फुटबलका प्रमुख नाम, अल नासरमा सक्रिय

जुद बेलिङ्घम (इङ्ल्यान्ड)

  •     अनुमानित कमाइ : करिब ५५ मिलयन डलर
  •     रियल म्याड्रिडका युवा स्टार

      लामिन यमल (स्पेन)

  • अनुमानित कमाइ :  करिब ४३  मिलियन डलर
  • १८ वर्षका उदाउँदा सुपरस्टार, बार्सिलोनाका महत्वपूर्ण खेलाडी

हेरी केन (इङ्ल्यान्ड)

  •     अनुमानित कमाइ : करिब ४१ मिलियन डलर
  •     बायर्न म्युनिखका प्रमुख स्ट्राइकर, इङ्ल्यान्डका सर्वाधिक गोलकर्ता

नेमार जुनियर (ब्राजिल)

  •     अनुमानित कमाइ :  करिब २८  मिलियन डलर
  •     अनुभवी ब्राजिलियन स्टार, चोटपछि पुनरागमनको प्रयास
  •     छिटो प्रतिस्थापन र अनिवार्य हाइड्रेसन ब्रेकको नियम

फिफा विश्वकप २०२६ का खेललाई अझ निष्पक्ष, छिटो र व्यवस्थित बनाउन विभिन्न नयाँ नियम लागू गरिएको छ।

भिडियो सहायक रेफ्री (भीएआर) को प्रयोगमा विस्तार

अन्तर्राष्ट्रिय फुटबल महासंघ ले भिडियो सहायक रेफ्री (भीएआर) को प्रयोग अझ विस्तार गरेको छ। अब प्रत्येक कर्नर किकको निर्णय भीएआरले जाँच गर्नेछ। तर, खेल धेरै ढिलो नहोस् भनेर केवल स्पष्ट गल्ती भएको अवस्थामा मात्र हस्तक्षेप गर्नेछ।  यसका साथै दोस्रो पहेंलो कार्डपछि दिइने रातो कार्ड गलत खेलाडीलाई कार्ड देखाएको अवस्था (गलत पहिचान) सेट पिस (फ्री किक, कर्नर) अघि भएको फल, यी सबै निर्णय पनि भीएआरमार्फत पुन: जाँच गर्न सकिनेछ।

मुख छोपेर विवाद गरेमा रातो कार्ड

खेलाडीले विवाद वा झगडाका क्रममा मुख, हात, जर्सी वा बाहुला प्रयोग गरेर छोपेर बोलेमा, उसलाई सिधै रातो कार्ड दिन सकिने नियम लागू गरिएको छ। यो नियम अपमानजनक वा अनुचित अभिव्यक्ति लुकाउन नदिन ल्याइएको फिफाले जनाएको छ। 

रेफ्रीको निर्णयको विरोधमा मैदान छाड्न नपाइने

रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै खेलाडी वा प्रशिक्षकले मैदान छाडेमा रातो कार्ड दिन सकिने व्यवस्था गरिएको छ। यो नियम पछिल्ला केही अन्तर्राष्ट्रिय खेलमा देखिएका विवादपछि 
ल्याइएको हो।

प्रतिस्थापनमा १० सेकेन्ड नियम

प्रतिस्थापित हुने खेलाडीले रेफ्रीको संकेतपछि १० सेकेन्डभित्र मैदान छाड्नुपर्छ। यदि समय नाघेमा प्रतिस्थापन खेलाडीलाई तुरुन्त मैदान प्रवेश गर्न दिइने छैन भने उसले अर्को खेल रोकिएपछि मात्र प्रवेश गर्न पाउनेछ।

थ्रोइन र गोल किकमा ५ सेकेन्ड काउन्टडाउन

खेल ढिलो हुन नदिन रेफ्रीले थ्रोइन र गोल किक अघि ५ सेकेन्डको दृश्यात्मक काउन्टडाउन सुरु गर्न सक्नेछन्। यदि समयभित्र खेल सुरु भएन भने विपक्षी टोलीलाई बल दिइनेछ।चोटपछिको नियम यदि खेलाडीलाई मैदानमै उपचार गरिएको छ भने खेल पुन: सुरु भएपछि कम्तीमा १ मिनेट मैदान बाहिर बस्नुपर्छ।
 
हाइड्रेसन ब्रेक अनिवार्य

हाल उत्तर अमेरिकामा अत्याधिक गर्मी छ। यसलाई ध्यानमा राख्दै प्रत्येक हाफको करिब २२औं मिनेटमा ३ मिनेटको अनिवार्य हाइड्रेसन ब्रेक हुनेछ। यो समयमा खेलाडीले पानी पिउन र आराम गर्न पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.