सर्वपक्षीय बैठक : केही दललाई अझै सुरक्षाको चिन्ता, प्रधानमन्त्री कार्कीले भनिन्- हामी पक्ष-विपक्ष नभनी चुनाव गराउन आतुर छौं

सर्वपक्षीय बैठक : केही दललाई अझै सुरक्षाको चिन्ता, प्रधानमन्त्री कार्कीले भनिन्- हामी पक्ष-विपक्ष नभनी चुनाव गराउन आतुर छौं

काठमाडौं : प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वपक्षीय बैठक सकिएको छ। बैठकमा सहभागी राजनीतिक दलहरूले अर्जुनदृष्टि लगाएर चुनाव गराउन आग्रह गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले आफूहरूले सरकारलाई चुनावमा केन्द्रित हुन आग्रह गरेको बताए।

'सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र राजनीतिक दलहरूबीच महत्त्वपूर्ण छलफल भयो। मूलतः निर्वाचनको तयारीका विषयमा छलफल केन्द्रित रह्यो। हामीले यो चुनावी सरकार भएकाले चुनावमै अर्जुनको वाण तेर्स्याउन आग्रह गर्‍यौं,' उनले भने। सरकारलाई विभिन्न अध्यादेश नअल्झिन आग्रह पनि गरेको उनले बताए। 'सरकार चुनावमा मात्रै केन्द्रित हुनुपर्छ। अध्यादेशमा अल्झिनु हुँदैन भनेर पनि सुझाव दियौँ,' उनले भने।

त्यस्तै नेपाली कांग्रेसले आफूहरू चुनावमा जान तयार रहेको बताएको थियो। कांग्रेस नेतृ पुष्पा भुसालले कांग्रेस चुनावमा जान तयार रहेको र त्यसका लागि सुरक्षाको पर्याप्त वातावरण बनाउनुपर्ने सरकारलाई सुझाव दिएको बताइन्। 'चुनावमा जान हामी तयार छौं। तर त्यसका लागि सुरक्षाको वातावरण बनाउने जिम्मा सरकारको हो। किनकि अहिले पनि चुनावका लागि सुरक्षा चुनौती धेरै छ,' उनले भनिन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपालीलाई पनि भोट दिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको बताएको छ। रास्वपा नेता शिशिर खनालले विदेशबाट र अन्तर जिल्लाबाट भोट दिने व्यवस्था यसैपटक गर्न सकिन्छ भनेर सुझाव दिएको बताए। 

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले आफूहरू चुनावकै निम्ति आएको स्पष्ट पारेकी थिइन्। 'हाम्रो निजी केही कुरा नै छैन। केही पाउनका लागि केही गरेका पनि होइनौं। हामीलाई जे जिम्मेवारी दिइएको छ, हामी त्यही गरिरहेका छौं। न हामी कसैको पक्षमा लागेका छौं, न विपक्षमा। त्यसैले हामी अनुरोध गर्न चाहन्छौं, चुनावी वातावरण बनिसकेको छ। जनताहरू पनि चुनावका लागि तयार छन्। धाँधलीरहित चुनाव गराउन सरकार पनि तयार छ। आउनुस् मिलेर चुनावलाई सफल बनाऔं,' बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्। 

प्रधानमन्त्री कार्कीले सुरक्षाको पर्याप्त वातावरण बनिसकेकाले दलहरूलाई चुनावमा केन्द्रित हुन आग्रह गरेकी थिइन्। 'चुनावमा दलहरू आउनुपर्छ। जनताले दलहरूका प्रतिनिधि चुन्न पाउनुपर्छ। यहाँ निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरू पनि हुनुहुन्छ। उहाँहरूले निर्वाचन गराउने प्रतिवद्धता जनाइसक्नुभएको छ। अब दलहरू पनि निर्वाचनका लागि तयारी गर्नुपर्छ,' उनले भनिन्।

बैठकमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आफूहरू चुनाव गराउन तयार रहेको बताएका थिए। उनले त्यसका लागि आयोग कार्यतालिकाअनुसार काम गरिरहेको र निर्वाचनप्रति कुनै शंका नमान्न आग्रह गरेका थिए। उनले मतदाता नामावलीमा करिब ८ लाख भोटर थपिएको मतदान  केन्द्र र निर्वाचन सामग्री जुटाउने काममा आफूहरू लागिपरेको बताएका थिए। 

बैठकमा सुरक्षाका निकायका तर्फबाट प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक  राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्की पनि सहभागी थिए। उनीहरूले निर्वाचनका लागि सुरक्षा प्रदान गर्न आफूहरू तयार रहेको बताएका थिए। जेनजी आन्दोलनपछि घटेको प्रहरीको मनोबल पनि बढिरहेको, कैदीहरू धमाधम पक्राउ परिरहेको, प्रहरी कार्यालयहरू पनि पुनर्निर्माण भइरहेको र हतियारहरू पनि फिर्ता गर्ने जारी रहेकाले निर्वाचनका लागि ढुक्क हुन दलहरूलाई आग्रह गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.