जो थिए प्रख्यात बैंकर

अविच्युरी

जो थिए प्रख्यात बैंकर

तत्कालीन लुम्बिनी बैंक उद्घारमा संयोजकको जिम्मेवारी सम्हाल्नु उनको उल्लेखनीय उपलब्धिमध्ये एक हो।

काठमाडौं : १९९९ साउनमा काठमाडौं पक्नाजोलमा जन्मिएका प्रख्यात बैंकर, शिक्षाविद् तथा आध्यात्मिक चिन्तक नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा हालै निधन भएको छ। काठमाडौंका स्थानीय उनी पछिल्लो समय पेटको आन्द्रामा क्यान्सर रोगबाट पीडित थिए। 

शारीरिक अस्वस्थताका बाबजुद पनि उनी जीवनको अन्तिम समयसम्म बौद्धिक र आध्यात्मिक रूपमा सक्रिय रहे। व्यक्तिगत जीवनमा उनका एक छोरा र दुई छोरी छन्। जेठी छोरीले बैकिङ क्षेत्रमा कार्यरत छिन् भने अन्य दुई सन्तान आफ्नै व्यवसायमा संलग्न छन्। उनकी धर्मपत्नी गृहिणी हुन्।
८० वर्षको उमेरसम्म पनि प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कार्यरत उनी ऊर्जावान् बैंकरका रूपमा परिचित थिए।

गुणैगुणले भरिपूर्ण व्यक्तित्वको रूपमा स्वर्गीय मानन्धरलाई सम्झिन्छन्। प्राइमका एसिस्टेन्ट जनरल म्यानेजर(एजीएम) नारायणप्रसाद श्रेष्ठ। 
‘सुरुदेखि नै नजिक भएर काम गर्ने मौका पाएँ, उहाँबाट धेरै कुरा सिक्ने मौका पाएँ। सफल नेतृत्व र हाम्रो संरक्षकको भूमिका सधैं रहनुभयो,’ श्रेष्ठ सम्झिन्छन्। कर्मचारीहरूले गल्ती गरे पनि त्यसको जिम्मेवारी आफंै लिएर संरक्षण गर्ने बानी उनको थियो। कर्मचारीसँग ग्राहकहरूप्रति उनी जिम्मेवारी निभाउँथे। ग्राहकहरूलाई नियमभित्र बसेर सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्थे।

तेल तथा अलैंचीसहितका मसलाको होलसेल व्यापारमा संलग्न व्यापारिक पृष्ठभूमिको परिवारमा जन्मिका उनी ४ दिदीबहिनी तथा तीन दाजुभाइमध्ये कान्छा थिए। व्यापारिक पृष्ठभूमिका उनले त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट व्यवस्थापन संकायमा स्नातकोत्तर (एम्कम्) अध्ययन गरेका थिए। व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनले सरकारी सेवाबाट आफ्नो जागिर जीवन सुरु गरेका थिए। व्यावसायिक जीवनको सुरुआत उनले बचत संस्थानबाट गरेका थिए, जुन पछि कृषि विकास बैंकमा मर्ज भयो। त्यही बीचमा नै मानन्धर पूर्ण सरकारी स्वामित्वको धान–चामल कम्पनीमा महाप्रबन्धक भएर काम गरे। त्यतिबेला धान–कम्पनीको तत्कालीन पाँच विकास क्षेत्रमा कार्यालय थियो। 

    उनको निधनले बैंकिङ, शिक्षा र आध्यात्मिक क्षेत्रले एक प्रेरणादायी व्यक्तित्व गुमाएको छ।

पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चलका धान–चामल कम्पनीमा महाप्रबन्धका रूपमा उनले सेवा दिए। कम्पनीबाट नेपालमा बढी उत्पादन भएको चामल भारत निर्यात गर्ने कार्य हुन्थ्यो। विशेषगरी सुदूरपश्चिम क्षेत्रको धान–चामल कम्पनीमा महाप्रबन्धकका रूपमा रहँदै उनले प्रभावकारी कार्यसम्पादन गरेका थिए।
बैंकिङबाट आफ्नो करियर सुरु गरेका उनले खराब वित्तीय व्यवस्थापन भएका धेरै बैंकको सकुशल उद्धार गरेको प्राइमका एजीएम श्रेष्ठ बताउँछन्। कृषि विकास बैंकमा उपमहाप्रबन्धकसम्म भएका उनले कमजोर वित्तीय अवस्थामा रहेको बैंकको आर्थिक सुधारमा योगदान महŒवपूर्ण मानिन्छ। कृषि विकास बैंकमा रहँदा नै मानन्धरले बेलायतबाट उच्च शिक्षा लिएका थिए। उनले त्यहाँ व्यवस्थापन विषयमा नै अर्को स्नातकोत्तर गरे। उनले ०२१÷२२ सालतिर राष्ट्रिय वाणिज्य बैंकमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै वित्तीय सुधारका कार्यक्रम सफलतापूर्वक अघि बढाएका थिए।

तत्कालीन लुम्बिनी बैंक समस्याग्रस्त बनेपछि नेपाल राष्ट्र बैंकको पहलमा उनी संयोजकको भूमिकामा खटिए। नयाँ सञ्चालक समिति निर्वाचन गराई बैंकलाई नयाँ व्यवस्थापनमा हस्तान्तरण गर्नु उनको अर्को उल्लेखनीय उपलब्धि हो।

उनले नेपाल आयल निगमको बोर्ड सदस्यका रूपमा पनि सेवा दिएका थिए। साथै संयुक्त राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि संगठन (एफएओ) को परामर्शदाताका रूपमा समेत काम गरे।

  •     प्रख्यात बैंकर, शिक्षाविद् तथा आध्यात्मिक चिन्तक नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको छ।
  •     ८० वर्षको उमेरसम्म प्राइम कमर्सियल बैंकका सीईओ भएर सक्रिय रहँदै ऊर्जावान् बैंकरका रूपमा परिचित थिए।
  •     सरकारी सेवा, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक हुँदै उनले धेरै समस्याग्रस्त बैंकको वित्तीय सुधारमा भूमिका खेले।
  •     ०६४ सालमा प्राइम कमर्सियल बैंक स्थापना गरी १६ वर्षसम्म निरन्तर सीईओका रूपमा नेतृत्व गरे।
  •     खप्तड बाबाका अनन्य भत्ता रहेका उनले आश्रम सञ्चालन र ग्रन्थ प्रकाशनमा महत्वपूर्ण योगदान पुर्‍याए।

बैंकिङ करियरको क्रममा उनले करिब दुई वर्ष तत्कालीन नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत भए। त्यही अवधिमा केही शिक्षाविद् तथा काठमाडौंकै व्यवसायीहरूलाई लिएर उनकै अगुवाइमा ०६४ सालमा प्राइम कमर्सियल बैंक स्थापना भयो। मुलुकको २१औं वाणिज्य बैंकका रूपमा स्थापना भएको उक्त बैंकमा उनी स्थापना कालदेखि १६ वर्षसम्म निरन्तर प्रमुख कार्यकारी अधिकृतका रूपमा रहेर सेवा दिए। दुई वर्षअघि मात्रै उनले प्राइम बैंककै महाप्रबन्धक संविज मानन्धरलाई नेतृत्व हस्तान्तरण गरे र सक्रिय बैंकिङ करियरबाट विश्राम लिए।

उनले बैंकिङ क्षेत्रसँगै शैक्षिक क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याएका छन्। सरकारी जागिरको साथै उनले बिहान र साँझको समयमा त्रिचन्द्र कलेजमा व्यवस्थापन संकायमा अध्यापन गरे। साथै निजी क्षेत्रको पिपल्स कलेजको संस्थापक र प्राध्यापकका रूपमा पनि उनी सक्रिय रहे। शिक्षामा नवीन सोच प्रस्तुत गर्दै उनले बृहस्पति स्कुलको व्यवस्थापन समितिमा संलग्न भई नयाँ शिक्षण पद्धतिको विकासमा अग्रसर भए। घरमा पढ्ने वातावरण नहुने परिवारका बालबालिकालाई लक्षित गर्दै विद्यालयमै अतिरिक्त कक्षा, होमवर्क सक्काउने व्यवस्था तथा खाजासहितको प्रणाली सुरु गर्नु उनको दूरदर्शी पहल थियो।

व्यावसायिक सफलतासँगै उनले आध्यात्मिक चिन्तनमा पनि गहिरो रुचि राख्थे। खप्तड बाबाका अनन्य भक्त रहेका उनले बूढानीलकण्ठस्थित खप्तड बाबाको समाधिस्थल परिसरमा आ श्रम सञ्चालन गर्न सहयोग पु¥याइरहेका थिए। उनी खप्तड बाबा ज्ञान अनुष्ठानका अध्यक्ष पनि थिए। 

ज्ञान लिन चाहने र तपस्या गर्ने साधुसन्तका लागि उक्त आश्रम परिचित नाम हो। यसका साथै, खप्तड बाबाका अमूल्य ग्रन्थहरूको प्रकाशनमा उनको महत्वपूर्ण योगदान छ। ‘म र मेरो कर्तव्य’, ‘विचार विज्ञान’, ‘स्वास्थ्य विज्ञान’, ‘नारी धर्म’, ‘पुरुष धर्म’लगायतका कृतिहरू उनको सक्रियतामा प्रकाशित भएका पुस्तक हुन्। ८० वर्षसम्म सक्रिय जीवन बिताएका उनको निधनले बैंकिङ, शिक्षा र आध्यात्मिक क्षेत्रले एक प्रेरणादायी व्यक्तित्व गुमाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.