शीतलहर र प्रदूषणको कहर

शीतलहर र प्रदूषणको कहर

यो हिउँदको याम हो । जाडोको मौसम हो । अरू बेला उखरमाउलो गर्मी हुने तराईका भूभाग यति बेला कठ्यांग्रिदो जाडोको ठिहिरोमा छन् । शीतलहरले ढपक्कै ढाकेको छ । तीन किलोमिटर बाक्लो हुस्सु लाग्दा तराईका भूभागमा स्थल यातायातकै साधन चल्न कठिन भइरहेको छ । हवाई यातायात पनि चल्न पाएका छैनन् ।

अधिकतर उडान कटौती छन्— भैरहवा, नेपालगन्ज, जनकपुर र सिमरालगायत विमानस्थलमा । हिउँद याममा नेपालतिर आउने वायु पश्चिमको हो । यसले देशैभरि चिसो बढाएको छ । पहाडहरू त पहारिला नै छन् । हिमाली भेगतिर अझै हिमपात भइसकेको छैन । चिसोचाहिँ तराईतिरै छ । तुलनात्मक हिसाबमा धेरै गरिबी भएको ठाउँमा चिसोको कहरले जनजीवन प्रभावित छ । विपन्न परिवारले कठ्यांग्रिँदो जाडोमा न्यानो पाएका छैनन् । कतिसम्म भने मान्छेहरू पनि पराल ओछ्याउने र ओढ्ने दुवै गर्न बाध्य छन् ।

चिसो मौसममा जब हुस्सु लाग्छ, जमिन चिसिन्छ र वायु मण्डलको माथिल्लो तहमात्रै तात्छ, प्रदूषण बीचमै अड्किन्छ । त्यसैले जाडोमा चिसोसँग प्रदूषणको अर्काे कहर पनि थपिन्छ । हावाहुरी नचलेको हुँदा प्रदूषण स्थिर भइरहेको छ । विषाक्त हावाले धेरै सहरलाई ढाकेको छ । भारतको दिल्ली त विश्वकै प्रदूषित सहरमा परेको छ ।

काठमाडौंलगायत नेपालका सहरमा पनि प्रदूषण कम्ती छैन । चिसो र प्रदूषण मौसमी घटनामात्रै होइनन् । मानवीय गतिविधिकै कारण विश्व तापक्रममा ठूलो फेरबदल आइरहेको छ । यसै वर्ष पनि अधिकतम र न्यूनतम तापक्रम धेरै हुने मौसमविद्हरूले भनिरहेकै छन् । 

प्रदूषणको मुख्य कारण तापक्रममा ठूलो फेरबदल आएको हो । सहरी र औद्योगिक गतिविधिले प्रदूषण बढाएको हो । जल तथा मौसम विज्ञान विभागले यो वर्ष हिउँदे वर्षा कम हुने प्रक्षेपण छ । पानी नपर्नु भनेको वायुमण्डल सफा नहुनु हो । धुलो र धुवाँ वायुमण्डलमै रहनु हो । दूषित हावाले मानवीय स्वास्थ्यलाई असर गर्नु हो । हिउँदमा पानी परेन भने हिउँदे बाली पनि सप्रिन पाउँदैन । त्यसको असर खाद्य संकट हो । खाद्य संकट वा चिसोले नागरिक प्रभावित हुनु राज्यको लज्जाको विषय हो । यसलाई हल गर्न सकिन्छ । आजको युगमा चिसोले कसैको ज्यान जानु हुँदैन । खरको छानोमुनि पराल ओछयाउने र ओढ्ने नागरिकको जीवनस्तर उकास्ने दीर्घकालीन योजनालाई सरकारले साकार पार्नुपर्छ । प्रदूषण नियन्त्रण गर्न कडा कानुन बनाएर कार्यान्वयन गर्नुपर्छ । वन फँडानी रोक्नुपर्छ । 

वातावरण संरक्षण गर्नुपर्छ । हरियाली बढाउनुपर्छ । नागरिकहरू पनि प्रदूषण कम गर्न जिम्मेवार बन्नुपर्छ । राज्य, निजी क्षेत्र र नागरिकको हातेमालोबाट मात्रै प्रदूषणबाट मुक्ति खोजी पहिल्याउन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.