शीतलहर र प्रदूषणको कहर
यो हिउँदको याम हो । जाडोको मौसम हो । अरू बेला उखरमाउलो गर्मी हुने तराईका भूभाग यति बेला कठ्यांग्रिदो जाडोको ठिहिरोमा छन् । शीतलहरले ढपक्कै ढाकेको छ । तीन किलोमिटर बाक्लो हुस्सु लाग्दा तराईका भूभागमा स्थल यातायातकै साधन चल्न कठिन भइरहेको छ । हवाई यातायात पनि चल्न पाएका छैनन् ।
अधिकतर उडान कटौती छन्— भैरहवा, नेपालगन्ज, जनकपुर र सिमरालगायत विमानस्थलमा । हिउँद याममा नेपालतिर आउने वायु पश्चिमको हो । यसले देशैभरि चिसो बढाएको छ । पहाडहरू त पहारिला नै छन् । हिमाली भेगतिर अझै हिमपात भइसकेको छैन । चिसोचाहिँ तराईतिरै छ । तुलनात्मक हिसाबमा धेरै गरिबी भएको ठाउँमा चिसोको कहरले जनजीवन प्रभावित छ । विपन्न परिवारले कठ्यांग्रिँदो जाडोमा न्यानो पाएका छैनन् । कतिसम्म भने मान्छेहरू पनि पराल ओछ्याउने र ओढ्ने दुवै गर्न बाध्य छन् ।
चिसो मौसममा जब हुस्सु लाग्छ, जमिन चिसिन्छ र वायु मण्डलको माथिल्लो तहमात्रै तात्छ, प्रदूषण बीचमै अड्किन्छ । त्यसैले जाडोमा चिसोसँग प्रदूषणको अर्काे कहर पनि थपिन्छ । हावाहुरी नचलेको हुँदा प्रदूषण स्थिर भइरहेको छ । विषाक्त हावाले धेरै सहरलाई ढाकेको छ । भारतको दिल्ली त विश्वकै प्रदूषित सहरमा परेको छ ।
काठमाडौंलगायत नेपालका सहरमा पनि प्रदूषण कम्ती छैन । चिसो र प्रदूषण मौसमी घटनामात्रै होइनन् । मानवीय गतिविधिकै कारण विश्व तापक्रममा ठूलो फेरबदल आइरहेको छ । यसै वर्ष पनि अधिकतम र न्यूनतम तापक्रम धेरै हुने मौसमविद्हरूले भनिरहेकै छन् ।
प्रदूषणको मुख्य कारण तापक्रममा ठूलो फेरबदल आएको हो । सहरी र औद्योगिक गतिविधिले प्रदूषण बढाएको हो । जल तथा मौसम विज्ञान विभागले यो वर्ष हिउँदे वर्षा कम हुने प्रक्षेपण छ । पानी नपर्नु भनेको वायुमण्डल सफा नहुनु हो । धुलो र धुवाँ वायुमण्डलमै रहनु हो । दूषित हावाले मानवीय स्वास्थ्यलाई असर गर्नु हो । हिउँदमा पानी परेन भने हिउँदे बाली पनि सप्रिन पाउँदैन । त्यसको असर खाद्य संकट हो । खाद्य संकट वा चिसोले नागरिक प्रभावित हुनु राज्यको लज्जाको विषय हो । यसलाई हल गर्न सकिन्छ । आजको युगमा चिसोले कसैको ज्यान जानु हुँदैन । खरको छानोमुनि पराल ओछयाउने र ओढ्ने नागरिकको जीवनस्तर उकास्ने दीर्घकालीन योजनालाई सरकारले साकार पार्नुपर्छ । प्रदूषण नियन्त्रण गर्न कडा कानुन बनाएर कार्यान्वयन गर्नुपर्छ । वन फँडानी रोक्नुपर्छ ।
वातावरण संरक्षण गर्नुपर्छ । हरियाली बढाउनुपर्छ । नागरिकहरू पनि प्रदूषण कम गर्न जिम्मेवार बन्नुपर्छ । राज्य, निजी क्षेत्र र नागरिकको हातेमालोबाट मात्रै प्रदूषणबाट मुक्ति खोजी पहिल्याउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !