क्यासिनो इभेन्टको आवरणमा ठगी धन्दा, डमी खेलाडीको आँखामा तास चिन्ने लेन्स
काठमाडौं : नेपालमा चार दिने क्यासिनो इभेन्ट सञ्चालन गरेर करौडौं ठगी गर्नेहरू पक्राउ परेका छन्। इभेन्टको बहानामा काठमाडौंको ठमेलस्थित अलफ्ट होटल परिसरमा सञ्चालित वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिमा भव्यरूपमा जुवा खेलिएको छ। क्यासिनो पर्यटन र धार्मिक पर्यटनको नाममा नेपालमा भारतीय समूहले नै भारतीय खेलाडीलाई बोलाएर सुनियोजितरूपमा ठगी गरेको हो।
ठगी गरेको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका छन्। त्यस्तै ३ जना नेपाली र ४ जना भारतीय फरार छन्। उनीहरूले सुनियोजित रूपमा जुवा खेलाएर भारतीय खेलाडीलाई नै ठगी गरेका हुन्।
केही दिनअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा एउटा अपुष्ट सूचना आयो। सूचनामा भनिएको थियो, ठमेलको छाया सेन्टरभित्र रहेको अलफ्ट होटलमा वाल्डो डाइनेष्टी इन्टरटेनमेन्टमा अवैध गतिविधि भइरहेको छ। क्यासिनो इभेन्टको बहानामा भारतबाट डमी खेलाडी ल्याएर, ठगी धन्दा चलिरहेको छ। यो सूचना पछ्याउँदै परिसरको टोली होटल अलफटमा पुग्यो। अनि सुरु भयो क्यासिनो इभेन्टको नाममा नेपालमा भइरहेको ठगी धन्दाको विस्तृत अनुसन्धान।
गत डिसेम्बर ११ बाट क्यासिनो इभेन्ट सुरू भयको थियो। सोही दिन राति १२ बजे प्रहरीले उक्त इभेन्टमा छापा मारेको थियो। इभेन्ट सुरू भएको ६/७ घण्टामा करिब १ करोड ७० लाख बराबरको हारजित भइसकेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार, क्यासिनो इभेन्टका लागि आयोजक महाकाय गुप्रले डमी खेलाडीहरू नेपाल ल्याएको थियो। जसमा मोनो भन्ने निरज कुमार, गौरव खत्री, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, हिरा शेखर मल्ली, पुरी, कमल खरवन्दा, मुकेशलगायत थिए। खेलाडीलाई राख्नका लागि होटल अलफ्ठमा ४० वटा कोठा बुक, होटल म्यारियटमा ५० वटा कोठा बुक, होटल र्याडिसनमा २० वटा कोठा बुक गरिएको थियो।
डमी खेलाडीले जुवा खेल्दा तासमा म्याग्नेट राखिएको चिप्स र आँखामा लेन्स प्रयोग गरेर अन्य खेलाडीहरूलाई हराएर ठग्ने गरेका थिए। आँखामा लगाएको निलो लेन्सले आरोपीहरूले म्याग्नेट लगाएको तास पहिल्यै नै चिन्छन्। तासमा पहिले नै चिप्स जडान गर्ने र त्यसको कनेक्सन आँखामा प्रयोग गरिने लेन्ससँग जोडेर जुवा जित्ने गरेका थिए। आँखामा लेन्स प्रयोग गरेकाहरूले पहिले नै तास चिन्छन्, हारजितबारे थाहा पाउँछन्। त्यसबारे थाहा नभएका खेलाडीहरूलाई हराएर उनीहरूले करोडौं जित्ने गरेका थिए। यस्तो खेल नेपाल, भारत श्रीलंका, भियतनाम, कम्बोडियामा समेत हुने गर्छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार एक कार्यक्रम गरी यो ठगी धन्दाको विषयमा जानकारी गराएको छ। परिसरका एसएसपी रमेश थापाका अनुसार, भारतीय प्रहरीले मङ्सिर २६ मा महाकाय समूहका मुख्य व्यक्ति ५७ वर्षीय सुरेश महाजनसहित ६ जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्दा आँखामा लगाउने निलो लेन्स लगाएर, म्याग्नेट मिसिएको तास क्यासिनो प्रवेश गराएर ठगी गरिएको खुलेको छ। एसएसपी थापा भन्छन्, 'ठगी गर्नका लागी नेपाली महिलालाई समेत महाकाय ग्रुपको डिलर कर्मचारीको रूपमा क्यासिनोमा प्रवेश गराइएको थियो।'
उक्त क्यासिनो इभेन्ट आयोजना गरेको थियो, महाकय गुप्रले। यसका प्रमुख हुन्, सुरेस महाजन। उनकै नेतृत्वमा यो ठगी धन्दा चलेको थियो। चार दिनको क्यासिनो इभेन्टका लागि भनेर दुई सय जना भारतीय खेलाडी नेपालमा आएका थिए। उनीहरूले १ करोड ७० लाख बराबरको जुवामा हारजित भएको प्रहरीको अनुमान छ। नेपालको कम्पनी विपी ग्रुपले इभेन्ट म्यानेजमेन्टमा सघाएको थियो।
विपी ग्रुपका विनोद भन्ने जर्नादन उप्रेती आफैं पनि क्यासिनोमा जुवा खेलेका थिए। उनले नै नेपालको सबै म्यानेज गरेका थिए। जर्नादन अहिलेसम्म फरार छन्। उनले भारतीय खेलाडीलाई नेपाल ल्याउने, उनीहरूलाई साइड सिन गराउने, प्लेन टिकट, होटल खर्च, क्यासिनोको टेबल बुकिङलगायतका व्यवस्थापन गरेका थिए। भारतबाट ल्याइएका डमी खेलाडी र डिलर कर्मचारीलाई व्यवस्थापन गरेका थिए। अन्य खेलाडीलाई व्यवस्थापन गरेका थिए।
नेपाली महिला पाण्डे र खड्का क्यासिनोमा तास वितरण गर्ने कर्मचारी ‘डिलर’ हुन्। उनीहरू भारतबाटै आएका हुन्। तास बाँड्ने र इभेन्ट सञ्चालकले परिचालन गरेको डमी खेलाडीको बीचमा पनि तास वितरण गर्दा प्राविधिक रूपमा ‘कनेक्सन’ हुने गर्छ। उनीहरूले नियोजित रूपमा नै अन्य खेलाडीलाई हराउने तरिकाले तास खेल्छन्। यसरी डमी खेलाडीलाई जिताएर इभेन्ट आयोजकले रकम उठाउने गरेको खुलेको छ। प्रहरीका अनुसार जितेको रकममध्ये ९० प्रतिशत आयोजक र १० प्रतिशत डमी खेलाडीले लिने सहमति थियो। महाकाय समूहले यसअघि बौद्धस्थित प्राइड क्यासिनोमा इभेन्ट सञ्चालन गर्दै आएको थियो।
प्रहरीका अनुसार नेपालीलाई क्यासिनो प्रवेश निषेध छ। यसैले पनि पैसा भएका र जुवाको लत बसेको भारतीय खेलाडीलाई नेपाल ल्याएर ठगी गर्ने गरेको खुलेको छ। मुख्य व्यक्ति महाजनले भारतीय व्यापारीलाई पशुपति दर्शन, साइड सिन र निःशुल्क होटल सुविधा दिने ‘प्याकेज’ बनाएर विज्ञापन गर्थे। पैसावाल व्यापारीलाई प्रलोभनमा पारेर छानीछानी काठमाडौं ल्याएर ठगी गर्थे। आयोजकले ठगी गर्न सघाउने डमी खेलाडीलाई छाया सेन्टरको अलफ्ट होटलमा राखेको र अन्यलाई अन्त राखेका थिए। होटलको कोठा चेकजाँच गर्दा उनीहरूको सिरानीबाट समेत आँखामा लगाउने लेन्स फेला परेको थियो। इभेन्ट सञ्चालन गर्न उनीहरूले भारतबाटै चिप्स जडान गरिएको ५० प्याकेट तास र ४ सेट लेन्स ल्याएका थिए। पक्राउ परेका व्यक्तिहरुलाई ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !