मालपोत कार्यालय झापाको सम्पूर्ण सेवा ठप्प
झापा : झापास्थित भूमि तथा मालपोत कार्यालय भद्रपुरको सम्पूर्ण सेवा ठप्प बनेको छ । कार्यालयले शुक्रबार एउटा सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा ठप्प बनेको जानकारी गराएको हो ।
कार्यालयको सिस्टम पावर एक्सेस राउटर बिग्रिन गई कार्यालयको अनलाइन कम्प्युटर सिस्टममा भएको अवरोधका कारण प्रवाह हुने सेवा अवरुद्ध भएको हुँदा सिस्टम पावर एक्सेस राउटर विभागबाट प्राप्त नहुन्जेलसम्म सम्पूर्ण सेवाहरू स्थगित भएको सूचनामा उल्लेख छ ।
प्रमुख मालपोत अधिकृत लेवनकाश्यव अधिकारीका अनुसार सिस्टम पावर एक्सेस राउटरमा शुक्रबार बिहान एक्कासी समस्या आएका कारण कुनै सिस्टम नचल्दा सेवा प्रभाव हुन नसकेको बताए । विभागबाट सिस्टम पावर एक्सेस राउटर आजै माग गरिसकिएकोले आइतबारदेखि पुनः सेवा सुचारू हुने उनले बताए ।
यता कार्यालयको प्राविधिक समस्याका कारण बिहानैदेखि सेवा लिन पुगेका सेवाग्राही त्यतिकै फर्किन बाध्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस !