सौराहामा हात्ती महोत्सव
चितवन : पर्यटकीय आकर्षणका लागि चितवनको सौराहामा हात्ती महोत्सव सुरु भएको छ। पर्यटकीय नगरी सौराहामा १९औं हात्ती महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका छन्।
पर्यटन प्रवर्धनका लागि हात्ती महोत्सव गरिँदै आएको छ। पशु अधिकारकर्मीले विरोध गरे पनि हात्तीलाई यातना नभएको आयोजकको दाबी छ। महोत्सवका संयोजक गुणराज थपलिया भन्छन्, ‘हात्तीलाई जुन हिसाबले बाहिर कुरा आएको छ त्यो सत्य होइन,’ उनले भने, ‘हात्तीलाई हामी यातना दिएर होइन, माया गरेर स्याहार गरेका छौं। यो विशुद्ध पर्यटन प्रवर्धनका लागि गरेका हौं।’
बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हात्तीको संरक्षण गरेर लोपोन्मुख हुनबाट रोक्ने बेला आएको बताए। ‘हात्तीको संरक्षणका लागि सबै जिम्मेवार हुनुपर्छ। संरक्षणले हात्ती र मानवलाई नजिक बनाएको छ। हात्तीको संख्या घट्दै जानु चिन्ताको विषय हो। यसको संरक्षण आजको बहसको विषय बनााउनुपर्छ।’
रत्ननगर नगरपालिका संरक्षक र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सह(आयोजक रहेको छ। पहिलो दिन हात्तीको पेनाल्टी सुटआउट गरिएको थियो। मुख्यमन्त्री बानियाँले हात्तीलाई बल दिएर उद्घाटन गरिएको हो। महोत्सवअन्तर्गत, हात्ती शृंगार प्रतियोगिता, हात्तीको वनभोज, हात्तीको स्वास्थ्य र हात्तीको दिनचर्याबारे जानकारी तथा हात्तीको पूजा गर्ने कार्यक्रम रहेको अध्यक्ष ओमप्रकाश पाण्डेले बताए।
हात्ती महोत्सवमा सरकारी र निजी गरी ८० वटा हात्ती सहभागी छन्। महोत्सवले हरेक पर्यटक बढेको अध्यक्ष पाण्डेले बताए।
प्रतिक्रिया दिनुहोस !