चितवनमा हात्तीहरूको क्याटवाक

चितवनमा हात्तीहरूको क्याटवाक

चितवन : चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रबार सुरु भएको हात्ती तथा पर्यटन महोत्सव शनिबार एक अनौठो तर मनमोहक दृश्यको साक्षी बन्यो।  बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आयोजित हात्ती सुन्दरी प्रतियोगिता हेर्न सयौं दर्शकहरू भेला भए। रंगीन वातावरण, उत्साहित दर्शक र सिंगारिएका हात्तीहरूले सौराहालाई कुनै उत्सवस्थल जस्तै बनाइदिएको थियो।

टाउकोमाथि सिन्दुरको झल्को दिने अबिर, शरीरको बीच भागमा नेपाली राष्ट्रिय झन्डा अंकित सजावट र पछ्यौराको आभास दिने ढाँचामा सजिएकी ४० वर्षीया ‘पुनमकली’ मैदानमा प्रवेश गर्दा दर्शकहरूले ताली र हुटिङले स्वागत गरे। पोखराको ल्यान्डमार्क होटलको प्रतिनिधित्व गर्दै सहभागी भएकी पुनमकलीले आफ्नो आकर्षक रूप, शालीन चालढाल र अनुशासित प्रस्तुतिले सबैको मन जित्दै अन्ततः ‘हात्ती सुन्दरी’ को उपाधि हात पारिन्।

प्रतियोगितामा पाँचवटा हात्ती सहभागी थिए, जसले क्याटवाकमा उत्रिएर आफ्नो सौन्दर्य र अनुशासन प्रस्तुत गरेका थिए। निर्णायकहरूले हात्तीहरूको शृंगार, सजावट, सरसफाइ, नङको अवस्था, आँखाको चमक, कान र सुँडको स्वच्छता, साथै चालकको अनुशासन, आदेश पालन, अनुभव र हतियार प्रयोग भए–नभएका आधारमा मूल्यांकन गरेका थिए।

निर्णायक विनोद तिमिल्सिनाका अनुसार, ‘यो प्रतियोगिता केवल मनोरञ्जन मात्र होइन, हात्तीलाई पनि मानिसजस्तै सफा, सुन्दर र सम्मानपूर्वक राख्न सकिन्छ भन्ने सन्देश दिनका लागि हो।’ 

सह–आयोजक संस्था युनाइटेड हात्ती सञ्चालन सहकारीका व्यवस्थापकसमेत रहेका तिमिल्सिनाले दर्शकहरू प्रतियोगिताबाट निकै रमाएको बताए। अन्य पाँच प्रतिस्पर्धीलाई पछि पार्दै पुनमकलीले उपाधिसँगै दर्शकको मन पनि जितिन्। बर्दिबासको गौतम होटलको प्रतिनिधित्व गर्ने सेल्फीकली दोस्रो र काठमाडौंको हेरिटेज टुर्स एन्ड ट्राभलको चम्पाकली तेस्रो हुन सफल भए।

महोत्सवका संयोजक गुणराज थपलियाका अनुसार, ‘यो केवल हात्तीको प्रतियोगिता होइन, संरक्षणको सन्देश पनि हो। मानिस मात्र होइन, जनावर पनि सफा, स्वस्थ र सम्मानित जीवन पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो।’ महोत्सवअन्तर्गत शनिबार नै भएको डुंगा दौड प्रतियोगितामा कुमारोज मध्यवर्ती सामुदायिक वन प्रथम, रत्ननगर नगरपालिका दोस्रो र बाघमारा सामुदायिक वन तेस्रो भए। महोत्सवमा क्षेत्रीय होटल संघका महासचिव महेश खनालले विगतका यस्ता कार्यक्रमले पर्यटन प्रवर्धनमा सकारात्मक भूमिका खेलेको बताए। 

संघका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार नयाँ वर्षको अवसरमा पर्यटक भित्र्याउने उद्देश्यले हात्ती तथा पर्यटन महोत्सव आयोजना गरिएको हो, जुन आइतबारसम्म चल्नेछ। सौराहामा आयोजित यो महोत्सवले  मनोरञ्जनसँगै संरक्षण, सरसफाइ र पर्यटन प्रवर्धनको सशक्त सन्देश दिएको सहभागीहरूले 
बताएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.