अबको राजनीति : विचार कि अनुहार ?
वैकल्पिक राजनीतिको यो संकटलाई समाधान गर्न राजनीतिक शक्तिहरूले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ।
मुलुकको राजनीति लामो समयदेखि अल्मलिएको छ। मुलुकले नयाँ संविधान त पाएको छ, तर राजनीतिले सही दिशा पाउन अझै बाँकी छ। कारण स्थापित दलहरूको कार्यशैली पुरानै छ भने शासकीय विचलन बाँकी नै छ। लामो समयदेखिको राजनीतिक संक्रमणबाट नागरिक आजित भइसकेका छन्। मुलुकमा वैकल्पिक राजनीतिको खोजी तीव्र भएको छ। यो खोजी कुनै सैद्धान्तिक प्रयोगशालाको परिणाम होइन। यो त स्थापित दलहरू प्रणाली सञ्चालनमा असफल देखिँदाको प्रतिविम्ब हो।
यद्यपि, विकल्पको खोजी लामो समयदेखि चलेको भए पनि नेपाली राजनीतिले भरपर्दो विकल्प भने पाउन सकेको छैन। नागरिकको भरोसा बारम्बार निर्णायक मोडमा आएर टुट्ने गरेको छ। नयाँ विचार, सिद्धान्त, विधि र राजनीतिक संस्कारको संस्थागत विकास कि लोकप्रिय अनुहारको देवत्वकरण ? यही प्रश्नको सही जवाफ खोज्न नसकेर नेपाली राजनीति फसेको र अड्किएको देखिन्छ। यसले वैकल्पिक राजनीतिको मर्मलाई नै कमजोर बनाउँदै लगेको छ। जसको सजीव चित्रण विगत एक दशकका राजनीतिक घटनाक्रमहरूमा स्पष्ट देखिन्छ।
वैकल्पिक राजनीतिको बीजारोपण गर्ने कार्यमा उज्ज्वल थापाको भूमिका अग्रणी छ। उनले परम्परागत पार्टी संरचना, सिद्धान्त र नेताको भन्दा फरक नयाँ विचारधारा लिएर सामाजिक सञ्जालको शक्तिमार्फत युवालाई राजनीतिमा जोड्ने प्रयास गरे। उनको दर्शन व्यक्तिगत लोभभन्दा माथि उठेर पारदर्शी र सुसंस्कृत राजनीति स्थापना गर्नेमा केन्द्रित थियो। यही विचारको व्यावहारिक स्वरूप दिने प्रयासस्वरूप विवेकशील नेपाली दलको स्थापना भयो र पछि साझा पार्टीसँग एकीकरण भई विवेकशील साझा पार्टीको स्थापना भएको थियो। यो पार्टी वैकल्पिक शक्तिको सबैभन्दा ठूलो प्रयोग थियो।
तर, यसको अवशान हुनुको प्रमुख कारण नै विचारको हार र अनुहारको टकराव थियो। पार्टीको आधारभूत सिद्धान्त र रणनीतिमा भन्दा संयोजकहरू रवीन्द्र मिश्र र उज्ज्वल थापाबीचको व्यक्तित्वको विवाद बढ्न थाल्यो। दुई व्यक्तिको जुँगाको लडाइँले संस्थागत एकतालाई नै ध्वस्त पारिदियो। यसले स्थापित गर्यो कि दुई अनुहार जोड्दैमा नयाँ विचारको सिर्जना हुँदैन, बरु व्यक्तिवाद हावी हुँदा वैचारिक जग भत्किन्छ।
यसै शृंखलाको अर्को महत्त्वपूर्ण प्रयास थियो, डा. बाबुराम भट्टराईको नयाँ शक्तिको उदय र विलय। स्थापित राजनीतिक दलबाट मुलुकको प्रधानमन्त्री भइसकेका नेताले नयाँ राजनीतिक संस्कारको विकास गर्ने दाबीसहित पार्टी खोले। तर पनि पुरानो संस्थागत संस्कार र व्यवहारबाट पूर्ण रूपमा मुक्त हुन सकेनन्। नयाँ पार्टीको उदय त भयो तर वैचारिक अस्पष्टता, दीर्घकालीन सांगठनिक रणनीतिको अभाव र पुरानै नेतृत्व शैलीका कारण यो शक्ति टिक्न सकेन। अन्ततः छोटो समयमै अन्य दलसँग विलयको बाटो रोज्न बाध्य भयो। यसले प्रमाणित गर्यो कि पुरानो वा स्थापित अनुहारले नयाँ ब्रान्डको खोल ओढेर मात्र वैकल्पिक राजनीति दिन सक्दैन, त्यसका लागि नयाँ राजनीतिक संस्कार अपरिहार्य छ।
यी असफलताहरूको पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कथा आजको सबैभन्दा सफल तर खतरनाक वैकल्पिक राजनीतिको प्रयोग हो। रास्वपाको उदय कुनै लामो वैचारिक विमर्श, संगठनात्मक संघर्ष वा नीतिगत बहसको परिणाम होइन, यो त एक लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेको अनुहार, सञ्चारमाध्यममा उनको पहुँच र आक्रोशित जनमतको भरोसा बन्न सक्ने क्षमताको सफलता हो। रास्वपाले छोटो समयमै स्थापित दलहरूले वर्षौं लगाएर नपाएको सफलता पाएको छ, तर सफलता र रास्वपाको सम्पूर्ण शक्ति रविको लोकप्रियतामा आश्रित छ। अहिले पनि पार्टी नीति, विचार र आन्तरिक लोकतन्त्रभन्दा बाहिर नै रहेको छ। आफ्नो नेताको प्रतिरक्षा र लोकप्रियतावादलाई नै आफ्नो मूलधन र मूलमन्त्र बनाएको देखिन्छ। वैकल्पिक राजनीतिको बहस विचारको शुद्धता, निष्ठा, विधि र राजनीतिक संस्कारको संस्थागत विकासभन्दा लोकप्रिय तथा प्रभावशाली अनुहारको खोजीमा सीमित हुन पुगेको छ।
नेपाली राजनीतिमा वैकल्पिक राजनीतिको खोजी यो सतहसम्म झर्नुमा रास्वपाको सफलता प्रमुख कारण हो। यही प्रवृत्तिलाई अपनाएर सफलता हात पार्ने प्रयासहरू अहिले विभिन्न व्यक्ति र तहबाट भइरहेको छ। धरानका मेयर हर्क साम्पाङ, प्रभावशाली र इमान्दार टेक्नोक्र्याट कुलमान घिसिङको सफलता र लोकप्रियतालाई राजनीतिको केन्द्रमा ल्याउने जनआवाज तथा प्रयास र स्वतन्त्रहरूको उदय यसैको ज्वलन्त उदाहरण हो। स्थापित दलहरूले जनविश्वास गुमाइसकेकाले अहिले जनताले संस्था होइन, प्रभावकारी व्यक्ति खोजेको देखिन्छ। यो प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक छ, किनकि यसले लोकतान्त्रिक संस्थाको विकासलाई पछाडि धकेल्दै व्यक्तिवादी संस्कृति र शासनतिर मुलुकलाई डोर्याउन सक्छ।
वैकल्पिक राजनीतिको यो संकटलाई समाधान गर्न राजनीतिक शक्तिहरूले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ। जबसम्म नयाँ दलहरूले स्थापित दलहरूको आलोचना मात्र गर्ने तर आफू केही नगर्ने, सत्तालिप्सामै रमाउनेजस्ता पुराना दलकै प्रवृत्ति त्याग्दैनन्, वैचारिक अस्पष्टतालाई चिर्दैनन्, तबसम्म उनीहरू स्थापित दलका लागि अंगुलीमाल साबित हुने बाहेक केही गर्न सक्दैनन्। नेपालको राजनीतिलाई साँचो अर्थमा निकासको सही दिशा दिनका लागि अनुहारको क्षणिक चमकभन्दा विचारको दीर्घकालीन स्थायित्व, सिद्धान्त, विधि र राजनीतिक संस्कारको संस्थागत विकास आवश्यक छ। जबसम्म राजनीतिक संस्कारले व्यक्तिको देवत्वकरणभन्दा नीतिको शुद्धतालाई प्राथमिकता दिँदैन, तबसम्म वैकल्पिक राजनीतिको खोजी अनुहारको भ्रममै भौंतारिरहनेछ।
बुद्धलाई मार्न आएका अंगुलीमाल कसरी रोकिए ? महात्मा बुद्धको समयमा अंगुलीमाल नामका एक डरलाग्दा डाँकु थिए। मानिसहरू अंगुलीमालको नाम सुनेर डराउँथे। उनी बस्ने जंगलमा, जाने हिम्मत कसैले गर्दैनथिए। उनी मानिसहरूको हत्या गरेर औंलाको माला लगाउँथे। गाउँका सबै मानिस त्रसित थिए र डाँकुको आतंकबाट छुटकारा चाहन्थे। एक दिन गौतमबुद्ध त्यस गाउँमा पुगे। गाउँलेहरूले अंगुलीमालको आतंकको पूरै कथा उनलाई सुनाए। भोलिपल्ट महात्मा बुद्ध त्यसै जंगलतर्फ निस्किए।
अंगुलीमालले टाढाबाट देखे, एक गेरु वस्त्रधारी, प्रशान्त पुरुष आइरहेका छन्। उनले हातमा तलबार लिए र बुद्धतर्फ दौडिँदै भने, ‘रोक !’ बुद्धले भने, ‘म त धेरै पहिले नै रोकिएको छु तर तिमी कहिले रोकिन्छौं ? अंगुलीमालले भने, ‘सन्न्यासी तिमीलाई मसँग डर लाग्दैन ? तिमीसँग जे जे छ, निकाल नत्र तिमी मारिनेछौ। म यस राज्यको सबैभन्दा शक्तिशाली व्यक्ति हुँ।’ बुद्ध अलिकति पनि डराएनन् र भने, ‘म यो कसरी मानौं कि तिमी यस राज्यको सबैभन्दा शक्तिशाली मानिस हौ भनेर ? तिमीले यो प्रमाणित गर्नुपर्नेछ।’ अंगुलीमालले भने, ‘कसरी साबित गर्ने ?’
बुद्धले हाँस्दै भने, ‘यो रुखको दुई पत्ता देऊ।’ अंगुलीमाल रुखको हाँगा लुछेर बुद्धको हातमा दिए। बुद्धले दुई पत्ता चुँडेर अंगुलीमाललाई दिँदै भने, ‘लेऊ यसलाई रुखमा जोड।’ विस्मित भएर उनले बुद्धतर्फ हेरेर भने, ‘जुन हाँगा रुखबाट अलग भएको छ, त्यसलाई कसरी जोड्न सकिन्छ ?’ बुद्धले भने, ‘मैले त तिमीसँग दुई पात मागें, तिमीले त पूरै हाँगा तोड्यौ। किन ? फेरि तिमी जसलाई जोड्ने शक्ति राख्दैनौ, त्यसलाई किन तोड्छौ ? जुन मानिसहरूको औंलालाई तिमी जोड्न सक्दैनौ त्यसलाई तिमी किन काट्छौ ? तिमी मलाई भन्दै थियौ रोक भनेर तर तिमी यस दुष्कर्मबाट कहिले रोकिन्छौ ? तिम्रो अशान्त र चञ्चल मन कहिले रोकिन्छ ?’ बुद्धको वाणीले अंगुलीमालको हृदयलाई परिवर्तन गरिदियो। उसले बुद्धको चरण पक्रिए। क्षमा माग्दै शरणको भिख मागे।
प्रतिक्रिया दिनुहोस !