मादुरो दम्पती पक्राउ गरेर ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्‍यो : पूर्वउपराष्ट्रपति ह्यारिस

मादुरो दम्पती पक्राउ गरेर ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्‍यो : पूर्वउपराष्ट्रपति ह्यारिस

वाशिङ्टन :अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अमेरिकी प्रशासनले नियन्त्रणमा लिएको घटनालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको कडा आलोचना गरेकी छिन्। उनले उक्त कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै गरिएको 'अवैध' र 'अनावश्यक' कारबाहीको संज्ञा दिएकी छिन्।

सामाजिक सञ्जाल प्लेटफर्म X मा धारणा सार्वजनिक गर्दै ह्यारिसले मादुरो 'क्रूर' र 'अवैध' शासक भएको स्वीकार गरे पनि त्यसको बहानामा गरिएको अमेरिकी हस्तक्षेपले अमेरिकाको सुरक्षा, शक्ति र आर्थिक हितलाई कुनै पनि रूपमा मजबुत नबनाउने स्पष्ट पारेकी छिन्।

'भेनेजुएलामा डोनाल्ड ट्रम्पले गरेको कार्यले अमेरिकालाई न त सुरक्षित बनाउँछ,न बलियो, न त बढी लागत–प्रभावी,'ह्यारिसले लेखेकी छिन्, 'मादुरो एक क्रूर र अवैध तानाशाह हुन सक्छन्, तर त्यसले यो कारबाही गलत र अवैध थियो भन्ने यथार्थलाई परिवर्तन गर्दैन। यस्तो परिदृश्य हामीले इतिहासमा पटक–पटक देखिसकेका छौँ।'

‘तेल र शासन परिवर्तनका नाममा युद्ध’

ह्यारिसले ट्रम्प प्रशासनको कदमलाई शासन परिवर्तन र तेलसँग जोडिएको राजनीतिक स्वार्थ बाट प्रेरित भएको आरोप लगाएकी छिन्। उनका अनुसार यस्ता कारबाहीलाई प्रायः शक्ति प्रदर्शनका रूपमा प्रस्तुत गरिए पनि अन्ततः ती अराजकता, अस्थिरता र दीर्घकालीन संकटमा परिणत हुने गरेका छन्।

'शासन परिवर्तन वा तेलको नाममा लडिएका युद्धहरूलाई शक्ति प्रदर्शनको रूपमा बेचिन्छ,'उनले भनेकी छिन्, 'तर अन्ततः त्यसको मूल्य अमेरिकी परिवारहरूले चुकाउनुपर्छ- चाहे त्यो करको भार होस्, सैनिक क्षति होस् वा विश्वव्यापी अस्थिरताको परिणाम।'

मादुरो दम्पती अमेरिका लगिएको पुष्टि

अमेरिकी तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरी भेनेजुएलाबाट अमेरिका लगिएको छ। यो घटनाले लाटिन अमेरिकी क्षेत्र मात्र होइन, विश्व राजनीतिमा समेत गम्भीर तरंग पैदा गरेको छ। भेनेजुएलाले यसलाई आफ्नो सार्वभौमिकतामाथिको खुला हस्तक्षेपको रूपमा व्याख्या गरेको छ भने केही अमेरिकी सहयोगी राष्ट्रहरू पनि घटनाप्रति असहज देखिएका छन्।

लागुपदार्थ र लोकतन्त्रको बहाना ?

ह्यारिसले ट्रम्प प्रशासनले दिएको आधिकारिक तर्कलाई पनि कडा रूपमा अस्वीकार गरेकी छिन्। उनका अनुसार यो कारबाही न त लागुपदार्थ तस्करी नियन्त्रणका लागि गरिएको हो, न त लोकतन्त्र प्रवर्द्धनका लागि। 'यदि राष्ट्रपति ट्रम्पलाई साँच्चै लागुपदार्थ तस्करी वा लोकतन्त्रको चिन्ता भएको भए,'ह्यारिसले लेखेकी छिन्,'उनले एक दोषी लागुऔषध तस्करलाई माफी दिने थिएनन्,न त मादुरोका निकटवर्तीहरूसँग सम्झौता गर्दै भेनेजुएलाको वैध विपक्षी शक्तिलाई नै कमजोर बनाउने थिए।'

अमेरिकी राजनीतिमा चर्किंदो बहस

अमेरिकाभित्र ट्रम्प प्रशासनको विदेश नीतिमाथि बहस थप चर्किएको छ। डेमोक्र्याटिक नेताहरूले यस कदमलाई अन्तर्राष्ट्रिय कानुनविपरीत, जोखिमपूर्ण र दीर्घकालीन रूपमा अमेरिकाकै हितविरुद्ध भएको दाबी गरिरहेका छन्। उता ट्रम्प समर्थकहरूले भने यसलाई अमेरिकी हित र सुरक्षा सुनिश्चित गर्न चालिएको कठोर तर आवश्यक कदमको रूपमा बचाउ गरिरहेका छन्।

विश्लेषकहरूका अनुसार मादुरो दम्पती पक्राउको घटनाले अमेरिका–लाटिन अमेरिका सम्बन्ध,विश्वव्यापी कूटनीति र ऊर्जा राजनीतिमा गहिरो प्रभाव पार्ने सम्भावना छ। आगामी दिनमा यस विषयमा अमेरिकी कांग्रेस,अन्तर्राष्ट्रिय निकाय र संयुक्त राष्ट्रसंघमा समेत तीव्र बहस हुने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.