धनुषामा मस्जिद तोडफोड, वीरगन्जमा तनावग्रस्त
वीरगन्ज: धनुषामा मस्जिदमा भएको तोडफोडको विरोधमा वीरगन्जमा आइतबार बिहानैदेखि मुस्लिम समुदायले प्रदर्शन गरेका छन्। धनुषाको धनुकमला नगरपालिका–६,सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड र मुस्लिम धर्मावलम्बीको ग्रन्थ कुरान जलाएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।
त्यसैको विरोधमा वीरगन्जमा मुस्लिम समुदायले आइतबार बिहानैदेखि प्रदर्शन गरेका हुन्। वीरगन्जको घण्टाघर,मुर्ली,छपकैयाको इद्यगहा चोक लगायतका स्थानमा उनीहरूले सडकमै टायर बालेर नाराबाजी गरेका छन्।
त्यसक्रममा छपकैयाको इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप पनि भएको छ । प्रदर्शन उग्र बन्दा प्रहरीले स्थिति नियन्त्रणमा लिन ५ राउण्ड अश्रु ग्यास पनि प्रहार गरेको थियो । त्यसक्रममा एकजना प्रहरी सामान्य घाइते भएका छन् ।
प्रदर्शनमा सहभागीहरूले मुस्लिम धर्मावलम्बीको पवित्रस्थल मस्जिदमा पसेर तोडफोड गर्ने र धार्मिक ग्रन्थ कुरान जलाउनेलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरेका छन्। नेपालमा धार्मिक दंगा भड्काउने नियतले मुस्लिम धर्मावलम्बीको पवित्रस्थल मस्जिदमा पसेर तोडफोड गर्ने र धार्मिक ग्रन्थ कुरान जलाउने कार्य भएकोले त्यसको विरोधमा आफूहरू प्रदर्शनमा उत्रिएको छपकैया मदरशाका मौलाना असगर मदमीले बताए । उनले उक्त घटनामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे।
प्रतिक्रिया दिनुहोस !