मस्जिद तोडफोडको विरोधमा वीरगन्जमा प्रदर्शन, प्रहरी बिटमाथि ढुंगामुढा,केही घाइते
वीरगन्ज : मस्जिदमा तोडफोड गरिएको विरोधमा वीरगन्जमा आइतबार बिहान प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले वीरगन्ज–३ छपकैयास्थित नेपाल प्रहरीको बिटमा तोडफोड पनि गरेका छन् ।
वीरगन्जका चोकचोकमा टायर बालेर प्रदर्शनमा उत्रिएका मुस्लिम समुदायका युवाहरूले प्रदर्शनकै क्रममा छपकैयास्थित श्रीराम चलचित्र भवन अगाडिको प्रहरीबिटमा ढुंगामुढा गर्दै तोडफोड गरेका हुन् । तोडफोडबाट प्रहरी बीटको झ्यालको शीशा फुट्नका साथै अन्य संरचनामा पनि क्षति पुगेको छ ।
प्रदर्शनकारीहरुको ढुंगामुढा प्रहारबाट प्रहरी बीटमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताए । प्रहरी बीटमाथि ढुंगामुढा हुन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जका साथै ५ राउण्ड अश्रु ग्यास पनि प्रहार गर्नु परेको उनले बताए ।

प्रदर्शनकारीले हानेको ढुंगाले लागेर प्रहरीतर्फ ४ जना सुरक्षाकर्मी सामान्य घाइते भएको उनले बताए । यस्तै प्रहरीको लाठी चार्जबाट एकजना प्रदर्शनकारी घाइते भएका छन् । दिउँसो १ बजेपछि यता वीरगन्जको अवस्थामा सामान्य बन्दै गएको उनले बताए ।
धनुषाको धनुकमला नगरपालिका–६ सखुवा मरानमा दुई फरक समुदायबीच भएको विवादपछि त्यहीको मस्जिदमा एक समुहले प्रवेश गरी तोडफोड र मुस्लिम धर्मावलम्बीको ग्रन्थ कुरान जलाएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।
त्यसैको विरोधमा वीरगन्जमा आइतबार बिहानैदेखि मुस्लिम समुदायले प्रदर्शन गरेका हुन्।वीरगन्जको घण्टाघर,मुर्ली,छपकैयाको इदगाह चोक, गण्डक चोक लगायतका स्थानमा उनिहरुले सडकमै टायर बालेर नाराबाजी गरेका थिए्।
प्रदर्शनमा सहभागीहरुले मुस्लिम धर्मावलम्बीको पवित्रस्थल मस्जिदमा पसेर तोडफोड गर्ने र धार्मिक ग्रन्थ कुरान जलाउनेहरुलाई तत्काल पक्राउ गरि कारबाही गर्नुपर्ने माग गरेका थिए ।
नेपालमा धार्मिक दंगा भड्काउने नियतले मुस्लिम धर्मावलम्बीको पवित्रस्थल मस्जिदमा पसेर तोडफोड गर्ने र धार्मिक ग्रन्थ कुरान जलाउने कार्य भएकोले त्यसको विरोधमा आफूहरू प्रदर्शनमा उत्रिएको छपकैया मदरशाका मौलाना असगर मदमीले बताए ।
उनले उक्त घटनामा संलग्नहरूलाई सरकारले तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस !