ओखलढुंगामा ३ जनाको शृखंलाबद्ध हत्या

ओखलढुंगामा ३ जनाको शृखंलाबद्ध हत्या

ओखलढुंगा : जिल्लामा शृंखलाबद्ध रूपमा हत्या तथा लुटपाट गर्ने गिरोह पक्राउ परेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको अनुसन्धान टोलीले अभियुक्तहरू पक्राउ गरेको हो। तीन महिनायता ओखलढुंगामा दुईवटा छुट्टाछुट्टै घटनामा तीन जनाको वीभत्स हत्या गर्ने ४ जनाको गिरोहलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका–३, दियाले बस्ने २८ वर्षीय मिलन भन्ने संगम राई, सोही गाउँपालिका–४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नम्बर ८ माम्खा बस्ने ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल छन्। विनोद राईलाई शुक्रबार दियालेबाट पक्राउ गरिएको हो भने बाँकी ३ जनालाई हिजो रातमाटेबाट पक्राउ गरिएको हो।

४ जनाको समूहले गत पुस १५ गते राति ८ बजे ओखलढुंगा चिशंखुगढी गाउँपालिका– ६, भदौरे गैरीगाँउस्थित किराना पसल सञ्चालन गर्ने दम्पती ६० वर्षीय शोभितमान थापा मगर र उनकी ६० वर्षीय श्रीमती रत्नमाया थापा मगरको हत्या गरेका थिए।

दुवै जनाको कोदालो तथा अन्य धारिलो हतियारले दाहिनेपट्टिको कन्चट तथा कानको भागमा प्रहार गरी वीभत्स हत्या भएको थियो। हत्यापछि गोठमा लगेर स्याउलाले छोपेर, पसल तथा कोठामा रहेको अन्दाजी १ लाख नगद तथा २ तोला सुनको गरगहना र काँचो सुन ६ तोलासमेत लुटपाट गरेर उनीहरू फरार भएका थिए।

उक्त घटनापछि केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान गरेको थियो। घटनामा संलग्न ४ जनालाई पक्राउ गरी प्रारम्भिक सोधपुछको क्रममा उनीहरूले यसअघि ३ महिनाअघि नै अर्को हत्या गरेको खुल्न आयो।

गत असोज २६ गते राति २ बजे ओखलढुंगा सिद्धिचरण नगरपालिका-४ चार्खुमा खेती किसानी गरी बस्ने ५२ वर्षीया एकल महिला रत्न कुमारी कटवालको हत्या भएको थियो। कट्वाललाई बन्चरोले दाहिनेपट्टिको कन्चट तथा कानको भागमा प्रहार गरी वीभत्स हत्या गरी नगद तथा सुनका गरगहनासमेत लुटपाट गरी लगेको घटनासमेतमा उनीहरू नै संलग्न रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका डीएपी मदन केशीले बताए।

उनीहरूको साथबाट हत्यामा प्रयोग गरिएको चार्खु घटनास्थलबाट हत्यामा प्रयोग भएको बन्चरो १ थान, रत्न कुमारी कटवालको हत्यापश्चात् लुटिएको भनिएको सुन गालेर बनाइएको रिङ, रिचार्ज कार्ड, दुई नाल भरुवा बन्दुक र मोबाइलहरू बरामद गरिएको छ। म्याद थप गरेर उनीहरूमाथि थप अनुसन्धान कार्य जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट भइरहेको केशीले बताए।

धनमाल लुट्न हत्या
प्रहरीको अनुसन्धानमा हत्या गर्ने समूहको प्रमुख उद्देश्य लुटपाट गर्ने अनुसन्धानमा खटिएका प्रहरीले बताएका छन्। अभियुक्तहरू मादक पदार्थ सेवन गर्ने, आर्थिक अवस्था कमजोर रहेको पाइएको पनि प्रहरीले जनाएको छ। उनीहरूले अन्य घटना घटाउने तयारी गरेको प्रहरीले आशंका गरेको छ। घरमा सुन पैसा हुने र परिवारमा एकल रहेका वा बुढाबुढी व्यक्तिहरू पहिचान गरेर अध्ययन गरी घटना घटाउन केही मानिसका फोटोहरू पनि संकलन गरेको पाइएको अनुसन्धानमा खटिएका एक अधिकृतले बताए। उनीहरूका मोबाइल पनि अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ। चार्खु घटनामा लुटिएको सुन फेला परेको र भदौरे घटनाको धनमाल पहिचान हुने प्रहरीको भनाइ छ। घटनापछि गाउँमा त्रास फैलिएको थियो। प्रहरीले गिरोह नै समातिएकाले अब ढुक्क हुन अपिल गरेको छ।

अभियुक्तहरूसँगबाट २ थान भरुवा बन्दुकसमेत प्रहरीले बरामद गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.