वीरगन्जमा निषेधाज्ञा जारी
पर्सा : वीरगन्ज महानगरको मुख्य सहरी क्षेत्रमा निषेधाज्ञा जारी भएको छ। धनुषामा मस्जिद तोडफोडको विरोधमा भएको प्रदर्शनले उग्ररुप लिएपछि सोमबार दिउँसो १ बजेदेखि लागू हुनेगरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जको संवेदशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी भएको निषेधाज्ञा आदेशमा वीरगन्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा कुनै किसिमको भेला,सभा,जुलुस तथा प्रदर्शन गर्न नपाउने भनिएको छ। प्रशासनले तोकिएको सिमानाभित्र आदेशको उल्लङ्घन गरे जोकोहीलाई नियन्त्रणमा लिइ कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।
बसपार्कको पूर्वी क्षेत्र,सिर्सिया पुलको पश्चिम क्षेत्र,पावर हाउस चोकको उत्तर र शंकराचार्य गेटको दक्षिण क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। धनुषामा मस्जिद तोडफोड गरिएको विरोधमा वीरगन्ज तनावग्रस्त बनेको छ।
धनुषाको धनुकमला नगरपालिका–६ सखुवा मरानमा दुई फरक समुदायबीच भएको विवादपछि त्यहीको मस्जिदमा एक समूहले प्रवेश गरी तोडफोड र मुस्लिम धर्मावलम्बीको ग्रन्थ कुरान जलाएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।
त्यसैको विरोधमा वीरगन्जमा आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेका थिए। त्यसको प्रतिवादीमा हिन्दुवादी संगठनहरूले सोमबार बिहानैदेखि प्रदर्शन जारी राखेका छन्। प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ।
प्रतिक्रिया दिनुहोस !