एसएमसी अनलाइन ठगी राष्ट्र बैंकलाई पत्राचारको तयारी, ११ पक्राउ
काठमाडौं : ‘एसएमसी’ एप्लिकेसनको माध्यमबाट नेटवर्क विस्तार गरी अनलाइन ठगी गर्ने समूहका ११ जना पक्राउ परेका छन् । विद्युतीय माध्यम सम्बद्ध ठगी तथा संगठित अपराधअन्तर्गतको कसुरमा उनीहरूलाई पक्राउ गरिएको साइबर ब्युरो काठमाडौंका प्रहरी उपरीक्षक एवं प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए । उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ । अन्नपूर्ण पोस्ट्ले मंसिर १ गते ‘होसियार ! गाउँसम्म फैलिँदैछ एसएमसी ठगीको जालो’ र मंसिर ११ गते ‘अनलाइन एप एसएमसी ठगी प्रकरण : १२०० बैंक खाता रोक्का’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
खैरहनी नगरपालिका–६ चितवनका सोनम खातुनका नाममा कम्पनी दर्ता भएकाले उनी पनि पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा एक चिनियाँ नागरिक र अन्य नेपाली छन् । ब्युरोले पुस २ गते चिनियाँ नागरिकसहित थप २ नेपालीलाई ठमेलस्थित होटल दी युनिभर्सलबाट पक्राउ गरी एसएमसी अनलाइन ठगीको अनुसन्धान अघि बढाएको हो । ‘जसको नाममा खाता दर्ता भएको छ । जसको सबैभन्दा बढी पैसा गएको छ । उनीहरूलाई पनि पक्राउ गरिएको छ,’ अवस्थीले भने, ‘पैसा कलेक्सन गर्ने नेपाली छन् । नेपालीले पैसा उठाएर भारतीयलाई दिने गरेका छन । भारतीयले चिनियाँलाई दिने गरिएको पाइएको छ । पैसा कलेक्सन गरेर अन्त्य पठाउने गरी संगठित रूपमा यो काम भएको छ ।,’
पीडितहरूको जाहेरीको आधारमा ३७ वर्षका चिनियाँ नागरिक, २१ वर्षका मिलन श्रेष्ठ, १९ वर्षका सौगात श्रेष्ठ, ३३ वर्षका वीरबहादुर तामाङ, २३ वर्षका सोनम खातुन, २३ वर्षका प्रिया केसी, २१ वर्षका गीता गुरुङ पक्राउ परेका छन् । यस्तै, ३७ वर्षका नासिर मियाँ अन्सारी, ६६ वर्षका सायरा खातुन र ६७ वर्षका राम निवासप्रसाद कलबार पनि पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अवस्थीले बताए । अझ धेरै प्रतिवादीहरू फरार छन् ।
‘उनीहरूमाथि कारबाही अघि बढाई अनुसन्धान जारी राखिने छ । फरार प्रतिवादी धेरै छन् । उनीहरू विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ,’ अवस्थीले भने । कात्तिक २५ गते एसएमसी अनलाइनबाट ठगिएको भन्दै उजुरी परेपछि साइबर ब्युरोले अनुसन्धान अघि बढाएको थियो । ब्युरोका अधिकारीहरू उजुरी पर्नुभन्दा अघिबाट नै अनुसन्धान सुरु गरेको बताउँछन् । कम्तीमा ५० हजारदेखि ६४ लाखसम्म उक्त अनलाइनबाट ठगिएको भन्दै ब्युरोमा उजुरी परेका छन् । हालसम्म २ सय ५५ वटा सामूहिक निवेदन प्राप्त भएको र १२ करोड ८ लाख, १६ हजार ३ सय ७२ रुपैयाँ ठगी भएको देखिएको छ । यसैबीच करिब १२ सय खाता रोक्का भएका छन् ।
ठगीमा बैंकिङ च्यानलसँगै, हुन्डी, क्रिप्टोको पनि प्रयोग भएको देखिएकाले नेपाल राष्ट्र बैंकलाई पनि पत्राचार गर्ने तयारीमा ब्युरो रहेको अवस्थीले जानकारी दिए । ‘राष्ट्र बैंकलाई पनि पत्राचार गर्ने तयारी छ । एसएमसीअन्तर्गत जुन पैसा गएका छन, कुनकुन खातामा गएका छन्, ती मानिसको आउनैपर्ने पैसा हो भने स्रोत खुलाएर प्रमाण दिन सक्नुप¥यो, होइन भने फिर्ता गर्नुपर्ने गरी राष्ट्र बैंकलाई पत्राचार गर्छौं । हामीसँग सम्पूर्ण डेटाबेस छ,’ उनले अन्नपूर्णसँग भने ।
कम्पनी अमेरिकादेखि रजिस्ट्रार कार्यालय र खैरहनी नगरपालिकामा दर्ता भएको प्रमाणएसएमसी नेपाल एड्भरटाइजिङ मिडियाको नाममा कम्पनी अमेरिकामा पनि दर्ता भएको प्रमाण दिइएको थियो ।
अमेरिकाको न्युयोर्क राज्यमा बिजनेस कानुनअनुसार कम्पनी दर्ता भएको भनिएको छ । नेपालमा भने एसएमसीएन एड्भरटाइजिङ सर्भिस सेन्टरको नाममा उद्योग मन्त्रालयअन्तर्गतको कम्पनी रजिस्ट्रार कार्यालय काठमाडौंमा २०८२ जेठ २९ गते दर्ता भएको देखिएको छ । कम्पनी ऐन, २०६३ को दफा ५ को उपदफा(१) बमोजिम दर्ता भएको हो । यस्तै, उक्त कम्पनीको स्थायी लेखा नम्बर पनि छ । खैरहनी नगरपालिका–६ चितवनका सोनम खातुनका नाममा कम्पनी दर्ता भएको छ । ब्युरोको छानबिनपछि कार्यलयले उक्त कम्पनीलाई अन्रजिस्टर्ड गरेको बताइएको छ ।
यस्तै, लगानीकर्ताले आफूसरह वा सोभन्दा माथि वा तलका लेबललाई रिफर दिए भने पनि प्रतिशतका दरले कमिसन राखिएको छ भने विभिन्न पुरस्कारको पनि व्यवस्था गरिएको देखिन्छ । टोली निर्माण गरी आएको पैसा त्यही नै घुम्ने गरेको छ । नयाँ लगानीकर्ता तानेअनुसारको ९ हजार ५ सयदेखि ११ लाख रुपैयाँसम्को मासिक तलबको पनि ग्यारेन्टी कम्पनीले गरेको छ । कम्पनीले सम्पत्ति कोष योजना ल्याउन लागेको र सबै कर्मचारीको सुरक्षाको प्रत्याभूति पनि दिलाएको देखिन्छ । कम्पनीले ग्लोबल इम्प्लोयमेन्ट सोलुसन्स, चलचित्र र टेलिभिजन निर्माणको विश्वव्यापीकरण, विश्वव्यापी प्रतिभाको खोजी तथा व्यापार मोडल र राजस्व विविधीकरणलाई दृष्टिकोणको रूपमा प्रस्तुत गरेको छ । कम्पनीले आगामी तीन वर्षमा २० लाख कर्मचारी पु¥याउने, प्राथमिक सेयर निष्कासन, सन् २०२६ सम्म नेपालमा सहायक कम्पनी खोल्ने योजना बनाएको छ ।
संगठित समूहले ठग्नका प्रयोग गरेका उपाय
१. वैधताको झुट्टा विश्वास : कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको प्रमाणपत्र देखाई र भौतिक रूपमा कार्यालयसमेत स्थापना गरी सर्वसाधारणमा यो पूर्णतः कानुनी काम हो भन्ने भ्रम सिर्जना गरेको ।
२. अन्तर्राष्ट्रिय आवरणः विश्वप्रसिद्ध फिल्म कम्पनीहरूसँग सहकार्य रहेको र चलचित्रको विज्ञापन हेरेबापत पैसा पाइने झुट्टो दाबी गरी ‘एसएमसी’ नामक मोबाइल एपमा आबद्ध गराएको ।
३. पिरामिड संरचना र कमिसनः सदस्यहरूलाई तीन तहमा विभाजन गरी नयाँ सदस्य भर्ना गरेबापत आकर्षक कमिसनको प्रलोभन देखाइएको ।
४. पोन्जी स्किम र सम्पत्ति कोषः कुनै वास्तविक व्यापारिक कारोबार नगरी नयाँ सदस्यहरूको पैसाबाट पुरानालाई प्रतिफल दिने ‘पोन्जी मोडल’ अपनाएको । साथै, ब्लाक रकजस्ता काल्पनिक कोषमा रकम राखे दैनिक १.२ सम्म प्रतिफल दिने भन्दै ठगी गरेको ।
साइबर ब्युरोले यसबाट बच्न उजुरी दिने, एपमा प्रयोग भएका खाता बन्द गर्ने, आफ्ना खाता तथा क्यूआर विवरण सेयर नगर्ने, प्रलोभनको पछि नलाग्न पनि अनुरोध गरेको छ ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
