भेरी लिप्टिङ आयोजनाको काम अघि बढ्यो
वीरेन्द्रनगर : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको आगामी २५ वर्षपछि वृद्धि हुने जनसंख्यालाई प्रक्षेपण गरी कार्यान्वयनमा ल्याइएको भेरी पम्पिङ खानेपानी आयोजना निर्माणको काम तीव्र रूपमा भइरहेको छ। आगामी तीन वर्षभित्र भेरीको पानी वीरेन्द्रनगर ल्याउने उद्देश्यसहित सुरु भएको उक्त आयोजनाले जग्गा भोगाधिकार, रुख कटानलगायत निर्माणपूर्वका तयारीका कार्यहरू सम्पन्न भएसँगै आयोजनाले पहिलो र दोस्रो प्याकेजका क्रियाकलापहरू एकैसाथ अघि बढाएको हो।
संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा सञ्चालित यो आयोजना गत वर्ष भदौदेखि वीरेन्द्रनगर नगरपालिकाको नेतृत्वमा कार्यान्वयनमा ल्याइएको छ। संघीय सरकारको ८०, प्रदेश सरकारको १३ र नगरपालिकाको ७ प्रतिशत लागत साझेदारीमा निर्माण हुने आयोजनाको कुल लागत ६ अर्ब रुपैयाँ रहेको छ। पहिलो प्योकजका लागि विनियोजित ३ अर्ब ५० करोड ८ लाख रुपैयाँमध्ये हालसम्म ५८ करोड खर्च भएको छ भने करिब १४ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ। यो विश्व बैंकको ऋण सहयोगमा सञ्चालित परियोजना हो।
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका प्रमुख कन्सल्टेन्ट इन्जिनियर रमेश अधिकारीले पानी प्रशोधन प्लान्ट र अमृतडाँडामा ९० लाख लिटर क्षमताका तीनवटा रिजर्ब ट्यांकी निर्माणको काम सुरु भइसकेको बताए। मुहान क्षेत्रको माटो परीक्षणपश्चात् भेरी नदी किनारमा अवस्थित इन्टेकमा १० मिटर अग्लो सेफ्टी पर्खाल लगाइने उनको भनाइ छ। इन्जिनियर अधिकारीले माटो परीक्षणको काम पनि छिट्टै सम्पन्न हुने बताए। उनका अनुसार माटो परीक्षणलगत्तै पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिब ७ मिटर गहिरा दुई इन्टेक निर्माण हुँदैछन्।
इन्टेकदेखि करिब चार सय मिटरको दूरीमा पानी प्रशोधन प्रणाली निर्माण, पहिलो प्याकेजअन्तर्गत इन्टेक निर्माण, प्रशोधन प्लान्ट, सात किमि लामो ६०० एमएम गोलाइका पाइपको प्रसारण लाइन पर्छन्। त्यस्तै, ३०÷३० लाख लिटर क्षमताका तीन रिजर्ब ट्यांकी, उपत्यका क्षेत्रमा पाइपलाइन विस्तार, जुम्ला रोडलाई आधार बनाएर पाँच ठाउँमा पम्पिङ सिस्टम जडान गर्न लागिएको छ। दोस्रो प्याकेजअन्तर्गत प्रत्येक घरधुरीमा पाइपलाइन विस्तार, धारा जडान तथा वितरण प्रणाली व्यवस्थापनका कार्यहरू पर्छन्। आयोजनाले दोस्रो चरणका यी काम गर्नलाई ग्लोबल टेन्डर आह्वान गरिसकेको छ।
पहिलो प्याकेजअन्तर्गत पहुँच सडक निर्माण, बजार क्षेत्रमा ३५ मध्ये १६ किमि पाइप बिछ्याउने काम सम्पन्न भएको छ। दोस्रो प्याकेजअन्तर्गत झन्डै आठ सय किमि लम्बाइ पानी वितरण गरिने, झुप्रा खानेपानी आयोजनाको शुद्धीकरण, इत्राममा ट्यांकी निर्माणलगायत कामहरू हुनेछन्। पहिलो प्याकेजअन्तर्गतका कार्यहरू चिनियाँ कम्पनी सिन्ज्याङ टम्र्स इन्टरनेसनल इकोनोमी एन्ड टेक्निकल को–अपरेसनले गरिरहेको छ। आयोजनाले २०२७ वर्षभित्र भेरीको पानी सुर्खेत उपत्यका (वीरेन्द्रनगर) मा ल्याउने गरी दुई चरणका कामहरू एकैसाथ अघि बढाइएको दाबी गरेको छ। आयोजनाका अनुसार भेरीको पानी लिफ्टिङका लागि कम्तीमा दुईदेखि तीन मेगावाटसम्म विद्युत् आवश्यक पर्नेछ।
आयोजनाको अवलोकन गर्दै मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगरवासीको मात्र नभई कर्णालीका नागरिकसँग जोडिएको आयोजना भएकाले तोकिएकै समयमा पूर्णता दिने गरी काम गर्न आग्रह गरे। निर्माण पूर्वका सबै काम पूरा भइसकेको, बजेटको सुनिश्चितता भइसकेको आयोजनामा अब कुनै अलमल हुन नहुने उनको भनाइ थियो।
‘आमजनताको छिटो योजना आओस् भन्ने चाहना र मनोविज्ञान थियो, विगतमा केही ढिलाइ हुन पुग्यो,’ मुख्यमन्त्री कँडेलले भने, ‘अहिलेकै गतिमा काम पूरा गर्न सके ठेकेदारको पनि जनविश्वास बढ्छ।’ उनले वीरेन्द्रनगरमा रहेको खानेपानीको समस्या समाधानका लागि यो आयोजना समयमै सम्पन्न गराउन सबैको समन्वयको जरुरी रहेको बताए।
वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले राष्ट्रिय प्राथमिकता प्राप्त अन्य आयोजनाहरू मध्ये भेरी पम्पिङले रुख कटानलगायत कानुनी उल्झनहरू छिट्टै पार लगाएको बताइन्। ‘भेरी पम्पिङ खानेपानी आयोजना वीरेन्द्रनगरको नगर गौरवको आयोजना मात्र नभएर प्रदेशले नै गौरव गर्ने आयोजना हो’, उनले भनिन्, ‘संघीयतापछि स्थानीय तहले सञ्चालन गरेको यो सबैभन्दा ठूलो प्रोजेक्ट हो।’
नगरप्रमुख ढकालले वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण दिनानुदिन चुलिँदो खानेपानीको समस्या समाधानको एकमात्र विकल्प भेरी लिफ्ट रहेकाले अब निर्माण कार्यमा विलम्ब र कुनै प्रकारको अवरोध सिर्जना नहुने दाबी गरिन्।
वीरेन्द्रनगरमा हाल दैनिक ३ सय २० लिटर प्रतिसेकेन्ड पानीको माग भए पनि आपूर्ति भने प्रतिसेकेन्ड १ सय ५३ लिटर भइरहेको छ। सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले माग र आपूर्तिको सन्तुलन मिलाउन आलोपालो प्रणाली लागू गर्दै आएको छ। तर, मागबमोजिमको पानी उपलब्ध गराउन भने सकेको छैन।
हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको छ। अझै हजारौं घरधुरीमा खानेपानी धारा माग भए पनि धारा वितरण हुन सकिरहेको अवस्था छैन। झन्डै १० वर्षअगाडि निवेदन दिएका घरधुरीहरूले समेत खानेपानीको धारा पाउन सकेका छैनन्। नयाँ निवेदनहरूसमेत लिन बन्द गरिएको छ।
प्रतिक्रिया दिनुहोस !