जहाँ खानेपानीको धारा बन्द गरे जरिवाना हुन्छ
प्यूठान : सामान्यतया खानेपानीको वचत गरि उपभोग गर्न ‘पानीको प्रयोग गरेपछि धारा बन्द गरौं’ भन्दै सन्देश दिइन्छ। पानी सुविधाको समस्या भएका उपभोक्तालाई थाहा हुन्छ, यसको महत्व।
तर, प्यूठान ऐरावती गाउँपालिका-४ को गोल्जामा पानीको धारा बन्द गरेमा जरिवाना लाग्छ। ‘प्रत्येक घरमा खानेपानी सुविधाका लागि धारा जडान गरिएको छ’, स्थानीय जगतबहादुर पुनले भने, ‘पानी धारा सधैं खुला राख्नुपर्छ, बन्द गरे जरिवाना लाग्छ।’ २९ घर धुरी रहेको यहाँ पानीको धारा बन्द गरे ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्छ।
पानीको प्रेसरले गर्दा पाइप फुट्ने समस्या रोक्नका लागि उपभोक्ताहरू ले धारा खुल्ला राख्न यस्तो उपाय अपनाएका हुन्। ‘पानीको मुहान बस्तीभन्दा माथि छ’, ऐरवाती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले भने, ‘पानी प्रेसरमा आउँछ, धारा बन्द नगर्दा फाइप फुट्छ, धारा फुट्छ।’ दैनिक २-३ घण्टा बोकेरै खानेपानी उपभोग गर्दै आएका यहाँका स्थानीयको घरघरमा अहिले खानेपानी सुविधा पुर्याइएको उनले बताए।
पानीको सदुपयोग गर्दै स्थानीयले तरकारी खेती गर्न थालेका छन्। ‘लगातार आउने पानीको उपयोगिता बढाउन पोखरी निर्माण गरिएका छ’, अध्यक्ष शाहले भने, ‘थोरै घरधुरी भए पनि सबै जना तरकारी खेति गर्न थालेका छन्।’ अन्य बस्तीहरूको तुलनामा यहाँ राम्रो तरकारी खेति हुने गरेको उनले बताए। गाउँपालिकाले नेवा, गोर्खा वेलफेयर लगायत विभिन्न निकायको साझेदारीमा खानेपानी आयोजनाहरू सञ्चालन गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !