निर्वाचन आचारसंहिताले विकास निर्माण रोकिँदैन
काठमाडौं : सम्भवतः माघको पहिलो सातादेखि निर्वाचन आचारसंहिता लागू गर्ने गरी निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ। आचारसंहिता लागू भएपछि तीनै तहका सरकारबाट नियमित विकास निर्माणको कार्य हुन्छ, कि हुँदैन ? भन्ने आम चासो छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेले चुनावलाई तडकभडक नबनाउन मात्रै आचारसंहिता लागू गरिने बताए।
‘आचारसंहिता लागू भएपछि देशको विकास निर्माणको काम ठप्प हुँदैन। स्थानीय तह, प्रदेश सरकार, संघीय सरकारले तयार गरिसकेको वार्षिक बजेटबाट हुने नियमित कुनै विकासका कामहरू रोकिदैनन्,’ उनले भने, ‘आचारसंहिता कार्यान्वनमा आएपछि कुनै तहका सरकारले नयाँ योजना बनाएर लागू गर्न पाउँदैन।’ कुनै दल र उम्मेदवारलाई फाइदा हुने खालको कुनै काम कसैले गर्न नपाउने भन्दै थपे, ‘देशलाई फाइदा हुने कामलाई आचारसंहिताले रोक्दैन।’
राष्ट्रियसभालाई पनि आचारसंहिता लाग्छ ?
‘आयोगबाट स्वीकृत भएको आचारसंहिता विशुद्ध आसन्न प्रतिनिधिसभा सदस्यका लागि लागू हुन्छ। आयोगको बैठकले जुन बेलादेखि लागू गर्ने निर्णय हुन्छ, सबैका लागि त्यो लागू हुन्छ,’ उनले भने, ‘राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्ने मतदातहरूको निर्वाचन मण्डल हुन्छ। त्यो निर्वाचनलाई आयोगले हालै स्वीकृत गरेको आचारसंहिता आकर्षित हुँदैन।’
आयोगका प्रवक्ता श्रीसका अनुसार आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय अघि राजनीतिक दलहरूसँग अन्तिम बैठक गर्ने तयारी गरिरहेको छ। ‘निर्वाचन अचारसंहिता सबैभन्दा बढी दल र उम्मेदवारहरूबाट हुन्छ। आचारसंहिताको कार्यान्वयनका लागि दलहरूको प्रतिबद्धता आवश्यक हुन्छ,’ उनले भनिन्।
प्रतिक्रिया दिनुहोस !