रोशीका क्रसरले सिंगो गाउँ नै आतंकित
रोशी (काभ्रे) : काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा रहेका क्रसरहरूले सिंगो गाउँ नै आतंकित हुँदै आएको छ। रोशी गाउँपालिकाका–७ र ८ मा अवैध रूपमा रहेका क्रसरहरूले कहिले कुन बेला गाउँ नै ध्वस्त पार्ने हो भन्नेमा स्थानीय त्रसित हुँदै आएका हुन्।
स्थानीयका अनुसार गाउँमा क्रसर उद्योग सञ्चालमा आउन थालेका १२ वर्ष बितिसकेको छ। क्रसर उद्योग सञ्चालनमा आएदेखि नै स्थानीयले विरोध गर्दै आएका थिए। तर, त्यो विरोध ‘बाघको अगाडि स्याल कराए जस्तै’ मात्रै हुँदै आएको स्थानीय बताउँछन्।
रोशी खोला वातावरण संरक्षण संघर्ष समितिका अध्यक्ष प्रेमध्वज लामाले घामजस्तै छर्लंग हुने गरी राजमार्गसँगै, रोशी खोलासँग जोडिएर अनि जंगलसँगै छोडिएर रहेको क्रसर उद्योगहरू कसरी अवैध भएनन् भन्ने प्रश्न गरे। क्रसर उद्योगले जनजीवनमा असर गर्ने भएकाले राजमार्ग, नदी अनि जंगलसँग निश्चित दूरीमा हुनुपर्ने प्रावधान रहेको सबैलाई थाहा भएको उनले बताए। उनले यही कारण अवैध क्रसरहरूलाई बन्द गराउन आफूहरू निरन्तर जुटिरहेको बताए। क्रसर सञ्चालकहरू कांग्रेस, एमाले, माओवादी पार्टीका ठूला नेताहरू भएकाले क्रसरहरू बन्द गराउन स्थानीय सफल नभएको उनको भनाइ छ।
स्थानीय पालिकालाई पटकपटक आग्रह गर्दा पनि स्थानीय समुदायको गुनासो सुनुवाइ नगरी जथाभावी क्रसर उद्योग सञ्चालन गर्न दिँदा थप पहिरोको जोखिम बढेको भन्दै रोशी खोला पीडितहरूले दुःखेसो पोखेका छन्। स्थलगत रिपोर्टिङका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूसँगको टोलीसँग उनीहरूले बीपी राजमार्ग नै पहिरो जाने गरी दिनरात बालुवा झिक्ने कार्य भइरहेको बताए।
रोशी खोलामा मात्र नभई सुनकोशीका तटीय क्षेत्रहरूमा पनि साँझ परेपछि सयांै टिपरले गिट्टीबालुवा ओसार्ने कार्य गर्दै थप पहिरोको जोखिम बढाएकोे उनीहरूले बताए। गत वर्षको असोज १२ गतेको भीषण वर्षासँगै गएको पहिरोको व्यथा बिर्सन नसक्दै जथाभावी सञ्चालित क्रसर उद्योगका कारण स्थानीयको जनजीवन प्रभावित हुने गरी धुलो फैलिएको र अबको बर्खामा पनि कसरी ज्यान बचाउने होला भन्ने चिन्तामा आफूहरू रहेको उनीहरूले बताए।
गत वर्षको असोज ११ र १२ गते रोशीमा ठूलो बाढीपहिरो गएको थियो। पहिरोले त्यो बेला पूरै गाउँ नै बगाएको थियो। लेदोसहितको बाढीले रोशी खोला पूरै भरेको थियो। यसले पूरै बस्ती नै बगाएको थियो। यो बेलाको बाढीले गाउँपालिकामा ६ महिला, ३ पुरुष, १ बालक र ३ बालिका गरी १३ जनाको मृत्यु भएको थियो। साथै करोडौंको भौतिक संरचनामा ध्वस्त पारेको थियो।
बाढीकै कारण बनेपा बर्दिबासको बीपी राजमार्गअन्तर्गत झन्डै १५ किलोमिटर भत्केको सडक अझैसम्म बन्न सकेको छैनन्। जसकारण अहिले पनि यो खण्डमा खोलैखोलाको सडकखण्ड भएरै जोखिमपूर्ण सवारीसाधन सञ्चालन गर्न बाध्यता छ। राजमार्ग खण्डअन्तर्गत नेपालथोक, तल्लो कटुन्जे, चिउरीबासलगायत ठाउँमा राजमार्ग बगाएको थियो। त्यस्तै, फलामेसाँघुमा रहेको रोशी गाउँपालिकाको १० शय्याको अस्पताल नै बाढीले बगाएको थियो। त्यहाँ २० वटा घर पनि बाढीले बगाएको थिए। बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) को कटुन्जेबेंसी, मंगलटार, नेपालथोक सडकखण्ड डाइभर्सन बनाएर सञ्चालनमा छ अहिले। बाढीले सडक नै बगाएपछि यो वर्षदेखि खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत भइरहेको छ।
खोलाबाट नै बनाइएको सडकबाट यात्रा गर्दा जोखिम त छ नै यात्रुलाई क्षतिग्रस्त खण्ड पार गर्न लाग्ने समय पनि बढेको छ। अझ धुलाम्य सडक खण्डमा उड्ने धुलो नियन्त्रण गर्न पानी हाल्दा सडकमा सवारी चिप्लिने र दुर्घटना हुने सम्भावना पनि बढी छ।
स्थानीय पीडितहरू दर्जनौं मानिसहरूको मृत्यु र करोडौं क्षति भए पनि केन्द्र सरकारदेखि कसैले पनि यी क्रसरहरू बन्द गर्ने आँट नगरेकोमा दुःख व्यक्त गर्छन्। ‘पहाडका ठाउँठाउँमा धाजा फाटेको कति गहिरो छ भन्न सकिने अवस्था छैन’, एकजना स्थानीय महिलाले भनिन्, ‘पानी पर्नेबित्तिकै वा सुक्खा पहिरोसमेत जान सक्ने भएकाले तुरुन्तै क्रसर उद्योग बन्द गराउन आग्रह गरेका थियौं, छौं तर कहीँ कतै सुनुवाइ भएन।’ पहाडै खस्ने गरी पहिरो गए, भएका बस्तीहरूसमेत पुरिने जोखिम रहेको भन्दै स्थानीय समुदायले कमसेकम जथाभावी चलेको कसर उद्योगहरूलाई व्यवस्थित पार्न आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस !