४ करोड बढी मतपत्र छापिँदै

४ करोड बढी मतपत्र छापिँदै

काठमाडौं : निर्वाचन आयोगले समानुपातिकतर्फका मतपत्र छपाइको काम सुरु गरेको छ । फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ प्रारम्भ भएको कार्यवाहक प्रमुख निर्वाचन रामप्रसाद भण्डारीले जनाए । उनले भने, ‘हामीले आवश्यक सबै तयारी पूरा गरेर धमाधम मतपत्र छपाइको काम थालेका छौं ।’

नेपाली सेनाको उच्च सुरक्षामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भक्तपुरमा मतपत्रको छपाइ भइरहेको सेनाका सूचना अधिकारी राजाराम बस्नेतले बताए ।

मतपत्र छपाई सुरु हुनु अघि बुधबार र बिहीबार नमुना मतपत्र छपाइको काम गरिएको थियो । समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचन प्रणालीका लागि ५—५ लाख नमुना मतपत्र छपाइ गरिएका थिए । नमुना मतपत्र जिल्ला जिल्लामा मतदाता शिक्षाका लागि पठाइने छन् ।

कति मतपत्र छापिन्छन् ?

आयोगले ४ करोड बढी मतपत्र छाप्ने योजना बनाएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भक्तपुरमा उच्च सुरक्षा सतर्कताका साथ मतपत्र छाप्न सुरु गरिएको हो । प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीका लागि अलग—अलग मतपत्र छापिने केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले बताए । उनका अनुसार समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीका लागि २ करोड ८ लाख ५० हजार÷२ करोड ८ लाख ५० हजार मतपत्र छपाइ हुने छन् । यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताको नामावली प्रकाशन गरिसकेको छ । भइपरि आउने अवस्थाका लागि मतदाता संख्या भन्दा ५—७ प्रतिशत बढी मतपत्र छापिने आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाए ।

कुन रंगका मतपत्र हुनेछन् ?

मतदाताले मतपत्रमा रहेको चुनाव चिह्नमा स्वस्तिक छाप लगाएर मतदान गरी आफूलाई मन परेको पार्टी र व्यक्तिलाई जिताउँछन् । त्यसैकारण मतदाताले मतपत्रमा रहेको चुनाव चिह्न सजिलै चिन्न सक्नुपर्छ । कुन रंगको कागजमा कुन रंगले छपाइ गर्ने ? त्यसले निकै ठूलो महत्व बोकेको हुन्छ । मतपत्रको डिजाइन र चुनाव चिह्न रंग टुंगो लगाउने बेला निकै गम्भीर भएर निर्वाचन आयोगले प्राविधिक पक्षबारे छलफल गर्ने गरेको छ ।

मतपत्रमा त्रुटि भएर निर्वाचनै भाँडिने सक्ने जोखिम पनि हुन्छ । आयोगले धेरै सोचविचार गरेर समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणालीतर्फको मतपत्रका लागि प्रयोग हुने कागजको रंग र त्यसमा चुनावसम्बन्धी विवरण (चुनाव चिह्न बारे) छपाइका लागि प्रयोग गर्ने रंगकाबारे निर्णय गरेर मतपत्र छाप्ने गरेको आयोगका उपसचिव एवं सूचना अधिकारी कुलबहादुर जिसीले बताए ।

उनका अनुसार समानुपातिकतर्फको निर्वाचन प्रणालीका लागि सेतो कागजमा कालो रंगको प्रयोग गरेर मतपत्र छपाइ भइरहेको छ । त्यसैगरी प्रत्यक्ष निर्वाचन प्रणालीका लागि सेतो कागजमा रातो रंगले छपाइ गरिने छ ।

रातो वा कालो रंगको प्रयोग किन ?

सेतो कागजमा मतपत्र छपाइ गर्दा रातो वा कालो रंग प्रयोग गर्ने मुख्य कारणहरू प्राविधिक, कानुनी तथा व्यावहारिक छन् । सेतो पृष्ठभूमिमा कालो वा रातो रंग निकै स्पष्ट देखिन्छ । चिह्न, बक्स, पार्टीको नाम, उम्मेदवारको नाम आदि धेरै टाढाबाट पनि मतपत्रमा बुझिने हुनुपर्ने निर्वाचन आयोगका एक पूर्वकर्मचारीले बताए ।

‘यस अघिका चुनावमा सेतो कागजमा नीलो रंगले छपाइ गरिन्थे । त्यस्ता मतपत्रमा मतदाताले नीलो रंगको स्वस्तिक छाप लगाउँदा रातको समयमा मत गणना गर्दा स्पष्ट नदेखिने गरेको गुनासो निर्वाचन अधिकृतहरूले आयोगलाई गरेका थिए,’ उनले भने, ‘त्यसैले मतपत्रमा स्पष्ट रूपमा स्वस्तिक छाप देखियोस्् भनेर कलर कन्ट्रास्टका लागि मतपत्रका लागि सेतो कागजमा कालो वा रातो रंगको प्रयोग गरिएको मलाई लाग्छ ।’ विशेष गरी उमेर ढल्केका मतदाताले चिह्न सजिलै छुट्याउन सक्नुपर्ने कारणले पनि ती रंग प्रयोगमा ल्याएको उनले बताए ।

अर्को कारण—रातो र कालो दुवै प्राविधिक रूपमा पुनःप्रतिलिपि (फोटोकपी ) गर्दा फरक देखिने प्रकारका टोन हुन्छन् । यस्तो अवस्थामा नक्कली मतपत्र बनाउने जोखिम कम हुने आयोगको बुझाइ छ । अधिकांश छपाइ प्रेसहरूको स्टयान्डर कलर प्रोफाइल सेतो कागज + कालो÷रातोमा मिलेको हुन्छ । अन्य रंगहरूले प्रेसमा सेटिङ परिवर्तन र खर्च बढाउँछ । सेतो कागज + कालो÷रातो रंगले छपाइ द्रुत, लागत कम र त्रुटि कम हुने गरेको आयोगका मुद्रण शाखाका कर्मचारीहरू सुनाउँछन् । नेपालसहितका धेरै देशहरूमा निर्वाचन आयोगको मापदण्डअनुसार मतपत्र ः उत्पादनमा समानता, सुरक्षा, चिह्न पहिचान, गोपनीयताका आधारमा रंग निर्धारण हुँदैआएको छ ।

कति थरीका मतपत्र हुन्छन् ?

आउँदो निर्वाचनका लागि दुईथरिका मतपत्र हुनेछन । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीका लागि अलग—अलग मतपत्र हुनेछन् । १ सय १० सिट समानुपातिक देशैभरि एकै प्रकारको मतपत्रको डिजाइन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाए । उनका अनुसार प्रत्यक्षतिरको १ सय ६५ सिटका लागि प्रत्यक्ष निर्वाचन क्षेत्रका लागि उम्मेदवारी परेको हिसाबले चुनाव चिह्न राखेर मतपत्र प्रकाशन हुने छन् ।

कुन मतपत्रमा कतिवटा निर्वाचन चिह्न ?

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रमा ५८ वटा चुनाव चिह्न हुनेछन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ १ सय १० सिटका लागि ६४ वटा दलले आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् । तीमध्ये ५४ दलले आआफ्नै छुट्टाछुट्टै निर्वाचन चिह्न प्रयोग गरेका छन् भने १० दलले ४ वटा निर्वाचन चिह्न साझा रूपमा प्रयोग गरी बन्दसूची दर्ता गराएका छन् ।

समानुपातिकतर्फ ५८ वटा निर्वाचन चिह्न प्रयोग भएर तयार भएको मतपत्रमा मतदान गर्न मतदातालाई कठिन हुने छ । ठूलो मतपत्रमा चुनाव चिह्न चिनेर स्वस्तिक छाप लगाई पट्याएर मतपेटीकामा खसाल्न कठिन हुने निर्वाचन विज्ञहरूले बताउँदै आएका छन् । प्रत्यक्षतर्फ उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको संख्याको आधार निर्वाचन चिह्न राखेर मतपत्र छपाइ हुने छन् ।

कहिलेसम्म हुन्छ मतपत्र छपाइ ?

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र धमाधम छाप्न थालिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले १५ दिनको कार्य योजना बनाएर पहिलो चरणमा समानुपातिकतर्फको मतपत्र छपाइको काम सक्ने केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले अन्नपूर्णलाई जानकारी दिए ।

त्यसपछि मात्रै प्रत्यक्षतर्फको मतपत्र छपाइको काम हुने उनले बताए । उनले भने, ‘मतपत्र छपाइका लागि चाहिने जनशक्ति, मेसिन, प्राविधिक, सुरक्षा, व्यवस्थानका सम्पूर्ण तयारी गरेर काम थालेका छौं ।’ माघ ९ गतेसम्म समानुपातिक तर्फको मतपत्रको छपाइ काम पूरा गर्ने जनक शिक्षा सामग्र्री केन्द्रको लक्ष्य रहेको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता भट्टराईका अनुसार माघ १० गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ हुनेछ । माघ ९ गते प्रत्यक्षतर्फको उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने निर्वाचन तालिका छ । त्यसपछि मतपत्रको ढाँचालाई अन्तिम रूप दिएर मात्रै प्रत्यक्षतर्फको मतपत्र छपाइ हुनेछ । निर्वाचन कार्यक्रमअनुसार प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन पत्रको दर्ता ६ माघमा तोकिएको छ ।

कसले छाप्छन् मतपत्र ?

मतपत्र छपाइको कार्यमा जनक शिक्षा सामग्री केन्द्र र निर्वाचन आयोगका मुद्रण शाखाका कर्मचारीहरू सहभागी छन् । करोडौंको संख्यामा छपाइ हुने मतपत्र प्रिन्टका लागि २ सय बढी कर्मचारी परिचालन गरिएको जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक पौडेलले जनाए । ‘मतपत्र छपाइका पाँचवटा मेसिनको प्रयोग गरिएको छ,’ उनले भने, ‘यसअघिका निर्वाचनका लागि पनि मतपत्रलगायत अन्य महत्वपूर्ण छपाइको काममा अनुभव हासिल गरेका २० जना दक्ष तथा अनुभवी कर्मचारीलाई मतपत्र छपाइका लागि खटाएका छौं,’ उनले भने ।

मतपत्रको डिजाइन निर्वाचन आयोगबाट गरिएको छ । त्यसको निरीक्षण, सुरपरिवेक्षण गर्न आयोगबाट २० जना कर्मचारी खटिएका छन् । बिहान ६ बजेदेखि राति १० बजेसम्म मतपत्रको छपाइमा कर्मचारीहरू खटिने छ । यति गर्दा पनि मतपत्र छपाइमा कठिना भए रातभर पनि मतपत्रको छपाइका काम पूरा गरिने जनक शिक्षा सामग्री केन्द्रले तयारी गरेको छ ।

मतपत्र प्रिन्टमा कति लाग्छ खर्च ?

निर्वाचन आयोगले ४ करोड १७ लाखको संख्यामा मतपत्र छाप्ने झन्डै २५ करोड बढी रकम खर्च गर्न लागेको छ । ‘४ करोड बढी मतपत्र छाप्नका लागि जनशक्ति र छपाइ गरी कुल २४—२५ करोड खर्च लागने हाम्रो प्रारम्भिक अनुगमन छ । काम सकिएपछि यो रकम केही हजार लाखमा बढ्न वा घट्न सक्छ,’ जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक पौडेलले भने ।

किन सेनाको सुरक्षा मतपत्र छपाइ ?

चुनावमा सुरक्षा पहिलो प्राथमिकताको सूचीमा पर्छ । मतपत्रदेखि मतदान, मतपेटीकादेखि निर्वाचन परिणाम घोषणालाई निकै संवेदनशील मानिन्छ । यही कारण भक्तपुरमा नेपाली सेनाको उच्च सुरक्षा घेरामा मतपत्र छपाइको काम भइरहेको छ । आयोगका एक कर्मचारीले भने, ‘मतपत्र छपाइ, प्याकिङ, भण्डारणमा खटिएको सबै तहका कर्मचारीहरूलाई खानतलासी गरिन्छ । मोबाइल बोकेर प्रवेश निषेध गरिएको छ ।’

भैरवनाथ गण महराजगञ्जबाट खटिएका नेपाली सेनाको टुक्रीको उच्च सुरक्षाकाबीच मतपत्रको छपाई, प्याकिङ्ग र भण्डारणको काम भइरहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । पहिलेदेखि नै चुनावी सुरक्षाको पूर्वतयारीदेखि चुनावसम्म नेपाली सेनाले सुरक्षा दिँदै आएको नेपाली सेनाका प्रवक्ता सूचना अधिकारी राजाराम बस्नेतले बताए । उनले भने, ‘अहिले हाम्रो नेपाली सेनाको टुक्रिले मतपत्र छपाइका लागि चौबीसै घण्टा सुरक्षा प्रदान गरिरहेको छ ।’

नेपाली सेनाकै हेलिकप्टर भाडामा लिएर विकट तथा हिमाली जिल्लामा मतपत्र सहितको निर्वाचन समाग्री ढुवानी गर्ने तयारी आयोग छ । सेनाकै स्कटिङमा स्थल मार्गबाट जिल्ला—जिल्लामा निर्वाचन समाग्री पठाइने छ ।

जिल्लामा कहिले मतपत्र पुग्छन् ?

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन १० गतेभित्रमा देशैभरि मतपत्र पठाइसक्ने बताए । माघ ४ गतेभित्र मतदाता नामावली पत्र जिल्लामा पठाइसकिने उनले बताए । उनले भने, ‘अरू निर्वाचन सामग्री जिल्ला निर्वाचन कार्यालयमा पठाउँछौं । तर, मतपत्र सीधा निर्वाचन अधिकृतको कार्यालयमा पठाउँछौं ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.