समानुपातिक बन्दसूचीमा त्रुटि नै त्रुटि : आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन
काठमाडौं : प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलहरूले बुझाएका समानुपातिक बन्दसूचीमा यसपटक पनि ‘त्रुटि नै त्रुटि’ भेटिएका छन् । निर्वाचन आयोगको निर्देशनमा दलहरूले करिब सात दिन लगाएर त्रुटि सुधार गरेका हुन् ।
फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६४ दलले आयोगमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाएका थिए । पुस १३ र १४ गते बुझाइएका सूचीको रुजु पुस २० सम्म चल्यो । रुजुका क्रममा आयोगले सबै दलका सूचीमा त्रुटि भेटिएको बताएको छ । पुस २० देखि २७ सम्म आयोगले दललाई सूचना दिएर त्रुटि सच्याउन लगाएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
‘समानुपातिक प्रतिनिधित्व र समावेशी सिद्धान्तका आधारमा बन्दसूची बनेका थिएनन्,’ उनले भने, ‘कसैको नाम र ठेगाना मिलेको थिएन । कसैको नागरिकता नम्बर फारममा गलत लेखिएका थिए । कतैकतै मतदाता नामावलीमा रहेको नाम र उम्मेदवारी निवेदनको नाम फरक–फरक भेटियो । निर्देशन दिएपछि सबै त्रुटि सच्याइयो ।’
आयोगका अनुसार पुस २८ गते उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने समय छ । पुस २९ गते उम्मेदवारले फिर्ता लिएकोबारे दललाई आयोगले सूचित गर्ने तालिका छ । पुस ३० देखि माघ २ सम्म उम्मेदवारी फिर्ता भएको समावेशी समूहमा दलहरूले नयाँ नाम पेस गर्नुपर्नेछ ।
माघ २० गते समानुपातिक बन्दसूचीको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । प्रवक्ता भट्टराईका अनुसार समानुपातिकतर्फ ६४ दलले भाग लिएका छन् । उनले भने, ‘आ–आफ्नो चुनाव चिह्नमा भाग लिने दल ५४ वटा छन् । एकभन्दा बढी दलले एउटै चिह्न लिएर चुनाव लिने दल १० वटा छन्, जसले चारवटा चिह्न प्रयोग गर्नेछन् ।’ आयोगले दर्ता भएका १३७ दलमध्ये समानुपातिकमा भाग लिन योग्य १०० दललाई स्वीकृति दिएको थियो ।
संविधानअनुसार प्रतिनिधिसभाका कुल २७५ सिटमध्ये १६५ सिट प्रत्यक्षतर्फ र ११० सिट समानुपातिकतर्फ छन् । समानुपातिकतर्फ ११० सिटका लागि दलहरूले आयोगमा करिब ३१ गुणा बढी उम्मेदवार दर्ता गराएका छन् । आयोगको तथ्यांकअनुसार समानुपातिक बन्दसूचीमा जम्मा ३ हजार ४२४ जनाको नाम परेको छ । बन्दसूची रुजु र अन्तिम रूप दिने कार्यमा ४० भन्दा बढी कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !