कांग्रेसको नयाँ जुनी

कांग्रेसको नयाँ जुनी
फाइल तस्बिर

आजको पुस्ताले देशमा रोजगार, सुलभ शिक्षा, स्वास्थ र सुशासन चाहेको छ। नयाँ सोच भएका युवाले देश हाँकून् भन्ने चाहन्छ।

नेपाली कांग्रेसभित्रको महाधिवेशन विवादले यतिबेला अनेक दृश्य, परिदृश्य अगाडि आएका छन्। खास गरेर भदौ २३ गतेमा नवपुस्ताले गरेको विद्रोह जसमा सुशासन, भ्रष्टाचार निराकरण र रोजगारीका मागहरू राखिएका थिए। जहाँ अचानक गोलीवर्षा भयो, कलिला बालबालिकाको मृत्यु भयो। भोलिपल्ट भदौ २४ गते त अराजक शैलीमा हिंसा, हत्या र आगजनी भए। अकल्पनीय स्थिति पैदा भयो। अझ धनमालको ठूलो क्षति भयो।

ओली–देउवा गठबन्धन सरकार १४ महिनामै ढल्यो। नेताहरूलाई सेनाले उद्धार गरी ज्यान जोगाइदिन पर्‍यो। दुई दिनका बीचमा हुने नहुने दंगाफसाद, अराजकता, आगजनी र असुरक्षा व्याप्त भयो। झन्डै बंगलादेशको काण्ड झैं बनाए। २०४६ सालको परिवर्तनपछि ३५ वर्ष शासनको केन्द्रविन्दुमा आलोपालो शासनसत्तामा भएका कांग्रेस, एमाले तत्कालीन माओवादीसँग जनता वाक्क–दिक्क भएका थिए। किनभने शासनसत्ता आलोपालो कब्जा गरेका नेताहरू कृपावाद, नातावाद र भ्रष्टाचारमा चुलुम्म डुबेका थिए। राजनीतिक नियुक्तिहरूमा, चुनावको टिकट बाँडफाँडमा, कर्मचारीका सरुवाबढुवामा पैसाकै लेनदेन गरेको जगजाहेर छ। त्यसमाथि पनि सत्ता हत्याउन अनेक किसिमका गठबन्धन हुन थाले। पार्टीका विचार सिद्धान्त निष्ठा सबै पोलेर खान थाले। यिनै हर्कतहरूले जनतामा लामो समयदेखि निराशा र आक्रोश व्याप्त थियो।

संविधान २०७२ ले व्यवस्था गरेको सामाजिक न्यायका लागि समानुपातिक समावेशी सहभागिताको आवश्यकता भएको उल्लेख गरिएको छ, त्यसमा पनि आफन्त श्रीमती, साली, भाइभतिजा, चन्दादाता मात्र मनोनीत भए। यो सबै परिदृश्यले यी राजनीतिक पार्टीहरूप्रति कार्यकर्ता र भोटदिनेहरूमा आक्रोश जाग्दै गएको थियो। देशका समाचारमा दिनहुँ भ्रष्टाचारका काण्डमात्र आउन थाले। यसर्थ, विद्रोह भयो। त्यसमा घुसपैठ पनि त्यत्तिकै भयो। समग्रमा देशलाई नै नोक्सान भयो। नेपालीलाई नै नोक्सान भयो। आफैं आफैं लडेर एक दलमा आबद्ध कार्यकर्ता अर्को दलको नेताका घर तोडफोड आगजनी र राष्ट्रको सम्पत्ति नष्ट पारे। यो परिवेशमा पुराना दलहरूले गल्तीको महसुस गरी समसामयिक सुधार गर्न अत्यावश्यक भएको छ।

त्यसमध्ये पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर र उनका वरिपरि अनवरत फाइदा लिएका नेताहरू विशेष महाधिवेशन गर्न पनि तयार भएनन्। आश्चर्य त नियमित महाधिवेशन त्यो पनि फागुन २१ के चुनावपछि मात्र गर्ने जिद्दी गर्दै निर्णयहरू गर्न थाले। शेरबहादुरको घरको पैसा जलेका दृश्यहरू मानिसका मनमा ताजा छन्। पार्टीमा परिवर्तन नगरी कसरी कुन मुखले चुनावमा भोट माग्न कार्यकर्ताहरू जाऊन् ? त्यो पैसा जलेको एआईले बनाएको भनेर हुन्छ ? बदनाम भएका पिटाइ खाएर बाँचेका देउवा दम्पती सिंगापुर उपचार गरी फर्किएका थिए। त्यसपछि अझ केपी ओलीसँग भेटेपछि उनी फेरि सक्रिय भए। कार्यवाहक पाएका पूर्णबहादुर खड्का नाम मात्रका भए।

युवा पुस्ता गगन थापा र विश्वप्रकाश शर्मालगायतले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन मागेपछि अघि बढे। तर संस्थापन पक्षकाहरू त्यस मागलाई टार्न हतोत्साहित गर्न मात्र लागे। यसरी त पार्टी फुट्छ भनी भन्न लागे। यता देशमा आजको पुस्ताले देशमा रोजगार, सुलभ शिक्षा, स्वास्थ र सुशासन चाहेको छ। नया“ सोच भएका युवाले देश हाँकून् भन्ने चाहन्छ। यसकारण गगन र विश्वलगायतले विशेष महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षर दर्ता गरे। तर संस्थापन पक्ष भने विशेष शेरबहादुर र उनका वरिपरिका नेतहरूको असहमति भयो। अनेक बखेडा झिकिरहे स्पष्ट भन्न पर्दा समानान्तर बैठक भेला गरेर भाँड्न नै कस्सिए। यति लामो समय महाधिवेशन कैले गर्ने भनेर बहस चलाएर समयको पनि बर्बाद गरे।

  • जनआक्रोश र विद्रोही पृष्ठभूमि :  ३५ वर्षसम्म सत्तााको केन्द्रमा रहेका पुराना दलहरूको नातावाद, कृपावाद र भ्रष्टाचारका कारण जनतामा चरम निराशा व्याप्त।
  • संस्थापनको जडता चिर्दै युवा नेतृत्वमा :  कांग्रेस पार्टीभित्रको प्रतिकूलताबीच गगन थापा र विश्वप्रकाश शर्माले जोखिम मोले र विशेष महाधिवेशन सफल पार्दैछन्।
  • वैचारिक पुनर्जागरणपछि भविष्यको बाटो :  ६२ प्रतिशत प्रतिनिधिको समर्थनले युवा पुस्तालाई पार्टी हाँक्ने र देशलाई नयाँ दिशा दिने वैधानिकता प्रदान गरेको छ।

तर यसका बाबजुद पनि विशेष महाधिवेशनको उद्घाटन बहुसंख्यक कार्यकर्ताका चाहना अनुरूप भव्य र सभ्य रूपमा गरे। आज परिमार्जित कांग्रेस निर्माण हुने अवस्थामा महामन्त्रीहरूले ल्याएर पार्टीको छवि माथि उचाले। आज आएर त ६२ प्रतिशतभन्दा वढी महाधिवेशन प्रतिनिधिहरूबाट नीति र नेतृत्व परिवर्तन गर्न सहमतिमा पुगे। ‘विनाशकाले विपरीत वुद्धि’ भएर अन्तिम समयसम्म बोलाउँदा पनि सभापति र कार्यवाहक सभापति उपस्थित भएनन्। अनि महामन्त्रीद्वयले उद्घाटन गरी महाधिवेशन सुरु गरे। यसबाट पनि देखिन्छ कि संस्थापन पक्ष पार्टीको रूपान्तरणको पक्षमा थिएनन्। तर महामन्त्रीहरूले जोखिम मोलेर व्यक्तिगत स्वार्थ नराखी मूल्य र मान्यताको संघर्ष भन्दै पार्टी हाँक्ने निर्णयमा अगाडि बढे। यो साहसिक कदम हो र पार्टीको भविष्य निर्माणमा लागे। यो विशेष महाधिवेशनले देशभरिका कांग्रेसजनको शिर ठाडो भएको छ। बहुमत युवातिर आएको छ। अब युवाले पार्टी हाँक्न सक्छन्।

महाधिवेशनमा पुराना पाका कांग्रेसहरूले पनि भाग लिएका छन्। उमेमात्र महŒवपूर्ण हुँदैन। तर तिनको हिजोको बलिदानी जेल नेल खाएर यो पार्टी बनाउनमा महŒवपूर्ण योगदान छ। सबै मिलेर जान सके सुनमा सुगन्ध हुन्छ नै। हाल भने संस्थापन पक्षका पाकाहरू अल्पमतमा परिसके र ती हिजोका मात्र बन्न पुगेका छन्। अझै मिलाउन वार्तालाप भइरहेको समाचार आएको छ। के हुन्छ थाहा छैन। हद हुन्छ– संस्थापन पक्षले घँुडा टेक्छ र सम्झौता गर्नेछ। विशेष महाधिवेशन बोलाउन पार्टी विधानमा धारा १७(२) राखेकै हो। गुट, उपगुटमा विभाजित कांग्रेस बुद्धिजीवी भनिनेहरू अझै अपव्याख्या गरिरहेको पनि सुनिएको छ। महामन्त्रीहरूलाई बारबाही हुन सक्छ आदि आदि भनेर। तर त्यो सिमाना उनीहरूले पार गरिसके 
र बहुमतले साथ दिइसकेको छ।

विचार पुर्‍याउनु पर्ने कुरा के छ भने आउँदा दिनहरूमा २०७४ सालको आम निर्वाचनमा जस्तो गठबन्धनका नाममा राजनीतिक दर्शनका आधारमा भन्दा चुनावतन्त्र हावी थियो, जुन गर्न हुँदैन। कसले कसलाई भोट मागे, थाहा पाउन पनि कठिन भयो। प्रचण्डकी छोरी रेनु दाहाललाई भरतपुरको मेयरमा जिताउन शेरबहादुर भरतपुर गए। यो क्रम दोस्रो स्थानीय निकायको चुनाव २०७९ सम्म देखियो। सर्वसाधारण र कार्यकर्ताहरूले संघीय शासन पद्धतिमा यस्तै यस्तै काम अनि धेरै सांसद र मन्त्रीहरू हुने देखे। जसले जस्तो गठबन्धन गरे पनि हुने जस्तो देखेर वाक्क भएका थिए। ठूलो दल कांग्रेस जहिले पनि कम्युनिस्टहरूको पछिपछि लागेर हिँड्न थाले। पार्टी कार्यकर्ताको स्थिति दासको जस्तो भयो, केही बोल्न नसक्ने। यिनै गल्तीहरूले कांग्रेसको कार्यकर्ताहरूको साख गिरेको थियो। र त कार्यकर्ताहरू हेरेको हेरै भएका थिए।

अब यस्तो गर्न हुँदैन भनेर नै महाधिवेशन प्रतिनिधिहरूमा जागरण आएको हो। हस्तक्षर गरी विशेष महाधिवेशनका पक्षमा उभिएका हुन्। अब यस्तो गल्ती हुने छैन भनेर विशेष महाधिवेशनमा भनिएको छ। जुन कार्यान्वयन हुनुपर्दछ। यो जेन—जी विद्रोह र अनि २४ गतेको अराजकतापछि यसरी अब चल्दैन भनी कांग्रेसमा पनि परिवर्तनका आवाज आए। जसलाई महामन्त्रीहरूले अघि बढाए। जुन समसामयिक भयो। अब यो पाएको विश्वास, साथ र सहयोगले रूपान्तरण गरी सुशासनको बारेमा नीतिगत छलफल आवश्यक छ। शिक्षा, स्वास्थ सुशासन र आर्थिक उन्नतिका लागि ठोस कार्ययोजना बनाउन पर्दछ। नेपाली राजनीतिमा विचार सिद्धान्त र इमान्दारिताको उदाहरण राख्न युवा पुस्तालाई सफलता प्राप्त होस्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.